Thursday, June 30, 2016

तीन दिनदेखि यातायात अवरुद्ध


कावासोती, १६ असार । वर्षाका कारण नवलपरासीको दलदले–बुलिङ्टार सडकखण्डअन्तर्गत अर्खलाको ढुङ्ग्रेमा पहिरो गएपछि तीन दिनदेखि यातायात अवरुद्ध भएको छ । यातायात अवरुद्ध हुँदा खाद्यान्न र दैनिक उपभोग्य वस्तुको ढुवानीमा समस्या परेको छ । 

बर्सेनि सडक निर्माणको रकम पुग्ने गरे पनि निर्माण कम्पनीको लापर्बाहीका कारण समयमा सडक बन्न नसक्दा पहाडी भेगका बासिन्दाले वर्षायाममा दुःख पाउने गरेका छन् । 

दलदलेबाट अर्खलासम्म सवारी साधन सञ्चालन भएको छ । त्यहाँबाट मान्छेलाई सामान बोकेर बुलिङ लैजाँदा प्रतिकेजी रु सातसम्म खाद्यान्नमा महँगो हुने गरेको व्यापारीले बताएका छन् । बाटो दुःख छ तर पनि अर्खलासम्म राहत दिएका छौँ लेकबेँसी यातायात व्यवसायी समितिका अध्यक्ष युवराज बस्यालले भन्नुभयो–“एक दिन हिँड्नुपर्नेमा हामीले आधा घटाउने काम गरेका छौँ ।” 

पन्ध्र वर्षदेखि बुलिङ्टारका बासिन्दाले यही समस्या भोग्नुपरेको छ । वर्षामा बिरामी हुँदा अस्पताल पुग्न पनि गाह्रो भएको स्थानीयवासीले बताएका छन् । रासस 

0 comments:

Post a Comment