Wednesday, June 29, 2016

संसद बैठक बस्दै, बजेट पारितको कार्यतालिका दुई दिन सर्‍यो


१६ असार, काठमाडौं । व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । विहान ११ बजे बस्ने बैठकमा बजेटमाथि छलफल हुने कार्यसूची रहेको छ ।
मन्त्रालयगत छलफलमा शान्ति तथा पुनर्निर्माण, खानेपानी तथा सरसफाई, श्रम तथा रोजगार लगायत सातवटा मन्त्रालयको विनियोजित बजेटमाथि छलफल हुने कार्यतालिका रहेको छ । उक्त छलफलमा उठेका प्रश्नहरुको जवाफ सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले दिनेछन् ।  यसअघि बिभिन्न १५ वटा मन्त्रालयमाथि विनियोजित विधेयकबारेको छलफल सकिएको छ ।

यसैबीच, कांग्रेसको अवरोधका कारण विनियोजन विधेयकमाथिको छलफल प्रभावित भएपछि संसद सचिवालयले पूर्ण बजेट पारितको कार्यक्रम दुई दिन पछि सारेको छ । यसअघि १७ गते छलफल सक्ने, १९ देखि २२ गतेसम्म छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने र २२ गते पूर्ण बजेट पारित गर्ने कार्यतालिका थियो ।
प्रमुख प्रतिपक्षी दल नेपालीकांग्रेसले भूकम्पपीडितले एकमुष्ट रकम पाउनुपर्ने माग गर्दैै केहि दिनयता अवरुद्ध गर्दै आएको संसद सत्तारुढ तीन दलसँगको सहमतिपछि बुधबारबाट सुचारु भएको छ । भूकम्पपीडितलाई पहिलो किस्तामा १ लाख ५० हजार र दोस्रो किस्तामा ५० हजार रुपैयाँ दिने सहमति दलहरुबीच भएको थियो ।

0 comments:

Post a Comment