Wednesday, June 29, 2016

शिशु हत्या गरेको आरोपमा महिला पक्राउ


भोजपुर, १६ असार । आफँैले जन्म दिएको शिशु हत्या गरेको आरोपमा भोजपुर जिल्ला दोभाने गाविसकी एक महिला पक्राउ परेकी छिन् । 

अवैध सम्बन्धबाट जन्मिएको शिशुको घाँटी थिचेर हत्या गरेको आरोपमा दोभाने–२ थुम्लुङकी ४० वर्षीया मैयाँ तामाङलाई प्रहरीले पक्राउ गरी बुधबार सदरमुकाम ल्याएको छ । पाँच वर्षअघि श्रीमान्को मृत्यु भएर एकल जीवन बिताउँदै आएकी मैयाँले अवैध गर्भधारण गरी जन्मेको नवजात शिशुलाई असार ९ गते हत्या गरेकी थिइन् । 

हत्या गरेपछि गाईलाई दिन राखेको घाँसको थ्रुपोमा उनकी छोरीले मृत अवस्थामा नवजात शिशुको लास भेटेकी थिइन् । मृत अवस्थामा नवजात शिशुको लास भेटेपछि छोरीले गाउँलेलाई खबर गरेकी थिइन् । मैयाँले बच्चा जन्माएपछि मुख थुनेर हत्या गरेको प्रहरीसँग स्वीकार गरेकी छिन् । कसको गर्भ बोकेको हो भनेर आरोपीले यकिन गर्न नसकेको प्रहरीले बताएको छ । 

मृतक नवजात शिशुको शवपरीक्षण बुधबार जिल्ला अस्पताल भोजपुरमा भएको छ । अनुसन्धानपछि प्रहरीले मैयाँलाई घरैबाट पक्राउ गरेको हो । आरोपी महिलालाई कानुनअनुसार कारबाही प्रक्रिया थालिने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पञ्चलाल गोलेले बताउनुभयो । रासस 

0 comments:

Post a Comment