Monday, June 13, 2016

मलाई साढे सातको दशा लाग्दैन, शनि मेरो मित्र होः प्रधानमन्त्री ओली


३१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ठाउँ र परिस्थिति अनुसार भाषण गर्न माहिर छन् । पछिल्लो समय त उनको चोटिलो प्रहार र उखान टुक्का मिसाएर भाषण गर्ने शैलीको धेरै फ्यान नै भएका छन् ।
सोमबार प्रधानमन्त्री ओली स्कुल अन एस्ट्रोनोमी एण्ड स्पेश साइन्सको उदघाटन गर्न हिमालयन होटल पुगे ।
आयोजकले टेलिस्कोपबाट शनि ग्रह हेर्ने निम्तो दिए । विज्ञान सम्वन्धि कार्यक्रम भएनि आयोजकले प्रधानमन्त्रीलाई बोलाउन शनिलाई हेर्‍यो भने साडे सातको दशा लाग्दैन भन्ने जनविश्वास रहेको समेत भने  ।
आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले त्यसको जवाफ दिन भ्याइहाले । आफू शनिबार जन्मिएकाले शनि आफ्नो मित्र भएको भन्दै उनले ठट्टा गरे ।
मानिसले शनिलाई हेर्दा केही नहुने भन्दै प्रधानमन्त्री ओलीले भने, ‘हामीले पो शनिलाई हेर्ने हो, शनिले हेर्नै सक्दैन किनकी उसँग टेलिस्कोप नै छैन ।’
ज्योतिषीहरुले शनिको दशा लाग्छ भनेर जप, ध्यान, पूजाआजा गर्न सल्लाह दिने गरे भन्दै उनले शनिको दशाले शनिबार जन्मिएका आफूलाई केही नहुने बताए ।

प्रधानमन्त्री ओलीले अहिले अन्तरीक्षमा रकेट पठाउने महत्वाकांक्षा राख्न जरुरी नभएको बताए । विज्ञान र प्रविधिविना मुलुकको विकास कल्पना गर्न नसकिने उनले बताए ।
प्रधानमन्त्री ओलीले नेपाललाई सिंगापुर जस्तो नभई नेपाल जस्तै बनाउन सरकार लागिपरेको बताए । विज्ञान प्रविधि क्षेत्रमा उल्लेख बजेट छुट्याउन नसकेको स्वीकार गर्दै उनले भने, ‘जुत्ता पनि फाटेको, कपडा पनि फाटेको, पाउडर मात्र लगाएर के काम । सबै क्षेत्रको विकास गर्दैर् जानुपर्छ ।’

विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्राहालय विकास समितिको आयोजनामा गरेको स्कुल अन एस्ट्रोनोमी एण्ड स्पेश साइन्स पाँच दिनसम्म चल्ने छ ।

0 comments:

Post a Comment