Monday, June 6, 2016

चौतारा–सिपाघाट सडक कालोपत्रे गरिने


चौतारा, २५ जेठ । सिन्धुपाल्चोकको सदरमुकाम चौतारादेखि सिपाघाटसम्मको २६ किमी सडकलाई कालोपत्रे गरिने भएको छ । 

विश्व बैंकको आर्थिक सहयोगमा आगामी आव ०७३÷७४ को असोजदेखि सडकलाइ स्तरोन्नति गरी ओटासिल पिच गरिने भएको हो । 


सडकको दायाँबायाँ १०–१० मि कायम गरी विस्तृत सर्भेक्षण भइरहेको जिल्ला प्राविधिक कार्यालयका प्रमुख डिभिजन इन्जिनियर पुष्प रञ्जितले बताउनुभयो । विसं २०३२ मा मेलचौरदेखि तत्कालीन सानोसिरुबारी गाविस भवनसम्मको तीन किमी सडकलाई जिप गुड्न सक्ने गरी जनश्रमदानबाट निर्माण गरिएको थियो । 

बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि २०४९ सालमा जिल्ला परिषद्ले जिल्लास्तरीय सडकका रुपमा स्तर निर्धारण गरेको थियो । काठमाडौँदेखि भीमटारसम्म सिधा बस सेवा सञ्चालन हँुदै आएको सो सडकले काभ्रेपलाञ्चोकको सिपाघाटलाई जोडेको छ । इन्द्रावती नदीमा पक्की पुल बनेसँगै निकट भविष्यमा भक्तपुरको नगरकोटसँग जोडिने सो सडक चौताराबाट काठमाडौँसँग पुग्ने छोटो दूरीको हुने छ । 

विसं २०५४ मा बस सञ्चालन हुने गरी पाँचदेखि छ मि चौडाइमा निर्माण गरिएको सो सडकलाई आव ०६०÷६१ र ०६१÷६२ मा स्वीस सरकारको सहयोगमा जिविसको डिआरएसपी कार्यक्रमअन्तर्गत करिब रु दुई करोडमा तार जाली तथा सोलिङ समेत गरिएको थियो । उक्त सडकखण्डमा पर्ने झ्याँडीखोलामा हाल पक्की पुल निर्माण भइरहेको छ । 


हाल सडकका लागि १०–१० मि आवश्यक पर्नु भन्नु त्यति सान्दर्भिक नभएको चौतारा सिपाघाट मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताउनुभयो । 

0 comments:

Post a Comment