Thursday, June 9, 2016

बङ्गुरपालन व्यवसाय फस्टाउँदै


रामपुर ९पाल्पा०, २७ जेठ । जिल्लामा पछिल्लो समय बङ्गुरपालन व्यवसाय फस्टाउँदै गएको छ । 

परम्परागत रुपमा एक दुई वटा बङ्गुर पाल्दै आएका यहाँका किसानले हिजोआज व्यवस्थित तरिकाले व्यवसाय गर्न थालेका छन् । गाउँ गाउँमा समूह, सहकारीका साथै व्यक्तिगत रुपमा बङ्गुरपालन गरेर किसानले यथेष्ट आम्दानी गर्न थालेका छन् । थोरै समयमा मनग्य आम्दानी हुने भएपछि युवा बङ्गुरपालन व्यवसायतर्फ आकर्षित बनेका हुन् । 

जिल्लामा अहिले ४९ जना युवा व्यावसायिक तरिकाले बङ्गुरपालन व्यवसायमा लागेका छन् । दुई वर्षयता व्यावसायिक रुपमा बङ्गुरपालन गर्ने युवाको सङ्ख्या बढेको वरिष्ठ पशु विकास अधिकृत तुल्सीराम भण्डारीले बताउनुभयो । 
विदेशबाट फर्केका र विदेश जाने सोच बनाएका चापपानी, तानसेन, झिरुवास, रामपुर, झडेवा, पालुङमैनादीका युवा अहिले व्यावसायिक रुपमा बङ्गुरपालन गरेर प्रशस्त आम्दानी गरिरहेका छन् । 

लगानी धेरै गर्न नपर्ने र तीन महिनामै आम्दानी हुने भएकाले पनि यस व्यवसायमा युवाको आकर्षण बढेको हो । बङ्गुरका पाठापाठी बिक्री गर्न कुनै समस्या नरहेको उनीहरुको भनाइ छ । वर्षको चार पटकसम्म ब्याउने बङ्गुरले एक पटकमा १२ देखि १६ वटासम्म बच्चा जन्माउने गरेको चापपानीका कृषक ओमबहादुर सारुले बताउनुभयो । तीन वर्ष कोरिया बसेर स्वदेश फर्कनुभएका सारुले १६ वटा माऊ बङ्गुर पाल्नुभएको छ । 


“पाठापाठी बेचेर वार्षिक रु सात लाखदेखि रु आठ लाखसम्म कमाइ हुन्छ,” उहाँले भन्नुभयो । त्यस्तै रामपुरका कृषक सूर्यबहादुर रामजाली वर्षमा बङ्गुरका पाठापाठी बिक्री गरी रु पाँच लाखदेखि रु छ लाख आम्दानी गर्नुहुन्छ । एक महिनामै एउटा बङ्गुरको बच्चा रु तीन हजारदेखि रु चार हजारसम्ममा गाउँमै बिक्री हुन्छ । 

जिल्ला पशुसेवा कार्यालयले सहकारी खेती बङ्गुरपालन कार्यक्रमअन्तर्गत आव २०७०÷७१ मा चापपानी साना किसान कृषि सहकारी संस्थालाई रु आठ लाख ४५ हजार, आव २०७१÷७२ मा आत्मनिर्भर कृषि सहकारी संस्था पालुङमैनादी, अमरज्योति महिला कृषि सहकारी संस्था झडेवा, नयाँ कृषि अभियान कृषि सहकारी संस्था गाँडाकोटलाई प्रतिसहकारी रु आठ लाख ३० हजार अनुदान रकम उपलब्ध गराएको छ । 

त्यस्तै २०७२÷७३ मा शिवासन कृषि सहकारी संस्था यम्घा र काउले कृषि सहकारी संस्था झिरुवासलाई प्रतिसहकारी रु आठ लाख ३० हजार रकम अनुदानमा वितरण गरेको पशु विकास अधिकृत डाक्टर चन्द्रबहादुर रानाले बताउनुभयो । व्यक्तिगत रुपमा व्यवसाय गर्ने किसानलाई कार्यालयले बर्सेनि खोर सुधार, पाठापाठी खरिदका लागि अनुदान रकम पनि उपलब्ध गराउँदै आएको छ । 

यस वर्ष कार्यालयले बङ्गुरपालक किसानलाई केन्द्रीय कार्यक्रमअन्तर्गत पाँच जनालाई प्रतिव्यक्ति रु एक लाख रकम अनुदानमा उपलब्ध गराएको बताइएको छ । रासस 

0 comments:

Post a Comment