Thursday, June 30, 2016

८८ हजार फलफूलका बिरुवा वितरण


फलेवास (पर्वत), १६ असार । यस वर्ष पर्वतमा फलफूलका ८८ हजार बिरुवा वितरण गरिएको छ । 

जिल्ला कृषि विकास कार्यालय पर्वतले विभिन्न किसिमका फलफूलका बिरुवा वितरण गरेको हो । 

कतिपय जातका फलफूलका बिरुवा निःशुल्क र कतिपय ढुवानी अनुदानमा वितरण गरिएको कार्यालयले जनाएको छ । सुन्तला जातका २६ हजार, आँप लिचीका दुई हजार र अलैँचीका ६० हजार बिरुवा वितरण गरिएको छ । 

व्यावसायिक रुपमा सुन्तलाखेती गर्न चाहने कृषकलाई प्रोत्साहन दिन बिरुवा वितरण गरिएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिउनुभयो । 


जिल्लामा अहिले झन्डै ६०० हेक्टर क्षेत्रफलमा सुन्तला जातको फलफूलको खेती हुँदै आएको छ । यस वर्ष थप २६ हजार बिरुवा रोपिएपछि झन्डै ५६ हेक्टर बढ्ने भएको छ । पर्वतमा गत आवमा पनि झन्डै रु १५ करोडका सुन्तला उत्पादन भएका थिए । जिल्लाको बाँसखर्क, देउपुर, शालिजा, कुर्घा, पाङराङ, बाच्छा, हुवास, त्रिवेणीलगायतका गाविसमा व्यावसायिक रुपमा सुन्तलाको खेती हुँदै आएको छ । पकेट क्षेत्रमा रुपमा मानिने ती गाविसका कृषकले धान, मकै, कोदो बाली लगाउन छाडेर सुन्तलाको खेती गर्दै आएका छन् । 

यस्तै आँप र लिचीका पनि दुई हजार बिरुवा वितरण गरिएको छ । जिल्लाका समथर भूभागमा र बढी गर्मी हुने ठाउँमा आँप र लिचीको उत्पादन राम्रो हुने भएकाले ती क्षेत्रलाई लक्ष्यित गरेर आँप र लिची वितरण गरिएको कार्यालयले जनाएको छ । जिल्लाको कुश्मा नगरपालिका, तिलाहार, फलेवास र दक्षिण पर्वतका हुवास, त्रिवेणी, बर्राचौर, रानीपानीलगायतका गाविसमा यी फलफूलको राम्रो उत्पादन हुँदै आएको छ । 

त्यसैगरी यस वर्ष अलैँचीका बिरुवा सबैभन्दा बढी वितरण गर्न लागिएको छ । ग्रामीण क्षेत्रमा धेरैजसो खेतबारी बाँझै हुन थालेपछि कृषकले अलैँचीका बिरुवाको बढी माग गरेका हुन् । 

अहिलेसम्म जिल्लाभरमा १० हेक्टर क्षेत्रफलमा मात्र अलैँचीको खेती हुँदै आएकामा यस वर्ष थप १० हेक्टर क्षेत्रफलमा विस्तार गरिने भएको छ । जिल्लाको कुश्मा नगरपालिकासहित कुर्घा, पाङराङ, थापाठाना, कार्कीनेटा, ठूलीपोखरी, खौला, हुवास, त्रिवेणी, होश्राङ्दी, भोक्सिङ, बाच्छालगायतका गाविसका कृषकले बिरुवा माग गरेका हुन् । 

अहिले वार्षिक चार मेट्रिक टन अलैँची उत्पादन हुँदै आएकामा यस वर्ष थप गरिएका बिरुवाले उत्पादन दिन थालेपछि दोब्बरले वृद्धि हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यी बिरुवाबाहेक, कफी, वडहर, किम्बुलगायतका फलफूलका बिरुवा पनि जिल्ला पशुसेवा कार्यालय र जिल्ला भूसंरक्षण कार्यालय पनि विभिन्न डालेघाँसका बिरुवा वितरण गरेको जनाएको छ । 

जिल्ला भू–संरक्षण कार्यालयले विभिन्न डालेघाँस र काठको प्रयोजनका लागि लगाइने बिरुवा झन्डै ५० हजार वितरण गरेको जानकारी दिएको छ । 

कृषकलाई सवा करोड अनुदान 

आव २०७२÷७३ मा पर्वतका कृषकलाई झन्डै रु सवा करोड रकम अनुदान वितरण गरिएको छ । 

युवापुस्ताको बढ्दो पलायनलाई कम गरी कृषिजन्य उत्पादनमा जिल्लालाई आत्मनिर्भर बनाउन चालु आवमा रु एक करोड १० लाख रकम अनुदानस्वरुप वितरण गरिएको हो । जिल्लाको एक नगरपालिका र ४७ गाविसमा व्यावसायिक रुपमा तरकारी, अन्न, फलफूल र माछापालन व्यवसायमा संलग्न कृषकलाई अनुदान वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ । 

चौहत्तर वटा साना सिँचाइ र सहकारी संस्थालाई ३६ लाख, चार वटा सहकारी संस्था लागि तीन लाख, दुई वटा सहकारी खेती फार्मलाई १२ लाख, ३४ वटा स्थानमा प्लास्टिक पोखरी निर्माणका लागि रु चार लाख ५० हजार वितरण गरिएको छ । 

त्यसैगरी युवा लक्ष्यित कार्यक्रमअन्तर्गत जिल्लाका ६० जना युवायुवतीलाई रु २४ लाख, आइडब्लुआरएमपी कार्यक्रमअन्तर्गत छ जनालाई रु दुई लाख ४० हजार वितरण गरिएको छ । त्यसैगरी जिल्लाका विभिन्न गाविसमा सञ्चालित भकारो सुधार कार्यक्रमअन्तर्गत ३०० जना कृषकलाई रु पाँच हजार २०० को दरले अनुदान वितरण गरिएको छ । 


त्यसैगरी यस वर्ष पाँच वटा सुन्तला उत्पादन समूहलाई बगैँचा सुदृढीकरणका लागि रु छ लाखका दरले रु ३० लाख वितरण गरिएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष परेको असिना पानीका कारण जिल्लाका विभिन्न क्षेत्रमा ठूलो मात्रामा मकैबाली नष्ट भएकाले उनीहरुलाई ७५ प्रतिशत अनुदानमा १८ टन मकैको बीउ पनि वितरण गरिएको छ । रासस 

0 comments:

Post a Comment