Wednesday, June 22, 2016

रक्षामन्त्री रावलको प्रश्नः मधेसी मोर्चाको सातबुँदे माग मान्ने भए वार्ता किन चाहियो ?’


८ असार, काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री भीम रावलले प्रमुख प्रतिपक्षी कांग्रेससहित असन्तुष्ट पक्षसँग सहमति कायम गरेरै स्थानीय, प्रादेशिक र संघीय निर्वाचन गर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा रावलले भने, ‘हामी सबै पक्षसँग वार्तामार्फत सहमति जुटाएर चुनाव गर्छौं । सरकारले घोषणा गरे अनुसारको निर्वाचन आर्थिक, प्राविधिक, सुरक्षा लगायतका सबै हिसावले सम्भव छ ।’
कांग्रेससँग मंसिरमा स्थानीय निकायको निर्वाचन गराउने विषयमा स्थानीय निकाय कि तहको गर्ने भन्नेमा मात्रै सहमति हुन नसकेको भन्दै उनले छिट्टै सहमति हुने विश्वास ब्यक्त गरे ।
उपप्रधानमन्त्री रावलले भने,’ संविधान अनुसार निर्वाचन गराउनु सरकारको कर्तब्य हो । संविधान जारी भएपछि संसारमा जहाँ पनि विवाद रहेको छ । यहाँ पनि छ । हाम्रो संसदमा राजतन्त्र, गणतन्त्र, संघीयता, एकात्मकता, हिन्दु धर्म र धर्मनिरपेक्ष सबै मान्ने मान्छे छन् । त्यसैले विमति कही न कहि रहिरहन्छ । त्यो कुरा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचनमार्फत टुङग्याउने हो ।’
गणतन्त्रको विपक्षमा रहेको राप्रपा नेपाल र संघीयताको विपक्षमा रहेको राष्ट्रिय जनमोर्चाले बाहिर आफ्नो सैद्धान्तिक कुरा उठाइरहेपनि संविधान कार्यान्वयनको विपक्षमा नरहेको उनले बताए ।
उपप्रधान तथा रक्षामन्त्री रावलले मधेसी मोर्चाको माग अनुसार आन्दोलनमा घाइते भएकाहरुको उपचारका लागि रकम निकासा गरिसकेको र अझै बाँकी रहेसरकारले उपचार गराउने बताए । गम्भिर अपराधमा संलग्न बाहेक आन्दोलनका क्रममा पक्राउ परेकाको सूची ल्याए त्यसमा समेत निर्णय गर्न तयार रहेको भन्दै उनले मृतकलाई शहीद घोषणा गर्ने विषय छलफल गरेर सहमति टुङग्याउन सकिने बताए ।
उपप्रधानमन्त्री रावलले भने,’कस्तालाई शहीद घोषणा गर्ने भन्ने कुरा छलफलबाट टुङग्याउन सकिन्छ । विगतमा कार्यदलले दिएको प्रतिवेदन पनि हामीसँग छ । त्यसमा हामी छलफल गर्न तयार छौं ।’
उनले मोर्चाले अघि सारेको सातबुँदे माग उनीहरुले जस्तो माने वार्ता किन चाहियो भनि प्रश्न गरे ।

0 comments:

Post a Comment