Thursday, June 9, 2016

परराष्ट्रमन्त्री थापा आज भारत जाँदै


जेष्ठ २८, काठमाडौं: उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा शुक्रबार दक्षिणी छिमेकी भारत भ्रमणमा जाँदैछन्। 
 
दक्षिणएसियाली विश्वविद्यालय नयाँदिल्लीमा हुने दीक्षान्त समारोहमा सहभागी हुन मन्त्री थापा त्यसतर्फ जान लागेका हुन्।दीक्षान्त समारोह शनिबार दिल्लीमा हुँदैछ। परराष्ट्रमन्त्री थापाले शुक्रबार साँझ भारतीय समकक्षी सुष्मा स्वराजसँग भेट्ने कार्यक्रम छ।

 
भेटमा नेपाल-भारत संयुक्त आयोगको नयाँ बैठकको मिति तय गर्ने विषयमा छलफल हुने परराष्ट्र अधिकारीले बताए। बैठक आगामी अगस्टको मध्यमा हुने सम्भावना छ। संयुक्त आयोगको बैठक यसअघि सन् २०१४ को जुलाईमा काठमाडौंमा भएको थियो।
 
भारत भ्रमणका क्रममा थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय प्रमुख प्रतिपक्षी कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धीसँग भेट्ने सम्भावना रहे पनि निश्चित भइनसकेको अधिकारीले बताए।
 
दिल्लीस्थित प्रभावशाली थिंक ट्यांक अब्जर्भर रिसर्च फाउन्डेसनले नेपालको संविधान निर्माणपछिको अवस्थाबारे आयोजना गर्ने अन्तक्रियामा पनि मन्त्री थापा सहभागी हुनेछन्। थापाले नयाँ संविधान प्रगतिशील र गतिशील दस्ताबेज भएकाले वार्ता र सहमतिका माध्यमबाट मधेस आन्दोलन हल हुने सरकारको धारणा त्यहाँ राख्नेछन्।
 
नेपालले अघिल्लो महिना राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण रद्द तथा भारतका लागि राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाएपछि दुई देशको सम्बन्धमा आएको चिसोपनाका बीच थापाको दिल्लीयात्रा तय भएको छ।
 
भारतले नेपालको नयाँ संविधानमा असन्तुष्टि व्यक्त गर्दै लगाएको पाँचमहिने नाकाबन्दीकै बीच मन्त्री थापा तीनपटक भारत भ्रमणमा गएका थिए। अक्टोबरमा परराष्ट्रमन्त्री नियुक्त भएका थापाको यो चौथो भारत भ्रमण हो।

0 comments:

Post a Comment