Thursday, July 23, 2015

भूकम्प पीडितलाई उद्धार गरेको भन्दै सशस्त्र सम्मानित


हालै गएको विनासकारी भूकम्पमा पीडितहरुलाई उद्धार कार्यमा उत्कृष्ट योगदान पु¥याएको भन्दै सशस्त्र प्रहरी बल सम्मानित भएको छ । ‘हामी नागरीक’का संयोजक प्रचण्डजंग शाहले बिहिबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा एक कार्यक्रमका विच सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तलाई सम्मान पत्र प्रदान गरे । त्यस अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक वन्तले विपदको वेला उद्धार कार्यमा सशस्त्र प्रहरी बलले उत्कष्ट योगदान पुर्‍याएको स्मरण गरेका थिए । भूकम्पले भत्किएको संरचनाबाट एपीएफ टोलीले ३ सय ४५ जनालाई जिवितै उद्धार गरेको चर्चा गर्दै उनले भूकम्प गएको एक घण्टा भित्रै एपीएफ टोलीले उद्धार थालिसकेको जानकारी गराए । ‘सशस्त्र प्रहरी कर्मचारीको मनोवल ज्यादै उच्च छ’ सशस्त्र प्रहरी महानिरीक्षक वन्तले भने –‘त्यो मनोवल संगठनले कार्यान्वयनमा ल्याएको कल्याणकारी योजना लगाएत व्यावसायिक तालिम तथा विभिन्न सांगठानिक प्रयासको प्रतिफल हो ।’ उनले कल्याणकारी कार्य अन्तर्गत वर्षभरीमा उत्कृष्ट कार्य गर्नेलाई ‘वर्ष जवान’ घोषणा गरी यूएन मिसनमा सहभागिताको अवसर तथा निजको एक जना सन्ततीलाई बाह्रकक्षा अध्ययन गरुञ्जेल सम्म छात्रवृत्तिको व्यवस्था मिलाइएको उल्लेख गरे । भूकम्पमा मृत्यु भएका सशस्त्र प्रहरीको एक जना बच्चालाई सोही सरह छात्रवृत्ति, कल्याणकारी सेवाकेन्द्रबाट राहत सहयोग, ऋण तथा सापटी सुविधा, जोखिमपूर्ण कार्यक्षेत्रमा खटिने सशस्त्र प्रहरी कर्मचारीलाई विभिन्न खालका अन्य सुविधालगाएतका अवसरहरुले गर्दा सशस्त्र प्रहरी कर्मचारीको मनोवल उच्च हुन मद्दत पुगेको उनले उल्लेख गरे ।

0 comments:

Post a Comment