Thursday, June 9, 2016

डडेल्धुरा मासुमा आत्मनिर्भर


डडेल्धुरा, २७ जेठ । डडेल्धुरा मासुका लागि आत्मनिर्भर बन्दै गएको छ ।

पछिल्लो समय मासुजन्य पशु तथा पक्षीको व्यावसायिक पालन गर्ने कृषकको वृद्धिसँगै जिल्ला मासुका लागि आत्मनिर्भर बनेको हो । मासु व्यवसायबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका किसान पशुपक्षी पालनतर्फ आकर्षित भएका हुन् ।

जिल्ला पशुसेवा कार्यालयले आर्थिक तथा प्राविधिक सहयोग गर्न थालेपछि जिल्लामा मासुजन्य पशुपक्षीको पालन बढेको छ । जिल्लामा वार्षिक एक हजार ८७३ मेट्रिक टन मासुजन्य पशुपक्षी उत्पादन हुने गरेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।



केही वर्ष पहिलासम्म मासुका लागि खसीबोका र कुखुरा भारत तथा देशका अन्य जिल्लाबाट आयात हुने गरेको भए पनि पाँच वर्षयता जिल्लाबाट मासुजन्य पशुपक्षी निर्यात हुन थालेको पशु विकास अधिकृत खडकबहादुर शाहले बताउनुभयो । मासुजन्य पशुपक्षीलाई व्यावसायिक रुपमा सञ्चालन गर्न कृषकको आकर्षण बढ्दो छ । मासुका लागि जिल्ला आत्मनिर्भर बनेको कार्यालयले जनाएको छ ।

मासुबाट मनग्य आम्दानी हुन थालेपछि आफूहरु मासुजन्य कुखुरा (ब्रोइलर, गिरिराज) जातका पक्षी पालनतर्फ लागेको अमरगढी–५ का गणेश अवस्थीले बताउनुभयो । कुखुरा व्यवसायबाट एक मौसममा सबै खर्च कटाएर रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म आम्दानी हुने गरेको उहाँको भनाइ छ ।

उत्पादन गरेको कुखुरा डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्ला दार्चुला, बैतडी, बझाङ, डोटी, अछामसम्म बिक्री हुने गरेका छन् । कुखुरा व्यवसायीले जिउँदो प्रतिकुखुरा रु २३० देखि रु २७० सम्म बेच्ने गरेका छन् भने काटेर प्रतिकिलो रु ३७५ मा बिक्री गर्दै आएका छन् । खसीको मासु प्रतिकिलो रु ५५० देखि रु ६०० सम्ममा बिक्री गर्दैआएका छन् ।

जिल्लाबाट खसीबोका तराईका अन्य जिल्लामा निर्यात हुने गरेका छन् भने कुखुरा सुदूरपश्चिमका पहाडी जिल्लामा निर्यात भइरहेको बताइएको छ । रासस

0 comments:

Post a Comment