Thursday, June 30, 2016

बैतडीमा १७० जना एचआइभी सङ्क्रमित


बैतडी, १६ असार । बैतडीमा १७० जना एचआइभी सङ्क्रमित रहेको पाइएको छ । 

पछिल्लो सर्वेक्षणबाट जिल्लाभरिमा १७० जनामा एचआइभीको सङ्क्रमण पत्ता लागेको हो । यसमा ८४ पुरुष र ८६ जना महिला रहेका छन् । तीमध्ये १८ जना बालबालिका रहेका एचआइभीको क्षेत्रमा काम गर्दै आएको संस्था बहुउद्देश्यीय विकास समाज कार्यक्रमका संयोजक लोकेन्द्र पन्तले जानकारी दिनुभयो । 

“एचआइभी सङ्क्रमितमध्ये ११६ जनाले मात्र एआरटी औषधि लिइरहेका छन्,” उहाँले भन्नुभयो – “चवन्न जना नयाँ सङ्क्रमित पत्ता लागेका छन् ।” नयाँ पत्ता लागेकाले एआरटी औषधि सुरु नगरेको बताइएको छ । 


एआरटी औषधि ११६ मध्ये ८४ जनाले मात्रै नियमित रुपमा सेवन गरिरहेका छन् । 

औषधि सुरु गरेकामध्ये १७ जनाको मृत्यु भइसकेको र दुई जना हराइरहेका बहुउद्देश्यीय विकास समाजले जनाएको छ । 

यस्तै, नौ जनालाई बैतडीबाट अन्यत्र स्थानान्तरण गरिएको बताइएको छ । पाँच जना सङ्क्रमितलाई भने औषधि रोकिएको कार्यक्रम संयोजक पन्तले बताउनुभयो । उहाँले भन्नुभयो – “औषधिको असर देखा पर्न थालेपछि उनीहरुलाई औषधि रोकिएको हो ।” 

एचआइभी सङ्क्रमितमा अहिले विभिन्नखालका समस्या रहेका स्वयम् सङ्क्रमितहरुले बताएका छन् । 

एआरटी औषधिसँगै पोषिलो खानेकुराको आवश्यकता पर्ने भएको भए पनि सङ्क्रमितले पोषिलो खानेकुरा नपाएको बताएका छन् । सङ्क्रमितको आर्थिक अवस्था ज्यादै नाजुक भएकाले जीविकोपार्जन गर्न धौधौ भएको बैतडी प्लसका अध्यक्ष पद्मसिंह मौनीले बताउनुभयो । राज्यका निकायहरु मौन हुँदा आफूहरु समस्यामा परेको भन्दै उहाँले भन्नुभयो – “सङ्क्रमितमध्ये धेरैजसो महिला एकल भएकाले झन् समस्या रहेको छ ।” 

यस्तै सङ्क्रमित बालबालिकालाई पनि यस्तै समस्या रहेको छ । बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणमा सहयोग पु¥याउन एमपिडिएस र सेवक मित्र नामका गैरसरकारी संस्थाले सहयोग गरिरहेको भए पनि त्यो पर्याप्त भने हुन सकेको छैन । 

अठार निर्दोष बालबालिका पनि सङ्क्रमित 

बैतडीमा १८ जना निर्दोष बालबालिका एचआइभी सङ्क्रमित रहेका छन् । एचआइभी सङ्क्रमित आमाबुबाबाट जन्मेका ती बालबालिकाले अहिले निकै कष्ट झेलिरहनुपरेका छन् । 

सानै उमेरमा एआरटी औषधि सेवन गरेर बालबालिकाले आफ्नो ज्यान जोगाइरहेका छन् । एचआइभी सङ्क्रमित बालबालिकालाई बैतडीमा बहुउद्देश्यीय ग्रामीण विकास समाजले प्रतिमहिना रु एक हजारका दरले सामाजिक सुरक्षा अनुदान दिइरहेको छ । बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणमा सजिलो होस् भन्ने हेतुले सामाजिक सुरक्षा अनुदान दिइरहेको बहुउद्देश्यीय ग्रामीण विकास समाजका कार्यक्रम संयोजक पन्तले बताउनुभयोे । 

जिल्लामा १८ जना एचआइभी सङ्क्रमित बालबालिका रहेकामा १४ जनालाई सामाजिक सुरक्षा अनुदान उपलब्ध गराइएको छ । उहाँले भन्नुभयो – “दुई जनाको परिवारले अनुदान लिन मानेको छैन ।” 

एचआइभी सङ्क्रमित बालबालिकाको उपचारका लागि पनि संस्थाले सहयोग गरिरहेको समेत उहाँले बताउनुभयो । अहिले पनि एचआइभी सङ्क्रमित बालबालिकालाई समाजमा हेर्ने दृष्टिकोण फरक रहेकाले समस्या भएको छ । 

सङ्क्रमितमाथिको भेदभाव कायमै 

एचआइभी सङ्क्रमितलाई समाजमा अझै पनि भेदभावको दृष्टिकोणले हेर्ने गरिएको छ । 

एचआइभी सङ्क्रमितका समस्या र अपनाउन सकिने उपायका बारेमा राज्यका निकाय मौन बसेकाले भेदभाव कायमै रहेको बैतडी प्लसका अध्यक्ष मौनीले बताउनुभयो । 

“जिल्लाभरि रहेका सङ्क्रमितहरु विभिन्न समस्या खेपिरहेका छन्,” उहाँले भन्नुभयो – “सरकारका निकायहरुले एचआइभी सङ्क्रमितका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्दछ ।” 


कतिपय ठाउँमा अझै पनि एचआइभीका बारेमा आवश्यक ज्ञान नभएकाले सङ्क्रमितहरु खुलेर बाहिर आउन सकेका छैनन् । रासस 

0 comments:

Post a Comment