जेठ २६, काठमाडौं–सरकारले पनामा पेपर्स र स्विस बैंक प्रकरणमा मुछिएका नेपाली र तिनका कम्पनीमाथि अनुसन्धान तीब्र पारेको छ । अर्थ मन्त्रालयको राष्ट्रिय समन्वय समिति अन्तर्गत गठित अनुसन्धान समितिले सार्वजनिक २८ व्यक्ति र कम्पनीमाथि छानबिन थालेको हो ।
समितिले यस प्रकरणमा मुछिएका नाम तथा कम्पनीको अन्तर्राष्ट्रिय वित्तीय कारोबार तथा अपराधबारे दुई साता अघि इन्टरपोलसँग सूचना माग गरिसकेको छ ।
समिति सदस्य केन्द्रीय अनुसन्धान ब्युरोले इन्टरपोलको काठमाडौंस्थित संयन्त्र नेसनल सेन्ट्रल ब्युरो –एनसिबी)मार्फत मुछिएका नामबाहेक उनीहरुसँग जोडिएका परिवार र आफन्तको सूचनासमेत उपलब्ध गराउन आग्रह गरेको छ।
सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक किशोरजंग कार्कीले अनुसन्धान समितिले विविध पक्षका सूचना र प्रमाण संकलन गरिरहेको जानकारी दिए । उनका अनुसार समितिमा रहेका सरोकारवाला निकायले आफ्नो क्षेत्रसँग जोडिएका नाम र कम्पनीका विषयमा सूचना उपलब्ध गराएका छन् ।
‘आवश्यक सूचना संकलन र प्रमाणीकरण भइरहेको छ, सरोकारवाला निकायको सहयोगमा अनुसन्धान अघि बढेको छ,’ कार्कीले भने । अख्तियार दुरुपयोग अनुसन्धान आयोगतर्फबाट आयुक्त नवीनकुमार घिमिरेले सहयोग गरिरहेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।
0 comments:
Post a Comment