Friday, June 17, 2016

बुद्धिजिवीलाई ‘मुसा’ भन्दै ओलीले भने, ‘सातो गयो, अब बेहोस हुन्छन्’


काठमाडौं, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले विकासको कुरा सहरी बुद्धिजिवीहरुको सातो गएको बताएका छन् । पेशागत महासंघ नेपालको छैटौँ राष्ट्रिय महाधिवेशनको शुक्रबार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफ्ना योजनाहरु कार्यान्वयनमा जाँदा त उनीहरु बेहोस नै हुने दावी गरे ।
ओलीले आफूले विकासका कुरा गर्दा विरोध गर्ने सहरी बुद्धिजिवीहरुलाई कोट काट्ने मुसासँग तुलना समेत गरेका छन् । ‘मुसाले खानका लागि कोट काट्ने होइन, दाँत लामो भएपछि छोट्याउन काट्छ । थोत्रो लुगा काटे पनि हुन्थ्यो नि नयाँ नै चाहिने,’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा बुद्धिजिवीहरु पनि कोट काट्ने मुसाजस्तै हुन् । नराम्रो कामको आलोचना गरे हुन्थ्यो नि, विकासको कुरा गर्दा विरोध गर्छन् ।’
प्रधानमन्त्री ओलीले २०७४ सालभित्रै सङ्क्रमणकालको अन्त्य हुने दावी समेत गरेका छन् । त्यसपछि मुलुकलाई विकास निर्माणको दिशातर्फ डोहोर्‍याउने उनको जीकिर छ । ‘२०७५ देखि सरकार पूरै विकास निर्माणमा लाग्नेछ,’ प्रधानमन्त्री ओलीले भने ।
एक अर्को प्रसङ्गमा ओलीले अर्थशास्त्रीले समेत बजेटलाई बुझ्न नसकेको गुनासो गरे । ‘गाउँका जनताले बजेटबारे बुझे तर, अर्थशास्त्रीहरुले बुझेनन्,’ उनले भने, ‘बजेट ठूलो देखेका छन्, कार्यान्वयन गर्दै जाँदा सानो भएको महसुस हुनेछ ।’
वर्तमान सरकारको विचार, बाटो र गन्तव्य स्पष्ट रहेको उनको दावी छ । ‘यो सरकार १०४ वर्षे राणा शासन होइन, २४० वर्षे वंश परम्परामा आधारित राजतन्त्र जस्तो पनि होइन,’ उनले भने, ‘वर्तमान सरकार संसद्बाट बनेको हो । मन नपरे त्यहीँबाट फेरिन्छ ।’

0 comments:

Post a Comment