Tuesday, June 14, 2016

सरकारप्रति कांग्रेस आक्रामक


असार १, काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले भूकम्पपछिको पुनर्निर्माण कार्यमा ‘राजनीतीकरण’ गरेको आरोप लगाएको छ । मंगलबार बसेको कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई ‘कार्यकर्ता नियुक्तिको अवसरको रूपमा प्रयोग गरिएको’ भन्दै असन्तुष्टि जनाएको हो । 
‘भूकम्प प्रभावित जनताका पुनर्निर्माणका आवश्यकताप्रति सरकार केन्द्रित हुनुको सट्टा गैर–सरकारी संस्थाहरू र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पनि कार्यकर्ता नियुक्तिको अवसरको रूपमा प्रयोग गरिएको छ,’ कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठले बैठकको निर्णयबारे भने, ‘प्राधिकरणमा प्रमुख प्रतिपक्षी दलका नेता उपाध्यक्ष रहने व्यवस्था छ । त्यसका बाबजुद प्राधिकरणको नीतिगत निर्णय प्रक्रियामा विपक्षी दलको सहभागिता गराइएको छैन ।’

प्राधिकरणलाई पार्टीगत स्वार्थमा प्रयोग गर्ने काम सरकारले गरेको उनले बताए । भूकम्प प्रभावितको नामावलीसमेत राजनीतिक आस्थाका आधारमा हटाउने र राख्नेजस्ता ‘असंवेदनशील काम’ भएको सूचना जिल्लाबाट आइरहेको भन्दै बैठकले त्यसो नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
बैठकले यसअघिको कांग्रेस नेतृत्वको सरकारले भूकम्प प्रभावितलाई २ लाख रुपैयाँ अनुदान दिन गरेको निर्णय कार्यान्वयन गर्न पनि माग गरेको छ ।
भूकम्प प्रभावितको यथार्थ तथ्यांकका आधारमा छुटेकाहरूका नामावली तत्काल समावेश गर्न, पुनर्निर्माण प्राधिकरण र गैरसरकारी संस्थालाई कार्यकर्ता भर्तीकेन्द्रका रूपमा प्रयोग नगर्न कांग्रेसले माग गरेको छ ।
‘भूकम्प प्रभावित जनताको माग र आवश्यकता पूरा गर्न प्रमुख प्रतिपक्षको हैसियतले संसद्मा सशक्त रूपमा प्रस्तुत हुने पनि बैठकको निर्णय छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।आजको कारोबार दैनिकमा खबर छ ।

0 comments:

Post a Comment