Monday, June 6, 2016

भोलिदेखि काठमाडौंमा संघीय गठबन्धनको रिले अनसन


काठमाडौं २४ जेठ – संविधान पुनर्लेखनको माग राखेर सिंहदरबार र बालुवाटार घेराऊ गर्दै राजधानी तताइसकेको संघीय गठबन्धनले भोलि मंगलबारदेखि काठमाडौंको शहीद मञ्चमा रिले अनसन सुरु गर्दैछ । जेठ २५ देखि सुरु हुने रिले अनसन असार मसान्तसम्म चल्नेछ ।

रत्नपार्कको छेउमा रहेको शहीद मञ्च (खुला मञ्च) मा दैनिक रुपमा झन्डै महिना दिन बढी चल्ने रिले अनसन प्रत्येक दिन बिहान ७ बजेदेखि सुरु भई साझ ७ बजे धन्यवाद मन्तव्यसहित समापन गरिनेछ । झन्डै ३० जनाको हाराहारीमा गठबन्धनका नेता कार्यकर्ताहरु दैनिक अनसन बस्ने सचिवालयले जनाएको छ ।
पहिलो दिन गठबन्धनका संयोजक उपेन्द्र यादवसहित घटक दलका शीर्ष नेताहरु शहीद मञ्चमा अनसन बस्ने संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । मंगलबारदेखि सुरु हुने अनसन स्थल व्यवस्थापनका लागि सबै तयारी पूरा भइसकेको श्रेष्ठले जानकारी दिए । अघिल्लो दिननै संयोजक यादवसहित गठबन्धनका शीर्ष नेताहरुले अनसन स्थलको अवलोकन गरेका छन् ।
प्रत्येक दिन ३ बजेदेखि अनसन स्थलमा सन्देशमूलक सांस्कृतिक कार्यक्रम गरिने बताइएको छ । अन्त्यमा गठबन्धनका एक जना शीर्ष नेताको धन्यवाद मन्तव्यसँगै दिनभरीको कार्यक्रम समापन हुनेछ । अनसनको पहिलो दिन दिउँसो २ बजे गठबन्धनले कार्यक्रम स्थलमा पत्रकार सम्मेलन आयोजना गरेको छ ।
संविधान पुनर्लेखनको माग गर्दै राजधानी केन्द्रीत आन्दोलनमा होमिएको संघीय गठबन्धनले यसअघि पहिलो चरणको कार्यक्रम अन्तर्गत सशक्त ढंगले सिंहदरबार र वालुवाटार घेराऊ गरिसकेको छ । दोस्रो चरणमा गठबन्धनले राजधानीको प्रभावशाली १० स्थानमा स्थानीय जनताको व्यापक सहभागितामा विरोध सभा सम्पन्न गरिसक्यो । र गठबन्धनको नेतृत्वमा संचालित संयुक्त राष्ट्रिय आन्दोलनको तेस्रो चरणमा रिले अनसन अघि सारिएको हो ।
मधेशी, आदिवासी जनजाति, खस, लिम्बूवान, मगरात, तमुवान, ताम्सालिङ, थारु, दलित, महिला, सीमान्तकृत, उत्पीडित लगायत राज्यद्वारा बहिष्करणमा पारिएका समुदायहरु सम्मिलित संघीय गठबन्धनले संविधान पुनर्लेखन गरी खोसिएको अधिकार संविधानमा सुनिश्चित गर्न सरकारसँग जोडदार माग गर्दै आएको छ । ‘उत्पीडित जनताको माग पूरा गराउन अन्तर्राष्ट्रिय स्तरमा अनसन जस्तो शान्तिपूर्ण कार्यक्रमलाई अत्यन्तै महत्वका साथ हेरिन्छ’– गठबन्धनका संयोजक उपेन्द्र यादवले भने, ‘त्यही भएर हामीले रिले अनसन रोजेका हौं ।’
देशभरका उत्पीडित जनता संयुक्त रुपमा महिनौंसम्म आन्दोलन गर्दा पनि सरकारले मागको उपेक्षा गरेकोले विश्व समुदायलाई सन्देश दिन र माग पूरा गराउन सरकारलाई दबाब दिने उद्देश्यले रिले अनसन सुरु गरिएको यादवले बताए ।

0 comments:

Post a Comment