Wednesday, June 29, 2016

पचास प्रतिशत रोपाइँ


भक्तपुर, १५ असार । जिल्लामा ५० प्रतिशत रोपाइँ सकिएको छ । 

समयमा मनसुन सुरु भई वर्षा हुनु र किसानले खेत नजिकका खोलानाला, खोल्सा र पोखरीको पानी पम्पसेटमार्फत सिँचाइ गरेकाले ५० प्रतिशत रोपाइँ सकिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख पूर्ण ढुङ्गानाले जानकारी दिनुभयो । 


जिल्लाको दुई मुख्य खोला मनोहरा र हनुमन्तेका साथै खस्याङ खुसुङखोला किनारको फाँटमा सिचाइँको सहज सुविधा भए तापनि सिरुटार, दधिकोट, गुण्डु, सिपाडोल, ताथली, सुडाल, नखेललगायत गाउँमा आकासे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता छ । 

यस वर्ष प्रि मनसुनदेखि लगातार परेको वर्षाका कारण असारको दोस्रो हप्तामा नै आकासे पानीमा निर्भर रहेका खेतमा समेत रोपाइँ सकिएको किसानहरु बताउँछन् । जेठको अन्तिम साता र असारको पहिलो साता रोपिएका धान गोड्नसमेत सुरु गरेको भक्तपुर नगरपालिका–१४ का ७२ वर्षीय नारायण ग्वाछा बताउनुहुन्छ । 

जिल्लाकोे ११ हजार १०६ हेक्टर खेतीयोग्य जमिनमध्ये चार हजार ३४८ हेक्टरमा धानखेती गरिन्छ । यहाँ प्रतिहेक्टर छ दशमलव दुई टनका दरले वार्षिक २७ हजार मेट्रिक टन धान उत्पादन हुन्छ । रासस 

0 comments:

Post a Comment