Thursday, June 9, 2016

सार्क मुख्यसचिवस्तरीय बैठक काठमाडौँमा सुरु


काठमाडौँ, २७ जेठ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का मुख्य सचिव (क्याबिनेट सेक्रेटरी) स्तरीय दुईदिने बैठक आज यहाँ सुरु भयो । 
प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको उद्घाटन गर्दै सार्क क्षेत्रमा आर्थिक समृद्धि ल्याउनका लागि सार्वजनिक सेवालाई चुस्त र प्रभावकारी बनाउनु आवश्यक रहेकामा जोड दिनुभयो । 

उहाँले यस क्षेत्रबाट गरिबी, अशिक्षा, भोकमरी, पछौटेपन अन्त्यका लागि सामूहिक प्रयासको खाँचो औँल्याउँदै यसका लागि आर्थिक समृद्धि र सुशासनमा ध्यान दिनुपर्छ भन्नुभयो । 

सार्क स्थापनाको तीन दशक पूरा हुँदा यसले यस क्षेत्रको जनअपेक्षालाई अझ प्रभावकारी रुपमा सम्बोधन गर्न आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो – “सार्कको क्षेत्रीय सहयोगलाई अझ बलियो बनाउँदैै यसको अभिवृद्धि गर्नु जरुरी छ ।” 

प्रधानमन्त्री ओलीले सार्क विकास कोषमार्फत यस क्षेत्रलाई पूर्वाधार विकासका लागि यातायात र सञ्चारमा थप अन्तरसम्बन्ध (कनेक्टिभिटी) गर्न, रोजगारीका अवसर सिर्जना गर्न जोड दिनुभयो । 

बैठकमा सार्कमा आबद्ध आठ देशका मुख्य सचिव तथा पर्यवेक्षक देशका उच्च अधिकृतको समेत सहभागिता रहेको छ । सार्कमा आबद्ध सदस्य देशका शासकीय अवस्था र अभ्यासका बारेमा मन्थन गर्दै यस क्षेत्रमा शासकीय सुधारमा भइरहेका प्रयास तथा साझा समस्या एवम् समाधानका विषयमा बैठकमा छलफल हुनेछ । 

गत वैशाखमा पोखरामा सम्पन्न सार्क मन्त्रीस्तरीय बैठकपछि यो बैठक काठमाडौँमा आयोजना भएको हो । पाकिस्तानमा आयोजना हुने सार्क सम्मेलनका लागि यी बैठकलाई महत्वपूर्ण रुपमा लिइएको छ । 

यस किसिमका बैठकमा सदस्य देशले शासकीय सुधारमा अपनाइरहेका विधि र प्रक्रियाका बारेमा छलफल गर्दै सार्कको वडापत्र र सिद्धान्तलाई पूरा गर्न साझा विषयहरु पहिचान गरी कार्यान्वयनमा ल्याउने छन् । 

नेपालको संविधान विश्वको उत्कृष्ट संविधान –प्रम ओली 

सार्वभौमसत्ता सम्पन्न, समावेशीताको उत्कृष्ट नमुना रहेको संविधानसभाले नेपाली जनताको चाहनामा नेपालको संविधान जारी रहेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले संविधानले गणतन्त्रलाई संस्थागत विकास त गरेकै छ, जनताको अधिकारलाई पनि सुनिश्चित गरेको बताउनुभयो । 
उहाँले नेपालको संविधान विश्वको उत्कृष्ट संविधान रहेको दाबी गर्दै संविधानसभाका ९२ प्रतिशत सभासद्ले यसमा सहमति जनाउनुभएको छ भन्नुभयो । उहाँले संविधानले सबै विभेदलाई अन्त्य गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो । 



सार्क महासचिव अर्जुनबहादुर थापाले सार्क स्थापनाको तीन दशकमा गरिबी निवारण, क्षेत्रीय विकास, शान्ति र समृद्धिमा उल्लेख्य प्रगति एवम् सफलता हासिल गर्दै गएको बताउनुभयो । उहाँले अगामी वर्ष पाकिस्तानमा आयोजना हुने सार्क सम्मेलनमा कृषि एवम् पूर्वाधार विकासका क्षेत्रमा छलफल हुने जानकारी दिनुभयो । 

मुख्य सचिव डा सोमलाल सुवेदीले सार्वजनिक सेवामा जनताको अपेक्षा बढ्दै गएको चर्चा गर्दै यस्ता सेवालाई छिटो, छरितो र चुस्त बनाउनुपर्छ भन्नुभयो । उहाँले भ्रष्टाचार नियन्त्रण गर्दै समावेशी विकास र आर्थिक समृद्धिबाट सुशासन ल्याउन सकिने विचार व्यक्त गर्नुभयो । रासस 

0 comments:

Post a Comment