Friday, June 10, 2016

सरकार संविधान कार्यान्वयनप्रति गम्भिर भएन– सभापति देउवा


काठमाडौँ, २८ जेठ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार संविधान कार्यान्वयनप्रति गम्भिर नभएको बताउनुभएको छ । 

संविधान कार्यान्वयन नहोस् भनेर मुलुकमा ठूलो षडयन्त्र हुन सक्नेतर्फ सचेत रहन आग्रह गर्दै सभापति देउवाले त्यसमा वर्तमान सरकार सजग हुन नसकेको आरोप लगाउनुभयो । संविधान कार्यान्वयनका लागि विसं २०७४ मङ्सिरसम्म स्थानीय, प्रादेशिक र सङ्घीय तीन तहका निर्वाचन हुनु अपरिहार्य रहेको र त्यसका लागि धेरै काम गर्नुपर्ने सुझाव दिँदै सभापति देउवाले भन्नुभयो – “यसमा सरकारले कुनै तयारी गरेको छैन ।” 

नेपाल नागरिक समाजको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले संविधान कार्यान्वयनका लागि सरकार बाहिर बसेर पनि सहमतिको वातावरण बनाउन सहयोग गर्न सकिने बताउनुभयो । 


नागरिकलाई देशको मालिक बनाउन सुशासन, आत्मविश्वास, स्वाभिमान र सम्मान आवश्यक पर्ने बताउँदै सभापति देउवाले भन्नुभयो, “शासनमा रहेका व्यक्ति सधैँ राम्रो शासन चलाउँछन् र जनताप्रति इमान्दार हुन्छन् भन्ने छैन ।” उहाँले सरकारलाई निगरानी, नियन्त्रण र सन्तुलन गर्न विपक्षीको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो । 

सरकारका मनपरी क्रियाकलापका विरुद्ध विपक्षीको भूमिका कमजोर भयो भनेर आफूकहाँ गुनासो आइरहेको जानकारी गराउँदै उहाँले प्रश्न गर्नुभयो – “यस्तो अवस्थामा काँग्रेस पनि सरकारमा गयो भने सामान्य जनताको हालत के होला ।” 

आफू सहमतिको सरकारका पक्षमा रहेको स्पष्ट पार्दै सभापति देउवाले सबै मिलेर बाँडीचुडी खानलाई भने सहमतिको सरकार हुन नहुने धारणा राख्नुभयो । 

केही समयअघि भएको सरकार परिवर्तनका बारेमा उहाँले विपक्षी पार्टी भनेको वैकल्पिक सरकार पनि हो भन्नुभयो । सत्ता गठबन्धनमा रहेको पार्टीले सरकारमा बस्दैनौँ, सरकार हटाउन चाहन्छाँै भनेपछि आफ्नो पार्टीले नयाँ सरकारका लागि कदम चालेको स्पष्ट पार्नुभयो । 

मधेसको समस्या समाधानका लागि आफू र आफ्नो पार्टीले पहल गरिरहेको जानकारी गराउँदै उहाँले मधेसी दलहरुले पनि शतप्रतिशत माग पूरा गराउने अडान र मधेसी दललाई केही पनि दिनुहुन्न भन्ने मानसिकता त्यागेर वार्तामा बसे समाधान हुने बताउनुभयो । 

कार्यक्रममा नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संविधानको कार्यान्वयनका लागि ठूला राजनीतिक शक्तिबीच सहमतिको आवश्यकता रहेको औँल्याउनुभयो । उहाँले नागरिक बलियो नभई लोकतन्त्र बलियो हुन नसक्ने भन्दै समुन्नत समाज निर्माणका लागि नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । 

नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले संविधान कार्यान्वयनले मात्र मुलुकको राजनीतिक सङ्क्रमणकालको अन्त्य हुने धारणा राख्दै यसमा नागरिक समाजको भूमिका पनि महत्वपूर्ण हुने बताउनुभयो । 

काँग्रेसका नेता विमलेन्द्र निधिले नेपाली जनता रैतिबाट जनता बनेको र जनताबाट नागरिक बन्ने क्रममा रहेको बताउँदै संविधान कार्यान्वयन सर्वाेपरी महत्वको विषय भएको बताउनुभयो । 

कार्यक्रममा काननुविद् निलाम्बर आचार्य, समाजका अध्यक्ष खेमराज रेग्मी, उपाध्यक्षद्वय प्रा अयुदा श्रेष्ठ र रिसव घिमिरे, समाजको काठमाडौँ शाखाका अध्यक्ष दीपक थापाले सरकार र समाजका विकृतिका विरुद्ध नागरिक समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो । 

कार्यक्रममा नागरिक अधिकारका लागि विशेष योगदन पु¥याएबापत विभिन्न व्यक्तिलाई पुरस्कृत गरिएको थियो भने नागरिक आवाजको सुशासन विशेषाङ्क विमोचन गरिएको थियो । रासस 

0 comments:

Post a Comment