Friday, June 24, 2016

सुन एकैदिन ३ हजार महँगियो


काठमाडौं- नेपाली बजारमा इतिहास रच्दै सुनको भाउ तोलामा एकैदिन ३ हजार रुपैयाँ बढेको छ। बेलायत युरोपेली युनियन (इयु) बाट अलग्गिने पक्कापक्की भएसँगै सुनको भाउ एक्कासि अकासिएको हो।

छापावाला सुन बिहीबार प्रतितोला ५६ हजार रुपैयाँका दरले कारोबार भएकोमा शुक्रबार तोलामै ३ हजार बढेर ५९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार २ सय ६३ बाट बढेर १ हजार ३ सय ३६ डलर पुगेपछि त्यसको प्रत्यक्ष असर यहाँ परेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए। 'एकैदिन प्रति औंस ७३ डलर बढेपछि नेपालमा पनि तोलामा ३ हजार रूपैयाँ बढ्यो,' शाक्यले भने, 'युरोपियन बजारमा सेयर मार्केटमा गिरावट आएपछि सबैको आकर्षण सुनमा बढेको देखिन्छ।'

पाउन्डको मूल्य कमजोर भएपछि लगानीकर्ताको आकर्षण सुनमा बढेको हो। सुनमा लगानीकर्ता बढेपछि मूल्य एक्कासि उकालो लागिरहेको छ। चाँदीको भाउ पनि बढेको छ। चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ बढेर ८ सय २० रुपैयाँ तोला पुगेको छ। शुक्रबार चाँदी तोलाको ७ सय ९० मा कारोबार भएको थियो।

बेलायती मुद्रा पाउन्ड ३१ वर्षयताकै निकै कमजोर भएको छ। पाउन्ड कमजोर हुँदा डलरको भाउ बढेको छ। एकैदिन सुनको भाउमा ठूलो अन्तरले बढेको पहिलोपटक भएको महासंघले जनाएको छ। सुन विगतमा एकैदिन यति धेरै वृद्धि भएको थिएन।

बेलायतको राजनीतिक घटनाक्रमले सुनको भाउमा विश्वभर तरंग फैलाएको छ। सुरक्षित लगानीको रूपमा सुन धेरैले किनेपछि भाउ बढेको हो। सुनको भाउ निकै अस्थिर भएकाले एक/दुई दिन सुन किनबेच उपयुक्त नभएको पूर्वअध्यक्ष शाक्यले बताए। 'बजारमा उतारचढाब आएको अस्थिर अवस्थामा किनबेच नगर्न हाम्रो सुझाव छ,' उनले भने, 'सुन बजार कता जान्छ भन्ने निश्चित नै छैन।' अमेरिकी बजारले सुनको मूल्य निर्धारण गर्ने उनले बताए। 'शुक्रबार दिनभर सुनको भाउ तलमाथि भएको छ,' उनले भने, 'अमेरिकी बजार खुलेपछि कता जान्छ भन्ने थाहा हुन्छ।'

भाउ बढेपछि नेपाली बजारमा सुन बेच्ने बढे पनि किन्नेको संख्या नगन्य रहेको उनले बताए। 'बजारमा बेच्ने बढेको देखिन्छ,' उनले भने, 'तर किन्नेको सख्या अत्यन्तै कम छ।'

यता विदेशबाट व्यक्तिगत प्रयोजनका लागि भन्सार नतिरी काँचो सुन ल्याउन सरकारले रोक लगाएको छ। अब नेपालीले विदेशबाट आउँदा तयारी सुन र चाँदीका गहनाबाहेक काँचो सुन ल्याउन पाउने छैनन्। आगामी साउन १ गतेबाट ५० ग्रामका सुनका गहना मात्र ल्याउन पाउने भन्सार विभागले जनाएको छ। उक्त परिमाणभन्दा धेरै गहना ल्याए भन्सार शुल्क तिर्नुपर्नेछ। सरकारले झिटीगुन्टा आदेश संशोधन गर्दै काँचो सुन ल्याउन रोक लगाउने निर्णय गरेको हो। रोजगारका लागि विदेश गएर फर्किनेले सुन ल्याएर कारोबार गर्न थालेपछि सरकारले गहना मात्र ल्याउनसक्ने व्यवस्था गरेको छ।

यसअघि विदेशबाट फर्किनेले ४ सय ५० ग्रामसम्म काँचो सुन भन्सार तिरेर ल्याउन सक्थे। गैरकानुनी बाटोबाट ल्याउन रोकेपछि बैंकहरूले मात्रै सुन ल्याउन पाउने छन्।

0 comments:

Post a Comment