Friday, June 10, 2016

अब ‘गीता प्रेस’को बिक्री केन्द्र नेपालमै


काठमाडौँ, २८ जेठ । प्रसिद्ध आध्यात्मिक प्रकाशन संस्था ‘गीता प्रेस’को नेपालमै पहिलो आधिकारिक बिक्री केन्द्र पशुपतिमा खुलेको छ । 

बिहीबार वैदिक विधिपूर्वक पूजा गरी केन्द्रको शुभारम्भ गरिए पनि शनिबार औपचारिक उद्घाटन गरिनेछ । यसअघि नेपालमा पुस्तक विक्रेताले गीता प्रेसका प्रकाशन ल्याई बिक्री गरे पनि आधिकारिक बिक्री केन्द्र थिएन । 

प्रेसले नेपालीलगायत १४ भाषामा मानव कल्याणका लागि आध्यात्मिक पुस्तक प्रकाशन गर्दै आएको छ । नेपालमा केन्द्रको सञ्चालक जयकिशन सारडा हुनुहुन्छ । पशुपति वनकालीस्थित माधवराज सुमार्गी स्मृति भवनको पसल नं ६, ७ र ८ मा केन्द्र खोलिएको उहाँले जानकारी दिनुभयो । 

“केन्द्रमा ९७ हजार ३०० नेपाली, संस्कृत, अङ्ग्रेजी र हिन्दी भाषाका पुस्तक छन्, प्रेसका १० पुस्तक नेपालीमा अनुवाद भएका छन्, प्रेसले प्रकाशन गरेका सबै पुस्तक नेपालीमा अनुवाद गराई नेपालीको कल्याण गर्ने केन्द्रको उद्देश्य हुनेछ” – उहाँले भन्नुभयो । 

प्रेसले विसं २०६२ मा ‘रामचरितमानस’ र ‘मानव मात्रको कल्याणका लागि’ गरी दुई पुस्तक नेपालीमा अनुवाद गरेको थियो भने भूकम्पपछिको आठ महिनामा अन्य आठ पुस्तक अनुवाद गरिएको छ । अनुवाद गरिएका आठ पुस्तकमा ‘श्रीरामचरितमानस सुन्दरकाण्ड’, ‘शरणागति’, ‘श्रीहनुमानचालिसा’, ‘आदित्यहृदयस्तोत्र’, ‘श्रीनारायणकवच’, ‘रामरक्षास्तोत्र’, ‘गजेन्द्रमोक्ष’ र ‘अमोघ शिवकवच’ छन् । नेपाली अनुवाद गरिएका पुस्तकमध्ये ‘शरणागति’ वाल्मीकि विद्यापीठका प्राध्यापक पद्मप्रसाद भट्टराईले गर्नुभएको हो भने अन्य नौ पुस्तक केदारनाथदासले गर्नुभएको हो । 

केन्द्रको स्थापनापछि नेपालमा भारतीय धार्मिक पर्यटकको भ्रमण पशुपति क्षेत्रमा अझ बढ्ने केन्द्र प्रमुख सारडाको विश्वास छ । 

यसैबीच, सङ्घले भूकम्पपछि सिन्धुपाल्चोकको भीमटारमा ११८ र जलवीरेमा ६५ घर निर्माण गरी स्थानीयवासीलाई हस्तान्तरण गरेको र धादिङमा पनि १५ घर बनाउने क्रममा रहेको जनाएको छ । जनाइएको छ । 

भूकम्पपछि आध्यात्मिक पुस्तक किन्नेको सङ्ख्या बढ्न थालेको कमलपोखरीमा गीता प्रेसका पुस्तक बिक्री गर्दै आउनुभएका रोशन अधिकारी बताउनुहुन्छ । “भूकम्पपछि दश जोड दुईमा अध्ययनरत किशोर–किशोरी पनि आध्यात्मिक पुस्तक किन्न आउन थालेका छन्” – उहाँले भन्नुभयो । 

विसं १९८० मा भारतको गोरखपुरमा श्रीजयदयालजी गोयन्दकाले गीता प्रचार गर्ने उद्देश्यले प्रेसको स्थापना गर्नुभएको हो । प्रेसले हालसम्म ६० करोड ४६ लाख आध्यात्मिक पुस्तक १४ भाषामा प्रकाशन गरेको जनाइएको छ । हाल नेपाललगायत भारतमा समेत प्रेसका २३ बिक्री केन्द्र छन् । रासस 

0 comments:

Post a Comment