Wednesday, June 22, 2016

आलोचकहरुलाई करिश्माको जवाफः तपाईंहरुसँग डिग्री छ, मसँगै देशको फिक्री छ


८ असार, काठमाडौं । नयाँ शक्ति पार्टीको घोषणा सभामा आफ्नो उदघोषणमाथि गरिएका टिका-टिप्पणीहरुप्रति नायिका करिश्मा मानन्धरले भावुक जवाफ दिएकी छिन् । फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफूसँग पढाइको डिग्री नभए पनि देशको फिक्री भएको उल्लेख गरेकी छिन् ।
नयाँ शक्तिको समारोहमा आफूबाट केही गल्ती-कमजोरी भएको स्वीकारोक्ति उनको स्टाटसमा छ ।
‘न राजनीति मेरो पृष्ठभूमि हो, न राजनीति मेरो चासोको विषय रह्यो । न राजनीतिमा सक्रियरुपमा आवद्ध भएर अगाडि बढ्ने कुनै दिन कल्पना गरेकी थिएँ,’ करिश्मा लेख्छिन्, ‘आज पनि मेरो जीवन रहेसम्म एउटा कलाकारकै रुपमा सजिएर रेड कार्पेटमा टक टक टक टक हिड्न चाहन्थेँ होला र बिहानको चियाको चुस्कीसँगै अनलाइन र पत्रपत्रिकामा आफ्ना फोटोहरु हेर्न चाहन्थेँ होला । त्यही मैले जानेको र चाहेको चिज थियो ।’
करिश्मा सोध्छिन्, ‘मलाई कसले राजनीतिमा ल्यायो ? म किन राजनीतिमा आएँ ? ती मानिसहरु जसको जिम्मामा राजनीति थियो उनीहरुले के गरे ?’
त्यसपछि उनी ‘विद्वान’हरुमाथि खनिएकी छिन् । ‘विद्वानहरु लामो लामो लेख लेखेर आफ्नो विज्ञता दर्शाउँछन् र यहाँका हरेक क्षेत्रका कुना-कुनाका हिसाबकिताब राखेर बसेका छन् । उनीहरुलाई देश डुबेको भन्ने पनि थाहा छ र तर यसैगरी पत्रपत्रिकामा आफ्ना ज्ञानको भण्डार ओकल्छन् र फेसबुक-ट्वीटरमा पन्डित्याईं गर्छन् । अनि देश उस्ताको उस्तै ।’
‘तपाईंहरुजस्तो ज्ञान भएका विद्वानहरु राजनीतिमा आइदिनुभएको भए यो देश उहिल्यै बनिसक्थ्यो र करिश्मा मानन्धर जस्तो अल्पज्ञानीहरुले देश बनाउँछु भनेर अघि सर्नु पर्दैनथ्यो ।’
‘पर्खिरहनुस्, लामा लामा आर्टिकल लेख्दै गर्नु, गालिगलौजले सामाजिक सञ्जालको भित्ता रंग्याउँदै गर्नुस् । कुनै दिन जनताको मन र मत जितेर यो देशको विकासमा ठूलो योगदान दिने छु र त्यो दिन टाढा छैन । त्यो दिन के भनेर उडाउने भनेर आलोचना गर्न आजैबाट तयारी शुरु गर्नुहोला ।
आफ्नो जीवनमा धेरै डिग्री भएका मासिहरु भेटेको भन्दै उनले त्यसको फाइदा समाजले चाख्न भने नपाएको उल्लेख गरेकी छिन् । अन्तिममा उनी लेख्छिन्, ‘मसँग तपाईंहरुको जस्तो डिग्री त छैन होला तर तपाईंहरुसँग मसित भएजस्तो देशको फिक्री छैन ।’
हेर्नुस् करिश्माको फेसबुक स्टाटस

0 comments:

Post a Comment