Showing posts with label poltics. Show all posts
Showing posts with label poltics. Show all posts

Monday, July 4, 2016

मोर्चाको गतिविधि आज पनि उस्तै

काठमाडौँ, २० असार । नेपालको संविधानप्रति फरक धारणा राखेर आन्दोलन गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका–संसद्को आजको बैठक पनि बहिष्कार गरेको छ ।

सभामुख ओनसरी घर्तीले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ मोर्चासँग आबद्ध राजनीतिक दलका सांसदहरु आ–आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए ।


त्यसको लगत्तै सभामुख घर्तीले मोर्चा सांसद बृजेशकुमार गुप्ताले संविधानका अन्तर्वस्तुका विषयलाई लिएर मोर्चाले नौ महिनादेखि सडक आन्दोलन र अनसनमा रहँदा प्रमुख राजनीतिक दल र सरकारले बेवास्ता गरेको आरोप लगाउनुभयो ।

आन्दोलनकारीका मागलाई सम्बोधन नगर्ने हो भने देश दुर्घटनामा जान सक्ने पक्षलाई हेक्का राख्न चेतावनी दिँदै उहाँले आन्दोलनकारी दलका कार्यकर्तालाई भड्काउने खेलमा सरकार उद्यत भएको भनी आलोचना गर्नुभयो ।

मोर्चाले उठाएका माग पूरा नभएसम्म सदनको बैठक बहिष्कार गर्ने कार्य जारी रहने जानकारी दिँदै बैठकबाट उहाँलगायत मोर्चासँग आबद्ध सांसदहरु बाहिरिनुभएको थियो । रासस

Sunday, July 3, 2016

दलहरू एक ठाउँमा आउनु अपरिहार्य– नेता सिटौला

पोखरा, १९ असार । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय राजनीतिमा सहमतिका लागि दलहरू एक ठाउँमा आउनु अपरिहार्य भएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान जारीसँगै संविधानले निर्दिष्ट गरेका स्थानीय, प्रदेश र केन्द्रीय तहका निर्वाचन सम्पन्न गर्न, भूकम्पपछिको पुनःनिर्माण र देशको आर्थिक समृद्धिका लागि राष्ट्रिय राजनीतिमा सहमतिको विकल्प नभएको बताउनुभयो ।


“निर्वाचनका लागि सर्वप्रथम कानुन आवश्यक हुन्छ, उक्त कानुन दलहरूको सहमतिबिना बन्न सक्दैन,” उहाँले भन्नुभयो, “वर्तमानमा राष्ट्रिय राजनीतिमा विश्वासको वातावरण बन्न सकेको छैन, विश्वास कायम गराउँदै राष्ट्रिय सहमतिका आधारमा अघि बढ्नुपर्छ ।”

भूकम्पपछिको पुनःनिर्माण भूकम्प गएको १५ महिनासम्म पनि अघि बढ्न नसक्नु दुःखद् कुरा भएको बताउँदै उहाँले भन्नुभयो, “सही लगतको आधारमा पीडितलाई सरकारले तत्काल सहयोग रकम उपलब्ध गराउनुपर्छ, भूकम्पपछिको पुनःनिर्माण राजनीतिक मुद्दा बनाइनु हुँदैन, त्यसमा काँग्रेसका तर्फबाट हामी सहयोग गर्न तयार छौं ।”

वर्तमानमा सत्ता प्राथमिकताको विषय नभै राष्ट्रिय राजनीतिमा सहमतिका आधारमा संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण राष्ट्रको प्राथमिकता बन्नुपर्नेमा उहाँको जोड थियो ।

निर्वाचन सम्बन्धी कानुन बनिनसकेको अवस्थामा सरकारले भने झैँ मङ्सिरमा निर्वाचन हुन असम्भव रहेको बताउँदै नेता सिटौलाले निर्वाचनका लागि दलहरू एक ठाउँमा आएर त्यस सम्बन्धी कानुन निर्माण गरी अघि बढ्नुपर्ने बताउनुभयो ।

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बरालको अध्यक्षतामा उक्त पत्रकार सम्मेलन सम्पन्न भएको थियो । रासस

Saturday, July 2, 2016

सरकार परिवर्तन गर्न देउवालाई पार्टीभित्रै अप्ठ्यारो

१९ असार, काठमाडौं ।  सभापति शेरबहादुर देउवाले सरकार परिवर्तनका विषयमा छलफल गर्न नेताद्वय कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिलाई खटाएका छन् । तर, सत्तारुढ एमाले र माओवादी केन्द्रबीच थप दूरी बढाउने रणनीतिमा कांग्रेस छ ।

त्यसो हुँदा नयाा सरकार गठनका लागि सहज वातावरण बन्दै जाने उसको बुझाइ छ । ‘अघिल्लोपटकजस्तो नयाँ सरकार गठनको पहल हचुवा नबनोस् भन्नेमा नेतृत्व सजग छ,’ एक नेताले भने, ‘त्यसका लागि एमाले–माओवादीको दूरी अझै बढ्न जरुरी छ ।’
तर, कांग्रेसमा नेता रामचन्द्र पौडेल पक्षका नेताहरू सरकार फेरिहाल्ने मनस्थितिमा छैनन् ।
शनिबार विराटनगरमा नेता पौडेलले संविधान कार्यान्वयनमा केन्द्रित हुन सरकार परिवर्तनभन्दा मधेस केन्द्रित दलसँग वार्ता गरेर जानुपर्ने बताएका छन् । ‘सरकार हामीले मात्र चाहेर परिवर्तन हुने विषय होइन । यसबारे पार्टीमा पनि छलफल भएको छैन,’ पौडेलले भने, ‘अहिले सत्ताभन्दा व्यवस्था मिलाउन लागौँ ।’
 तर, नेता प्रकाशशरण महतले सरकार फेरिने अवस्थामा पार्टीमा सहमति बन्ने दाबी गरे । ‘सभापति सबैलाई मिलाएर हिाड्न खोज्नुभएको छ,’ उनले भने, ‘नयाँ सरकार बन्ने अवस्था आउँदा पार्टीमा समर्थन जुट्दैन भन्ने होइन ।’ यसअघि सभापति शेरबहादुर देउवाले सरकार फेर्ने प्रयास थाल्दा पौडेल र महामन्त्री डा. शशांक कोइराला अमेरिका थिए ।

माओवादीको ठोस प्रस्तावको पर्खाइमा कांग्रेस

१९ असार, काठमाडौं ।  सरकार परिवर्तनका लागि माओवादी केन्द्रबाट ठोस प्रस्ताव आउनुपर्ने पक्षमा कांग्रेस छ ।
यसअघि २३ वैशाखमा कांग्रेस र माओवादीबीच सहमतिसहित सरकार फेर्ने प्रयास भए पनि माओवादी र एमालेबीच नौबुँदे सहमतिपछि असफल भएको थियो ।
‘राष्ट्रिय सरकारको बहस नयाँ होइन, राष्ट्रिय सरकार मात्र भनेर हुँदैन । कस्तो स्वरूपमा जाने भन्ने प्रस्ट रोडम्याप आउनुपर्छ । ठोस स्वरूप नल्याउने अनि ‘मोही माग्ने ढुंग्रो लुकाउने’ शैली ठीक छैन,’ कांग्रेस नेता डा.प्रकाशशरण महतले भने ।
माओवादी केन्द्रले आफ्नै नेतृत्वमा वा कांग्रेस नेतृत्वमा सरकार बनाउने भन्नेबारे स्पष्ट प्रस्ताव ल्याएपछि मात्र यस विषयले गति लिने उनको भनाइ छ ।
‘कि ओलीजीले राष्ट्रिय सहमतिका लागि सरकार छाड्ने भनेर छलफल चलाउनुपर्‍यो कि प्रचण्डले सरकार छाडेर आउनुपर्‍यो । तब मात्र नयाँ सरकारबारे छलफल अघि बढ्छ,’ महतले भने, ‘आ–आफूलाई केन्द्रमा राखेर सरकारको विषय अघि बढ्दैन ।
प्रस्ट रोडम्यापविना हचुवामा हामी फेरि धोका खान चाहदैनौँ ।’हस्ताक्षर गर्न तयार भएको माओवादीबाट धोका पाएकाले यसपटक कमजोर प्रयास नगर्ने कांग्रेस नेताहरू बताउँछन् । बहुमतीय भए पनि नयाँ सरकार कांग्रेस नेतृत्वलाई निर्वाचनअघि नै सरकार परिवर्तन गर्नुपर्ने दबाब छ ।
‘एमाले प्रमुख प्रतिस्पर्धी पार्टी हो । एमाले निरन्तर सरकारमा भइरहँदा कांग्रेस झन् कमजोर हुन्छ भन्ने बुझाइ नेताहरूमा छ ।’ काग्रेस स्रोत भन्छ, ‘यो सरकार नटुट्दासम्म कांग्रेस सरकारमा जानै सक्दैन । त्यसैले सहमतीय सरकार बन्ने अवस्था नआए बहुमतीय सरकारमै भए पनि कांग्रेस–माओवादी केन्द्र गठबन्धनको सरकार बनाउनुपर्ने दबाब पार्टीभित्र छ ।’ यसका लागि माओवादी र मधेस केन्द्रित दललाई मनाउने तयारी पनि कांग्रेसको छ ।

सरकार सम्बन्धी निर्णय प्रचण्डको हातमा, माओवादीको केन्द्रीय समिति १ सय ९९ बनाउन प्रस्ताव

असार १८, काठमाडौं–नेकपा (माओवादी केन्द्र) का प्रमुख नेताहरुले आफ्नो पार्टीको एजेन्डा सरकारमार्फत लागु गर्न नसकिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । शनिवार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको कार्यालय टिमको बैठकले शान्ति प्रक्रिया, संविधान कार्यान्वयन तथा द्वन्द्वकालिन मुद्दाहरु हल गर्ने सवालमा आफ्नो एजेन्डा लागु गर्न नसकिएको निश्कर्ष निकाल्दै एमालेसँगको नौबुँदे सहमती कार्यान्वयन नभएकोमा असन्तुष्टि व्यक्त गरेको हो । बैठकले आफ्ना एजेन्डामा टेकेर अगाडी बढ्ने सरकार निर्माण गर्नुपर्ने निश्कर्ष निकाल्दै यसबारे संवाद अगाडी बढाउन अध्यक्ष प्रचण्डलाई जिम्मा दिएको छ ।

 ‘सरकारबारे ठोस छलफल गरेर अगाडी बढ्ने जिम्मा अध्यक्षलाई दिएका छौं’ बैठकपछि रातोपाटीसँग कुरा गर्दै प्रवक्ता पम्फा भुसालले भनिन्, ‘अगामी २१ गते पार्टीको पोलिटब्यूरो बैठक बोलाउने निर्णय गरेका छौं ।’ सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले आफूहरुसँग गरेको सहमती कार्यान्वयनमा तदारुकता नदेखाएको भन्दै बैठकमा सहभागी एक नेताले भने, ‘सहमती कार्यान्वयनमा इच्छा नदेखाएपछि अब किन उसको पुच्छर बनिरहने ?’ उनका अनुसार एमाले छाडेर कुन पार्टीसँग मिलेर नयाँ सरकार बनाउने भन्नेबारे छलफल नभएपनि कांग्रेससँग सहकार्य गर्नेतिर परिस्थिति केन्द्रित भएको छ । ‘कुन पार्टीसँग सहकार्य गर्ने भन्ने कुरा भएन’ बैठकमा सहभागी एक नेताले भने, ‘तर हाम्रो एजेन्डामा टेकेर अगाडी बढ्ने दलसँग सहकार्य हुने कुरा राजनीतिको सामान्य सिद्धान्त हो ।’ त्यस्तै बैठकले केही समयअघि बनेको वर्षमान पुन नेतृत्वको कार्यदलले पेश गरेको संगठनात्मक कार्यविधी छलफलसहित पारित गरेको छ । ‘कार्यदलले पेश गरेको संगठनात्मक कार्यविधी सामान्य छलफल गरेका छौं’ प्रवक्ता भुसालले भनिन्, ‘यसबारे पोलिटब्यूरो बैठकमा फेरी छलफल भएपछि मात्र अनुमोदन हुन्छ ।’ बैठक स्रोतका अनुसार अन्ततः कार्यदलले हालको जम्बो केन्द्रिय समिति १९९ सदस्यीय बनाउन प्रस्ताव गरेको छ । 

कार्यदलले पेश गरेको पार्टीको महाधिवेशन, सम्मेलन कसरी गर्ने भन्नेबारेको कार्यविधी लगभग पारित भएको बताइएको छ । बैठकमा सहभागी एक नेताले भने, ‘अन्ततः कार्यदलले पेश गरेको संगठनात्मक कार्यविधी पारित भएको छ, अबको पोलिटब्युरो बैठकबाट त्यसलाई अनुमोदन गर्छौं ।’ उनका अनुसार अहिलेको जम्बो केन्द्रिय समितिलाई १९९ सदस्यमा सिमित बनाउन कार्यालय टिममा रहेका नेताहरु सहमत भएका छन् ।

Friday, July 1, 2016

फेरि शुरु भयो सरकार फेर्ने कसरत ! देउवाले खुवाए ‘डिनर’

१७ असार, काठमाडौं । व्यवस्थापिका संसदको अवरोध हटेपछि अब फेरि नयाँ सरकार गठनको चलखेल सुरु भएको छ । सरकार गठनबारे कांग्रेस र माओवादी केन्द्रका नेतावीच आपसी सम्वादको थालनी भएको छ । बजेटपछि ओली सरकारको आगामी यात्रा अक्करमा पर्न थालेको छ ।

देउवाको ‘डिनर’ निम्तो
केही दिनअघि कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका एक नेतालाई डिनर सहितको छलफलमा बोलाए । उक्त बैठकमा देउवा आफैंले सरकार फेर्नेबारे कुरो निकाले । देउवाको प्रस्ताव थियो, माओवादीले उनैलाई नयाँ प्रधानमन्त्रीका लागि समर्थन जनाओस् ।
तर, माओवादी नेताले देउवालाई समर्थन नगर्ने भन्दै प्रचण्डको नेतृत्वमा राष्ट्रिय सरकार गठन हुनुपर्ने अडान राखे । प्रचण्डको नेतृत्वमा बन्ने सरकारमा कांग्रेस आएको अवस्थामा एमालेलाई पनि ल्याउन सकिने माओवादी नेताले देउवालाई बताए ।
दुबै नेताको डिनर बैठक ठोस निश्कर्षमा त पुगेन, तर बैसाख अन्तिम साता सुरु भएको सरकार फेर्ने कसरतले फेरि निरन्तरता पाउने यो भेटले संकेत दिएको छ ।
पछिल्लो समय माओवादी र कांग्रेसका नेताहरु निरन्तर सम्वाद र छलफलमा छन्, डिनर मिटिङ त्यसकै श्रृखला थियो । तर, दुई दलका नेताबीच कुनै सहमति भइसकेको छैन ।
अघिल्लोपटक प्रचण्ड आफ्नै कारण सरकार फर्ने प्रयास असफल भएको र कांग्रेसलाई बदनाम गर्ने काम मात्र भएको भन्दै विपक्षी दलका नेता शेरबहादुर देउवा र उनको टिमले प्रचण्डलाई विश्वास गर्न सकेको छैन ।
अहिले माओवादी र कांग्रेसका नेताहरुबीच भइरहेका वार्तालाई दुई दलबीच देखिएको अविश्वासको वातावरण हटाउने प्रयासका रुपमा हेरिएको छ ।
यसकारण संकटमा पर्दैछ ओली सरकार
प्रधानमन्त्री केपी शर्मा ओली बजेट घोषणा गर्न सफल भइसकेका छन् । कांग्रेससँग मिल्नै लागेको माओवादीलाई ९ बुँदे सहमतिमार्फत आफूतिर फर्काउन र ढल्नै लागेको सरकार जोगाउन पनि ओली सफल भएकै हुन् ।
त्यसैगरी मधेस आन्दोलन खुल्लामञ्चमा पुगेर खुम्चिएका कारण ओलीमाथि अहिले सडक आन्दोलनको दबाव पनि खासै छैन । तैपनि प्रधानमन्त्री ओली अझै अप्ठ्यारोमै छन् । सरकारमाथिको संकट अझै टरेको छैन, झन चुलिन थालेको छ ।
ओलीले नेतृत्व गरेको सरकारमा माओवादी निणर्ायक मानिन्छ । माओवादीको साथ रहँदासम्म कांग्रेसले जतिसुकै प्रयास गरे पनि यो सरकार ढल्दैन । यही भएर कांग्रेसले नीति तथा कार्यक्रम आउनुअघि नै सरकार परिर्वतनको प्रयास गर्दा माओवादी अध्यक्ष प्रचण्डलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको थियो । तर, नारायणकाजी श्रेष्ठ प्रकाश लगायतले साथ नदिएपछि प्रचण्ड पछि हटेका थिए ।
सरकार फेर्ने कांग्रेसको कसरतसँगै सतहमा आएको संकट अल्पकालीनरुपमा टरे पनि त्यसक्रममा माओवादीसँग गरिएको ‘भद्र सहमति’ अब ओली सरकारको शीरमा झुण्डिएको जाँतोजस्तै बन्न पुगेको छ ।
एमाले र माओवादीबीच बजेट पास भएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने भद्र सहमति भएको थियो, जुन माओवादी र एमालेका नेताहरुले अनौपचारिक सम्वादमा स्वीकार गर्दै आएका छन् । यद्यपि प्रधानमन्त्री ओलीले सार्वजनिक मञ्चहरुमा भने ‘भद्र सहमति’लाई ठाडै अस्वीकार गर्ने गरेका छन् ।
तर, बजेट पास भइसकेको अवस्थामा माओवादीले ‘भद्र सहमति’को कुरो उठाउने र सरकारको विकल्प खोज्ने संकेत देखिन थालिसकेको छ । अब २४ गतेभित्रै बजेट पास गर्ने सरकारको तयारी छ । अब बजेट पारित हुने क्रमसँगै एमालेमाथि सत्ता हस्तान्तरणका लागि दबाव बढ्ने संकेत देखिएको छ । एमालेले ‘भद्र सहमति’ तोड्न खोजेको अवस्थामा माओवादीले उसको साथ छोड्यो भने यो सरकारको दिनगन्ती त्यहीँबाट प्रारम्भ हुनेछ ।
केपी ओली नेतृत्वको सरकारलाई परेको अर्को अप्ठ्यारो हो, संविधान कार्यान्वयन र मधेस आन्दोलनको समन । संविधान कार्यान्वयनका लागि आगामी माघभित्र ३ वटा चुनाव गरिसक्नुपर्नेछ भने १२५ भन्दा बढी कानुन पनि बनाउनुछ ।
ओली सरकार रहिरहेको अवस्थामा न त मधेस आन्दोलनकारीसँग कुनै सहमति र समझदारी हुने देखिएको छ, न त संविधान कार्यान्वयनको काम नै अपेक्षाकृत रुपमा अघि बढेको छ । त्यसैले बजेट पास भएपछि अब राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल हुने सम्भावना बढेको छ, जसले केपी ओलीको कुर्सीलाई चुनौती दिने छ ।
सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्रबीच भएको भद्र सहमति र सरकार परिर्वतन गर्ने प्रमुख विपक्षी दल नेपाली कांग्रेसको लगातारको प्रयास अब केपी ओलीका लागि निकै जटिल चुनौती हो ।
गत वैशाख २२ देखि २४ सम्म ७२ घन्टामा सरकार परिर्वतनको ठूलै प्रयास भएको थियो । एमाओवादी अध्यक्ष प्रचण्ड कांग्रेसको समर्थनमा सरकार बनाउन लागेका थिए । तर, पार्टीभित्रैबाट प्रचण्ड रोकिएका थिए । अहिले फेरि प्रचण्डलाई प्रधानमन्त्री बनाउने गृहकार्य विपक्षी र सत्तापक्षबाटै सुरु भएको छ, जसका कारण केपी ओलीको बहिर्गमनको ‘खतरा’ अझै टरेको छैन ।
‘मधेस सेलायो, सेलाएको छैन’
केपी ओली नेतृत्वको सरकारका सामु अवको मुख्य चुनौती भनेको तीनवटा चुनाव गराउने र त्यसका लागि आधार तयार पार्ने नै हो । सुरुमा ओलीका सामु संविधानविरुद्ध उठेका स्वरहरुलाई थामथुम पार्नुपर्ने थियो । यसका लागि उनले संविधान संशोधन गर्ने र मधेसी मोर्चालाई खासै वास्ता नगर्ने दोहोरो तरिका अपनाए । अन्ततः मधेस आन्दोलन खुम्चिएर कमजोर एवं सुशुप्त बन्न पुगेको छ ।
तर, असारे झरीका बेलामा मधेस आन्दोलन सेलाएको वा चिसिएको जस्तो देखिए पनि सरकारले चुनावको तयारी गर्दा मधेस फेरि पनि चुनौती बन्न सक्छ । मधेसी मोर्चालाई सहमतिमा नल्याएसम्म चुनाव सफल हुन सक्नेमा स्वयं सरकार नै विश्वस्त छैन ।
र, संविधान कार्यान्वयनका लागि हुने निर्वाचनमा कसैलाई सहमत नगराई बल प्रयोगबाटै अघि बढ्नु दीर्घकालीनरुपमा राष्ट्रिय हितको पक्षमा नहुन सक्छ । असहमतिका वीच जवरजस्ती गरिने चुनावले विखण्डनलाई मद्यत पुर्‍याउने तर्क पनि कतिपय बुद्धिजीवीहरुको छ ।
यसअर्थमा ओली सरकारलाई अब संविधान कार्यान्वयनको बाटोमा अघि बढ्नका लागि सेलाएको जस्तो देखिएको मधेस फेरि पनि महत्वपूर्ण चुनौती बनेर खडा छ ।
प्रधानमन्त्री ओलीले अब चाँडै नै या त मधेसलाई सहमतिमा ल्याउनुपर्ने हुन्छ, या त असहमतिकै वीच चुनावमा जानुपर्ने हुन्छ । यी दुई अप्सनमा ढीलाइ गर्ने छुट प्रधानमन्त्रीलाई किन छैन भने जति ढीलो भयो, उनी तीनवटा चुनाव गराउने म्याद गुज्रने खतरा बढ्ने छ ।
छिमेकीको मौनता
केपी ओली नेतृत्वको सरकार ढाल्नलाई सुरुदेखि नै हस्तक्षेपकारी भूमिका बढाएको र नाकाबन्दीको अस्त्रसमेत प्रयोग गरेको छिमेकी मुलुक यतिबेला ओली सरकारप्रति क्रमशः नरम बन्दै गएको देखिन्छ ।
ओली सरकारप्रति छिमेकीले उदार नीति लिएको महसुस खुल्लामञ्चमा अनशन बसिरहेका मधेसवादी नेताले पनि गर्न थालेका छन् । आफ्नो स्वार्थ ओली नेतृत्वको सरकारबाटै पूरा हुने अवस्था आएमा यसैबाट काम चलाउने छिमेकीको नीति हुन सक्छ । अन्यथा, आफ्नो स्वार्थ पूरा भएन भने उसले ओलीको विकल्पमा देउवा वा उनी नभए प्रचण्डलाई नै भए पनि समर्थन गर्ने मुड बनाएको बुझाइ केही नेताहरुमा देखिन्छ ।
तर, छिमेकीको यस्तो नीतिलाई उसको नेपाल नीति सम्बन्धमा देखा परेको अलमल वा दोहोरो रणनीतिका रुपमा बुझ्न थालिएको छ ।
एमालेभित्रको अन्तरसंघर्ष
प्रधानमन्त्री केपी शर्मा ओली एमालेका अध्यक्ष पनि हुन् । तर, वर्तमान सरकारको र खास गरी प्रधानमन्त्री ओलीको कार्यशैलीका कारण अर्को समूह सन्तुष्ट छैन ।
सरकारमा एमाले भन्दा पनि ओली समूहको भन्ने उनीहरुको टिप्पणी छ ।
प्रधानमन्त्री भएपछि ओलीले गरेका नियुक्तिदेखि अधिकांश निर्णय प्रक्रियामा पार्टीको अर्को समूहका नेता माधवकुमार नेपाल र झलनाथ खनालसँग खासै परामर्श हुने गरेको छैन । जसका कारण नेपाल पक्ष चिढिएको छ ।
तर, ओली सरकारले लिएको उनीहरुकै शब्दमा ‘राष्ट्रवादी’ अडानका कारण माधवकुमार नेपाल र झलनाथ खनाल समूह खुलेर सरकारको विरोध गर्न सक्दैनन् । त्यसैले उनीहरु यदाकदा राष्ट्रिय सरकार बनाउनुपर्छ मात्र भनिरहेका छन् ।
तर, भित्रभित्र भने ओली सरकारको विकल्प खोज्न र राष्ट्रिय सरकार बनाउन माधव नेपाल पक्ष सहमत रहेको स्रोतहरुको दाबी छ । कथंकाल कांग्रेस र माओवादीको सरकार बन्यो भने विस्तारै एमाले पनि सरकारमा जाने माधव नेपाल पक्षको बुझाइ छ । चुनावी सरकारमा एमाले पनि जानुपर्छ भन्ने मत त्यसबेला प्रकट हुने र एमाले कांग्रेस र माओवादीसहितको सरकार बन्न सक्ने तर्क एमालेकै केही नेताहरुको छ ।
बन्ला त राष्ट्रिय सरकार ?
माओवादी अध्यक्ष प्रचण्डले सार्वजनिक कार्यक्रमहरुमा अहिले राष्ट्रिय सहमतीय सरकारको नारालाई जोड दिने गरेका छन् । जुन सुन्दा पि्रय नै लाग्छ । तर, सजिलो भने छैन । खासगरी सरकारको नेतृत्व कसले गर्ने भन्नेमा सहमति जुट्न सजिलो छैन ।
माओवादी नेतृत्वले प्रचण्डकै नेतृत्वमा सहमति जुट्ने सम्भावना देखेको छ । कांग्रेस र एमालेले एकअर्काको नेतृत्व स्वीकार नगर्ने भएकाले आफ्नो पोल्टामा सरकारको नेतृत्व आउने प्रचण्डको विश्लेषण छ ।
र, माओवादीको यो पहिलो विकल्प हो । तर, यसमा नभए चक्रिय प्रणाली पनि हुन सक्छ । माओवादी एक उच्च नेताले बताए अनुसार पहिलो एक महिना केपी ओली नेतृत्वमा कांग्रेससहितको राष्ट्रिय सरकार बनाउने, त्यसपछि प्रचण्ड प्रधानमन्त्री हुने र अन्तिममा देउवालाई सरकारको नेतृत्व दिने गरी चक्रीय प्रणाली पनि विकल्पका रुपमा अघि सारिएको छ ।

Thursday, June 30, 2016

‘संविधानविरोधी’ मन्त्रीलाई हटाउन कांग्रेसको माग

१७ असार, काठमाडौं । कांग्रेसले संविधानविपरीत अभिव्यक्ति र गतिविधि गर्दै हिँड्ने मन्त्रीहरूलाई कारबाही गर्न माग गरेको छ ।बिहीबार व्यवस्थापिका–संसद् बैठकको ‘शून्य समय’मा बोल्दै कांग्रेस सांसदले उपप्रधानमन्त्रीद्वय कमल थापा र चित्रबहादुर केसीलाई कारबाही गर्न माग गरेका हुन् ।
‘प्रधानमन्त्री लाचार हुनुभयो’ कांग्रेस संसदीय दलकी सचेतक ईश्वरी न्यौपानेले जिम्मेवार मन्त्रीहरूले संविधानविपरीत अभिव्यक्ति र गतिविधि गर्दा पनि प्रधानमन्त्री मूकदर्शक बन्दै लाचार भएर बसेको आरोप लगाइन् ।
‘सरकारमा सहभागी दुई दलका मन्त्री संविधानविपरीत बोल्ने मात्र होइन, सडक गतिविधिमै सक्रिय छन्, उनीहरूका गतिविधि प्रधानमन्त्री लाचार भएर हेरिरहेका छन्, प्रधानमन्त्रीले किन कारबाही गनुुहुन्न ?’ सांसद न्यौपानेले भनिन्, ‘प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ ।’अाजको नयाँ पत्रिकामा समाचार छ ।
संविधानले आत्मसात् गरेको संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको विपक्षमा ती मन्त्री र तिनका दलले खुलेआम देशव्यापी कार्यक्रम गरिरहेका छन् । अहिले सरकारमा सहभागी १२ दलमध्ये संविधानविपरीत ६ दलले गतिविधि गरिरहेको आरोप लाग्दै आएको छ । ‘सरकारले मंसिरमा स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेको छ, तर आफ्नै क्याबिनेटका मन्त्री संविधानविपरीत बोल्दै हिँड्दा पनि प्रधानमन्त्रीले कारबाही गर्न नसक्दा संविधान कार्यान्वयनमा शंका छ,’ न्यौपानेले भनिन् ।

नयाँ शक्तिमा वरीयता विवाद

१७ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराएैको नेतृत्वको नयाँ शक्ति नेपालमा वरीयताको विषयमा पार्टीभित्र असन्तुष्टि बढेको छ ।
पार्टीको हालै सम्पन्न सचिवालय बैंठकमा तीनजना पार्टी सहसंयोजक चयन भएपति दोस्रो बरीयताका विषयमा पार्टीभित्र अन्योलता र असन्तुष्टि चुलिएर गएको हो ।

नयाँ शक्तिले सह-संयोजकहरुमा रामचन्द्र झा, महेश कर्मोचा र दुर्गा सोबलाई चयन गरेको थियो । मधेसी कोटाबाट झा, आदिवासी जनजातिबाट कर्मोचा र महिला तथा दलितबाट समानुपातिक हुने गरी सोबलाई चयन गरेको जनाएपति यो संरचनाले पार्टी विकास नुहेन भन्दै सशस्त्र युद्ध लडेर आएका माओवादी नेताहरु भने असन्तुष्ट रहेको स्रोतले बताएको आजको राजधानीदैनिकमा समाचार छ ।
नयाँ शक्तिका नेता पर्शुराम तामाङले वरियताका क्रममा नसोचिएको भएपनि सहसंयोजक बनाएकाले बरियताक्रम त्यही अनुसार हुनसक्ने बताए ।
कतिपय नेताले भने पार्टी सहसंयोजक चयन नयाँ शक्तिकै अन्तरिक विधान विपरित भएको समेत टिप्पणी गरेका छन्  ।

नयाँ शक्तिमा रामराम भन्न पाइने, ध्यान र प्राणायम अनिवार्य

१६ असार, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले विहीबार नयाँ बानेश्वरमा पत्रकार भेटघाटको आयोजना गरेका थिए, जहाँ एक पत्रकारले उनलाई ‘महेन्द्रकालीन राष्ट्रिय पोशाक’ दौरा-सुरुवालबारे नयाँ शक्तिको दृष्टिकोण सोधे ।

जवाफमा डा. भट्टराईले आफ्नो पार्टीले धोती, बख्खु वा दौरासुरुवाल जे भए पनि सबै जातजाति र समुदायका पोशाकलाई समदृष्टिले हेर्ने बताए । साथै उनले जोजोलोप्पा, सेवारोदेखि लिएर कसैले रामराम भन्छ भने पनि आपत्ति नहुने स्पष्ट पारे । ‘हामी सबै समुदायका पोशाक र संस्कृतिलाई समानरुपमा हेर्छौं,’ डा. भट्टराईको भनाइ थियो, कसैले नमस्कार भन्छ, कसैले रामराम भन्छ भने पनि पाउँछ ।’
कार्यक्रममा डा. भट्टराईले पूर्वीय संस्कृति र दर्शनको पक्षमा पनि बोले । आफूहरुले पश्चिमी दर्शन र सिद्धान्तमात्रै होइन, पूर्वीय दर्शन र संस्कृतिमा पनि जोड दिने उनले बताए ।
आफ्नो पार्टीका नेता कार्यकर्ताले ध्यान र योगलाई जीवनशैलीका रुपमा अपनाउने उनले बताए । तनाव भएका बेला ध्यान गर्‍यो भने रिप|mेस भइने बताउँदै उनले यसलाई विज्ञानका रुपमा लिनुपर्ने बताए ।
अध्ययन गर्न छाडियो, पहिलेकै उग्राउँदैछु
पत्रकार समक्ष डा. भट्टराई नयाँशक्ति सांगठानिक सिद्धान्तको व्याख्या गरिरहेका थिए । यसक्रममा उनले विधानमा रहेका १५ वटा बुँदाहरुको व्याख्या गरे । त्यसको १४ औं नम्बरमा ‘अध्ययन, अनुसन्धान र सूचनालाई प्राथमिकता दिने’ उल्लेख छ ।
यो बुँदाको व्याख्या गर्ने क्रममा डा. भट्टराईले विगत ३० वर्षयता आफ्नो अध्ययन गर्ने बानी घटेको सुनाए । ‘पीएचडी गरेका बेलासम्म जति पढियो, अहिले म त्यसैलाई घाँस उग्राए जसरी उग्राउँदैछु, अध्ययन गर्ने बानी मेरो पनि कम भएकै हो ।’
कुनै पनि राजनीतिक दलका नेता कार्यकर्तामा अध्ययन अनुसन्धान गर्ने आदत कम हुँदै गएको भन्दै डा. भट्टराईले अब नयाँ शक्तिले अध्ययन संस्कृतिको विकास गर्ने बताए ।
विधानको १५ औं नम्बरमा भएको विवरण पढ्दै उनले नयाँ शक्तिले पूर्वीय दर्शनमा आधारित योग, ध्यान र प्राणायमजस्ता विधिहरु उपयोग गर्न प्रेरित गर्ने बताए ।

मोर्चाद्धारा संसद बहिष्कार

काठमाडौँ, १६ असार । नेपालको संविधानमा समेटिएका विभिन्न अन्तर्बस्तु विषयमा टीका टिप्पणी गर्दै आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका–संसद्को आजको बैठक बहिष्कार गरेको छ । 

सभामुख ओनसरी घर्तीले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ मोर्चामा आबद्ध आन्दोलनरत दलका सांसदहरुले उठेर विरोध जनाउनुभएको थियो । त्यसलगत्तै सभामुख घर्तीले मोर्चाका सांसद दिलबहादुर नेपालीलाई बोल्न समय प्रदान गर्नुभयो । 

सांसद नेपालीले विश्वव्यापी संविधान निर्माणको लोकतान्त्रिक मूल्य मान्यतालाई बेवास्ता गर्दै दु्रतमार्गको नाममा जनताको अधिकार खोसेर घोषणा गरिएको संविधान आफूहरुलाई स्वीकार्य नहुने बताउनुभयो । 

संविधानले समानुपातिक र समावेशी सहभागिताको सुनिश्चितता नगरेको हुँदा आफूहरु जनताको मुद्दा स्थापित गराउन निरन्तर रुपमा आन्दोलन गर्दै आएको सदनलाई जानकारी गराउँदै उहाँले आजको बैठक बहिष्कार गरेको घोषणा गर्नुभयो । 

उहाँको बहिष्कारको घोषणासँगै मोर्चासँग आबद्ध राजनीतिक दलका सांसदहरु बैठकबाट बाहिरिनुभएको थियो । 

आन्दोलनरत पक्षका माग संविधान संशोधनमार्फत सम्बोधन गर्न मोर्चाले सरकारलाई आग्रह गर्दै सदनको बैठक निरन्तर रुपमा केही समयदेखि बहिष्कार गर्दै आएको छ । रासस 

Wednesday, June 29, 2016

काँग्रेसको चार जिल्लाको अधिवेशन हुन सकेन

काठमाडौँ, १६ असार । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको चार जिल्ला र एक क्षेत्रको अधिवेशन अझै हुन सकेको छैन । 

नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा आन्तरिक विवादका कारण सात जिल्लाको अधिवेशन हुन सकेको थिएन । गत जेठ २२ गते बसेको नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले असार पहिलो हप्तासम्म महाधिवेशन सम्पन्न गर्न परिपत्र गरे पनि असारको तेस्रो हप्ता हुँदासम्म तीन जिल्लाबाहेक चार जिल्ला र एक क्षेत्रको अधिवेशन हुन नसकेको हो । अधिवेशन हुन नसकेकामा सिरहा, धनुषा, महोत्तरी, पर्सा र धनुषाको क्षेत्र नं ५ हो । 

पछिल्लोपटक अधिवेशन सम्पन्न भएका जिल्लामध्ये सिन्धुपाल्चोकमा विकास लामा, बझाङमा हर्कजङ्ग बहादुर सिंह र कञ्चनपुरमा हरिप्रसाद बोहरा निर्वाचित हुनुभएको छ । 

निर्वाचन अधिकृत गोपालकृष्ण घिमिरेले केन्द्रबाट सबै जिल्लामा अधिवेशन गर्न परिपत्र गरिसकिएको, जिल्लाका निर्वाचन अधिकृतले निर्वाचनको कार्यतालिका मिलाउँदै गर्दा ढिला भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अरू जिल्लामा पनि छिट्टै अधिवेशन गर्न लागिरहेका छौँ ।” रासस 

संसद बैठक बस्दै, बजेट पारितको कार्यतालिका दुई दिन सर्‍यो

१६ असार, काठमाडौं । व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । विहान ११ बजे बस्ने बैठकमा बजेटमाथि छलफल हुने कार्यसूची रहेको छ ।
मन्त्रालयगत छलफलमा शान्ति तथा पुनर्निर्माण, खानेपानी तथा सरसफाई, श्रम तथा रोजगार लगायत सातवटा मन्त्रालयको विनियोजित बजेटमाथि छलफल हुने कार्यतालिका रहेको छ । उक्त छलफलमा उठेका प्रश्नहरुको जवाफ सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले दिनेछन् ।  यसअघि बिभिन्न १५ वटा मन्त्रालयमाथि विनियोजित विधेयकबारेको छलफल सकिएको छ ।

यसैबीच, कांग्रेसको अवरोधका कारण विनियोजन विधेयकमाथिको छलफल प्रभावित भएपछि संसद सचिवालयले पूर्ण बजेट पारितको कार्यक्रम दुई दिन पछि सारेको छ । यसअघि १७ गते छलफल सक्ने, १९ देखि २२ गतेसम्म छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने र २२ गते पूर्ण बजेट पारित गर्ने कार्यतालिका थियो ।
प्रमुख प्रतिपक्षी दल नेपालीकांग्रेसले भूकम्पपीडितले एकमुष्ट रकम पाउनुपर्ने माग गर्दैै केहि दिनयता अवरुद्ध गर्दै आएको संसद सत्तारुढ तीन दलसँगको सहमतिपछि बुधबारबाट सुचारु भएको छ । भूकम्पपीडितलाई पहिलो किस्तामा १ लाख ५० हजार र दोस्रो किस्तामा ५० हजार रुपैयाँ दिने सहमति दलहरुबीच भएको थियो ।

कांग्रेसमा हजार पद रिक्त, कार्यकर्ता बेरोजगार

१६ असार, काठमाडौं । १३ औं महाधिवेशनपछि कांग्रेसमा हजारभन्दा बढी पद रिक्त रहेको पाइएको छ ।
ठूलो संख्यामा पद रिक्त भए पनि सभापति शेरबहादुर देउवाले विधानअनुसार काम नगर्दा कांग्रेसका नेता कार्यकर्ता भने काम नपाएर बेरोजगार बन्न पुगेका छन् ।
महाधिवेशनबाट पारित पार्टी विधानअनुसार निर्वाचित सभापतिले कांग्रेसको महाधिवेशन सकिएको दुई महिनाभित्रै सबै निकाय र तहमा मनोनयान पूरा गरिसक्नुपर्ने व्यवस्था छ ।
तर, सभापति देउवाले केन्द्रीय समिति र विभाग प्रमुख पनि किस्ताबन्दीमा गरिरहेका कारण अझै लामो समय कार्यकर्ता बेरोजगार नै बन्नुपर्ने देखिएको आजको राजधानी दैनिकमा समाचार छ ।  किस्ताबन्दी मनोनयन पनि निकै कम पदमा मात्रै भएको छ ।
सभापति देउवाले ४२ वटा विभागमा मनोनयान गर्न बाँकी छ । एउटा विभागलाई पूर्णता दिँदा मात्रै पनि २१ जना नेताले काम पाउँछन् ।
विभागमा पूर्णता नहुँदा कांग्रेसका ८ सय ८२ कार्यकर्ता बेरोजगार भएका छन् ।
ज्येष्ठ राजनीतज्ञ सभा, संसदीय बोर्ड, अनुशासन समिति लगायतमा पनि मनोनयन गर्न बाँकी नै छ ।

एमालेका उपाध्यक्षहरू कामविहीन !

१६ असार, काठमाडौं । एमालेका केन्द्रीय उपाध्यक्षहरूले नयाँ जिम्मेवारी माग गरेका छन् । स्थायी कमिटीले सातवटै प्रदेशमा प्रदेश संगठन कमिटी गठन गरेपछि ‘बेरोजगार’ बन्ने स्थिति आएको भन्दै चारै उपाध्यक्षले नयाँ जिम्मेवारी माग गरेका हुन् । तत्कालीन उपाध्यक्ष विद्या भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि एक उपाध्यक्षको पद भने रिक्त छ ।
नवौँ महाधिवेशनबाट पारित एमाले विधानमा पाँच उपाध्यक्षलाई पाँच विकास क्षेत्रको कामको अनुगमन र संयोजन गर्ने जिम्मेवारी दिइएको छ । तर, प्रदेश कमिटी गठनसँगै पुरानो ढाँचाको अञ्चल र विकास क्षेत्र स्वत: खारेज भएपछि उपाध्यक्षहरू भूमिकाविहीन भएका हुन् । एमालेले स्थायी समितिबाट करिब पाँच सय नेता–कार्यकर्ता रहने गरी अघिल्लो साता प्रदेश संगठन कमिटी गठन गरिसकेको छ । तर, संयोजकको टुंगो लगाएको छैन ।
प्रदेश संगठन कमिटी गठनसँगै एमालेमा संस्थापन र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच संयोजक र सचिवमा विवाद देखिएको छ । विवादकै कारण गत ४ असारयता तीनपटक डाकिएको स्थायी समिति बैठक स्थगित भएको अाजको नयाँ पत्रिकामा समाचार छ ।
प्रदेश संयोजक पदाधिकारीबाट कि स्थायी समितिबाट बनाउने भन्ने विषयमा विवाद छ । संस्थापन पक्ष स्थायी समितिबाट बनाउँदा नेपाल समूहको एकजना मात्रै पर्ने हिसाब–किताबमा छ भने नेपाल पक्ष भने उपाध्यक्षहरूलाई जिम्मेवारी दिएर बाँकी पदाधिकारी या सदस्यमध्येबाट गर्दा बहुमत संयोजक हात पार्ने हिसाबमा छ । उपाध्यक्षमध्ये महाधिवेशनबाट गौतमबाहेक ज्ञवाली, शाक्य र रावल नेपाल समूहबाट निर्वाचित भएका हुन् ।

सात संयोजकमध्ये तीन संयोजक दिन संस्थापन पक्ष तयार भए नेपाल पक्ष सहमतिमै टुंग्याएर जाने निष्कर्षमा पुगेको छ । ‘चार उपाध्यक्षमध्ये हामीले कम्तीमा तीनवटा क्षेत्रको संयोजकको जिम्मा पाउँछौँ, बाँकी उहाँहरूले ज–जसलाई बनाउँदा पनि हुन्छ,’ नेपालनिकट एक नेताले भने, ‘महाधिवेशनयता सहमतिमै सबै टुंगिएकाले हामी अड्काउने पक्षमा छैनौँ, त्यसरी जाँदा कुरा मिल्न सक्छ ।’
प्रदेश संगठन कमिटी गठनलगत्तै एमालेले १८ असारमा सातवटै प्रदेशमा प्रदेश भेलाको तयारी अघि बढाएको छ । बजेटका पक्षमा देशभर अभियान चलाउन एमालेले पदाधिकारीहरूको प्रमुख आतिथ्यतामा भेला आयोजना गर्न लागेको हो । तर, विवादका कारण प्रदेश संयोजक चयन नभइसकेकाले संयोजकविनै भेलाको सम्भावना रहेको एक नेताले बताए । संयोजक चयन नहुँदै वरिष्ठ नेता नेपाल भियतनाम प्रस्थान गरेका छन् । उनी २२ असारसम्म विदेशमै रहनेछन् ।

Tuesday, June 28, 2016

विप्लव माओवादीले सिंहदरवार घेर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

१५ असार, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले एनसेल आक्रमणको आरोपमा पक्राउ परेका आफ्ना नेता-कार्यकर्ताहरुको रिहाइको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएको छ ।
बिहीबार काठमाडौं उपत्यकासहित देशभर विरोध प्रदर्शनसहित ज्ञापनपत्र बुझाउने विप्लव माओवादीले जनाएको छ । काठमाडौंमा प्रधानमन्त्रीलाई नै भेटेर र अरु जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीहरुमार्फत् ज्ञापनपत्र बुझाइने काठमाडौं उपत्यका व्यूरो इञ्चार्ज सन्तोष बुढामगरले जानकारी दिए ।

सरकारलाई कर नतिरेको आरोप लगाउँदै विप्लव माओवादीले देशभरका एनसेल टावरहरुमा आगजनी र तोडफोड गरी क्षति पुर्‍याएको थियो । त्यसको आरोपमा प्रहरीले बिभिन्न जिल्लाबाट आफ्ना दुई दर्जन बढी नेता-कार्यकर्ताहरुलाई पक्राउ गरेको माओवादीको भनाइ छ ।
‘सरकारले बिना कारण र बिना आधार हाम्रा साथीहरुलाई गिरफ्तार गरेर झुठ्ठा मुद्दा लगाएको छ, ति सबैलाई बिनासर्त रिहाइ गर्नुपर्‍यो,’ नेता बुढामगरले अनलाइनखबरसँग भने, ‘महंगी, कालाबजारी रोक्नुपर्‍यो र भूकम्प पीडितलाई राहत वितरण गर्नुपर्‍यो भन्ने हाम्रो माग हो । ‘
काठमाडौंमा दिउँसो १ बजे शान्तिबाटीकाबाट प्रदर्शन सुरु हुनेछ । त्यसपछि जुलुससहित सिंहदरवार पुग्ने कार्यक्रम तय गरिएको छ । हनुमानस्थान, बबरमहल, माइतीघर लगायतका क्षेत्रहरुमा प्रदर्शन गर्दै सिंहदरवार छिर्ने नाकाहरु बन्द गराउने माओवादी योजना छ ।  ‘प्रदर्शन र कोणसभा पछि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँछौं,’ नेता बुढामगरले भने ।
यसैबीच विप्लव माओवादीका कार्यकर्ताहरुले कर्णाली रोजगार कार्यक्रमका इञ्जिनियर जनक रोकायालाई कालोमोसो दलेका छन् ।
कर्णाली रोजगार कार्यक्रमको विकास बजेटमा करोडौं भ्रष्टाचार गरेकाले रोकायालाई कालोमोसो दलेर सांकेतिक जनकारबाही गरेको नेकपा माओवादी कर्णाली व्यूरो कार्यालयले जनाएको छ ।

Wednesday, June 22, 2016

कांग्रेस संसदीय दलको कार्यसमितिमा पाँच सदस्य मनोनित

८ असार, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति सदस्य पदमा पाँच जना मनोनित भएका छन् । कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले बुधबार पाँच सांसदहरुलाई संसदीय दलको कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् ।
मनोनित हुनेहरुमा कैलाली क्षेत्रनम्बर ५ का दीर्घराज भाट, संखुवासभा क्षेत्रनम्बर १ का तारामान गुरुङ, बर्दिया क्षेत्रनम्बर २ का सञ्जयकुमार गौतम, काभ्रेपलाञ्चोक क्षेत्रनम्बर ३ का कञ्चनचन्द्र वादे र बझाङकी चन्द्रादेवी जोशी छन् ।
संसदीय दलका नेता देउवाले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७२) को धारा ११ को उपधारा २ (ङ) बमोजिम उनीहरुलाई सदस्य पदमा मनोनित गरेको निजी सचिव केशवराज जोशीले जानकारी दिएका छन् ।

Monday, June 20, 2016

पार्टी कार्यालय जाँदैनन् कांग्रेस नेता

७ असार, काठमाडाैं । कांग्रेसको १३औँ महाधिवेशन सम्पन्न भएको चार महिना भएको छ । तर, सानेपास्थित पार्टी केन्द्रीय कार्यालय सुनसान छ । पार्टी पदाधिकारीका साथै अन्य नेताहरूसमेत केन्द्रीय कार्यालय जाँदैनन् ।
विधानत: नयाँ कार्यसमिति गठन भएको दुई महिनाभित्रै बाँकी सदस्य र विभागहरू गठन भइसक्नुपर्नेमा अहिलेसम्म केन्द्रीय समितिले पूर्णता पाएको छैन । अझै ११ केन्द्रीय सदस्य र तीन पदाधिकारी मनोनीत गर्न बाँकी छ । सदस्य मनोनयन र विभाग गठन नभएकाले अन्य नेता तथा कार्यकर्ताहरू शीर्ष नेताकै निवासमा बढी जाने गरेका छन् ।
 सभापति शेरबहादुर देउवासँग भेट्न पुग्ने नेता–कार्यकर्तामध्ये २५ प्रतिशत राजनीतिक र ७५ ले व्यक्तिगत समस्या सुनाउने गरेका छन् । ‘प्राय: व्यक्तिगत गुनासा नै लिएर पुग्ने नेता–कार्यकर्ता धेरै हुन्छन्,’ देउवानिकट स्रोत भन्छ, ‘२५ प्रतिशतजति पार्टीका समस्या लिएर पुग्छन्, तर ७५ प्रतिशत सरुवा, बढुवा, ठेक्कापट्टा, केन्द्रीय सदस्य, निवासमै भेटघाट गर्छन् देउवा सभापति भएको चार महिनामा देउवा तीनपटक केन्द्रीय कार्यालय पुगेका छन् ।
जिल्ला दौडाहा र पार्टी बैठकबाहेक देउवा बुढानीलकण्ठको आफ्नै निवासमा नेता–कार्यकर्ता भेट्छन् । भेटका लागि उनले बिहान ८ देखि ११ र बेलुका ३ बजेदेखि साँझसम्मको समय छुट्याएका छन् ।
उनका सहयोगी भानु देउवाका अनुसार एक दिनमा झन्डै डेढ सय नेता–कार्यकर्तासँग उनी भेट गर्छन् । अब छिटै देउवाले पार्टी कार्यालयमा नियमित कार्यकर्तालाई भेटघाट गर्ने उनको सचिवालयले तयारी गरेको छ।
महाराजगन्जस्थित कोइरालानिवास सधैँ भरिभराउ
महामन्त्री शशांक कोइरालाको महाराजगन्जस्थित निवासमा बिहानैदेखि भीड लाग्छ । पूर्वसभापति सुशील कोइराला बसेकै घरमा महामन्त्री शशांक बस्दै आएका छन् ।
आवतजावतमा सहज हुने भएकले पनि नेता–कार्यकर्ता शशांकनिवासमा बढी पुग्छन् । महामन्त्री भएपछि पाँचपटक मात्र केन्द्रीय कार्यालय सानेपा पुगेका शशांकले छिटै केन्द्रीय कार्यालयमै भेटघाट गर्ने तयारी गरेका छन् ।
पौडेलको कार्यालयमा भन्दा निवासमा बढी भीड १३औँ महाधिवेशनमा सभापतिमा पराजित भएका नेता रामचन्द्र पौडेलले पार्टी केन्द्रीय कार्यालय जाने तालिका बनाएका छन् । काठमाडौं हुँदा दिउँसो २ देखि ५ बजेसम्म कार्यालय पुग्ने तालिका रहेको स्वकीय सचिव चिरञ्जीवी अधिकारीले बताए । तर, उनको निवास बोहोराटारमा बिहानैदेखि नेता–कार्यकर्ताको भीड लाग्छ । बिहान सवा ६ देखि ११ बजेसम्म भेटघाटको समय छुट्याएका छन् । उनीहरूले पार्टीका आन्तरिक समस्याका साथै जागिर, सरुवा, विकास निर्माण योजना पारिदिन आग्रह गर्छन् । यसअघि उपसभापति हुँदा पौडेल अरू नेताको तुलनामा नियमितजसो केन्द्रीय कार्यालय सानेपा पुग्थे ।

Saturday, June 18, 2016

एमालेमा मौलायो गुटबन्दी, गुटभित्रै दर्जन उपगुट

असार ५, काठमाडौं–सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेमा औपचारिक रुपमा दुई गुट देखिए पनि त्यसभित्र उपगुट सक्रिय रहेका पाइएको छ ।
पार्टीभित्र र गुटभित्र पनि आफ्नो शक्ति बढाउन र बार्गेनिङका लागि विभिन्न नेताको नेतृत्वमा गुट उपगुटहरु सक्रिय गरेको पाइएको हो ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आफ्नो गुटलाई थप क्रियाशील बनाउँदै लगेका छन् ।
संस्थापनसँग असन्तुष्ट पक्षको नेतृत्व परिष्ठ नेता नेपालले गर्दे आएका छन् । तर त्यसका पनि थुप्रै उपगुटहरु सक्रिय छन् । ओली नेतृत्वको संस्थापनलाई काउन्टर दिन वरिष्ठ नेता नेपालले नवौं महाधिवेशनमा आफूतिर लाग्नेको नेतृत्व गरिरहेका छन् । तर, संस्थापन र नेपाल समूहभित्रै पनि एक दर्जनभन्दा बढी उपगुट सक्रिय छन् ।
एमालेमा मूलतः विचार र सिद्धान्तका हिसावमा खासै विवाद छैन । नीति, विचार र सिद्धान्तमा मतान्तर नभए पनि पार्टीभित्र र गुटभित्र पनि आफ्नो पकड जनाउन गुटउपगुट बनेका छन् । आजको राजधानी दैनिकमा खबर छ ।

Friday, June 17, 2016

बुद्धिजिवीलाई ‘मुसा’ भन्दै ओलीले भने, ‘सातो गयो, अब बेहोस हुन्छन्’

काठमाडौं, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले विकासको कुरा सहरी बुद्धिजिवीहरुको सातो गएको बताएका छन् । पेशागत महासंघ नेपालको छैटौँ राष्ट्रिय महाधिवेशनको शुक्रबार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफ्ना योजनाहरु कार्यान्वयनमा जाँदा त उनीहरु बेहोस नै हुने दावी गरे ।
ओलीले आफूले विकासका कुरा गर्दा विरोध गर्ने सहरी बुद्धिजिवीहरुलाई कोट काट्ने मुसासँग तुलना समेत गरेका छन् । ‘मुसाले खानका लागि कोट काट्ने होइन, दाँत लामो भएपछि छोट्याउन काट्छ । थोत्रो लुगा काटे पनि हुन्थ्यो नि नयाँ नै चाहिने,’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा बुद्धिजिवीहरु पनि कोट काट्ने मुसाजस्तै हुन् । नराम्रो कामको आलोचना गरे हुन्थ्यो नि, विकासको कुरा गर्दा विरोध गर्छन् ।’
प्रधानमन्त्री ओलीले २०७४ सालभित्रै सङ्क्रमणकालको अन्त्य हुने दावी समेत गरेका छन् । त्यसपछि मुलुकलाई विकास निर्माणको दिशातर्फ डोहोर्‍याउने उनको जीकिर छ । ‘२०७५ देखि सरकार पूरै विकास निर्माणमा लाग्नेछ,’ प्रधानमन्त्री ओलीले भने ।
एक अर्को प्रसङ्गमा ओलीले अर्थशास्त्रीले समेत बजेटलाई बुझ्न नसकेको गुनासो गरे । ‘गाउँका जनताले बजेटबारे बुझे तर, अर्थशास्त्रीहरुले बुझेनन्,’ उनले भने, ‘बजेट ठूलो देखेका छन्, कार्यान्वयन गर्दै जाँदा सानो भएको महसुस हुनेछ ।’
वर्तमान सरकारको विचार, बाटो र गन्तव्य स्पष्ट रहेको उनको दावी छ । ‘यो सरकार १०४ वर्षे राणा शासन होइन, २४० वर्षे वंश परम्परामा आधारित राजतन्त्र जस्तो पनि होइन,’ उनले भने, ‘वर्तमान सरकार संसद्बाट बनेको हो । मन नपरे त्यहीँबाट फेरिन्छ ।’

Thursday, June 16, 2016

प्रचण्डविरूद्ध शेरबहादुर देउवाले दिए उजुरी

असार ३, काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष
पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुराले शान्ति समिति डडेल्धुरामार्फत आयोगमा प्रचण्डविरुद्ध देउवाका तर्फबाट उजुरी दर्ता गरेको हो । सभापति देउवाकै निर्देशनमा आयोगमा उजुरी दर्ता गराइएको डडेल्धुरा कांग्रेसले जनाएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा भएको १० वर्षे द्वन्द्वकालको क्रममा कांग्रेस थुप्रै निर्दोष कार्यकर्ता मारिएको, राजनीतिक पूर्वाग्रहमा अंगभंग भएका लखेटिएका बेपत्ता पारिएकालगायत भौतिक सम्पत्ति र संरचनाहरु ध्वस्त गराएको भन्दै पीडितलाई न्याय दिन उजुरीमा माग गरिएको छ ।
प्रचण्डको नेतृत्वमा द्वन्द्वकालको फाइदा उठाउँदै जनयुद्ध आचारसंहिता विपरीत जनता र जनताको सेवकको हत्या अपहरणलगायतका अमानवीय कार्य गरेकाले न्यायका लागि आयोगमा उजुरी दर्ता गराएको कांग्रेस जिल्ला कार्य समितिका सचिव लक्ष्मीप्रसाद अवस्थीले जानकारी दिए । आजको राजधानी दैनिकमा खबर छ