Friday, June 10, 2016

आइएसको निशानामा युरोकप, आणविक आक्रमणको खतरा


लण्डन: एउटा चर्चित अन्तर्राष्ट्रिय थिङ्क ट्याङ्कले फ्रान्समा आजबाट शुरु हुने युरोकप फुटबल प्रतियोगिता आइएसको निशानामा रहेको भन्दै सचेत गराएको छ । 
 
शुक्रवारबाट शुरु हुने युरो कपका खेलहरु ११ जुलाईसम्म फ्रान्सका विभिन्न सहरमा हुनेछन् । अन्तर्राष्ट्रिय लग्जेमबर्ग फोरमले युरोकप फुटबल आइएसको निशानामा रहेको भन्दै सजग रहन चेतावनी दिएको हो ।

फोरमले आइएसको आणविक आक्रमणको सबैभन्दा बढी खतरा यूरोपलाई रहेको जनाउँदै आइएसले ठूलो परिमाणामा आणविक हतियार बनाएको दाबी गरेको छ । 
 
फोरमका प्रमुख मोसे कन्तोरका अनुसार आइएसले आणविक हतियारमार्फत यसअघि नै सिरियामा आक्रमण गरिसकेको छ । 
 
'सिरियामा सफल आक्रमण गरिसकेकाले आइएस अब युरोपमा आणविक आक्रमण गरेर आफ्नो अभियान अघि बढ्न चाहन्छ', उनले भनेका छन्, 'पूर्व सोभियत युनियनमा न्यूक्लियर रिसर्च सेन्टरको सुरक्षा प्रणाली कम्जो छ । यसको मतलब युरोपको पश्चिमी भूभागमा रहेको कुनै देशको राजधानीमा 'डर्टी बम' आक्रमणको सम्भावना बढी रहेको छ ।'
 
यो चेतावनी दिने फोरमका सदस्यहरुमा रसिया र पश्चिमी देशका पूर्व सरकारी मन्त्री र उच्च अधिकारीहरु सामेल रहेका छन् । 
 
फोरमका सदस्यहरुले स्पष्ट शब्दमा आइएसका आतंककारीहरुबाट फ्रान्समा युरो २०१६ फुटबल प्रतियोगिताका क्रममा आक्रमण गर्न सक्ने चेतावनी दिएका हुन् । 
 
तर यो फोरमले युरोकप प्रतियोगिताका क्रममा आइएसले फ्रान्समा आणविक आक्रमण गर्न सक्ने सम्भावनाबारे भने केही बोलेको छैन । 

डा. कन्तोरले दुई महिनाअघि ब्रसेल्समा आक्रमण गर्ने इस्लामिक स्टेटले एक बेल्जियन आणविक भट्टीको सुरक्षा व्यवस्थाबारे निगरानी गरिरहेको सूचना आएको जनाएका छन् । 
 
एमस्टर्डममा एक अन्तर्राष्ट्रिय कार्यशाला क्रममा कन्तोरले भने, 'आइएसले बेल्जियन आणविक पावर स्टेशनसम्म पुग्ने पहिले पनि कोशिस गरेको छ । यसबाट पनि उसको आगामी रणनीतिबारे बुझ्न सकिन्छ ।'
 
उनले आइएसले आणविक भट्टी फुटाउन सफल भयो भने यसले दिने घातक परिणामको कल्पना पनि गर्न नसकिने बताएका छन् । 'यदि आइएसले आणविक पावर स्टेशनलाई पुरानो तरिकाबाट विस्फोट गराउन सफल भयो भने यसबाट निस्कने घातक परिणाम पुरै युरोपले झेल्नुपर्ने हुन्छ', उनले भनेका छन् । 
 
फोरमका सदस्य तथा पूर्व ब्रिटिश रक्षा सचिव डेस ब्राउनले आणविक आतंकवादको खतरा धेरै अहम र जटिल मुद्दा भएको बताएका छन् । 
 
'यस खतरालाई रोक्नका लागि अन्तर्राष्ट्रियस्तरमा सामूहिक प्रयास गर्नुको जरुरी भइसकेको छ', उनले भनेका छन्', 'आइएसले आणविक हतियारमाथि कब्जा गरेर त्यसको प्रयोग गर्न खोजिरहेको कुरामा कसैले आश्चर्य मान्नुपर्दैन ।'

आइएसले लामो समयदेखि आणविक हतियार बनाउने कच्चा पदार्थ हात पार्ने विकल्पबारेमा तीब्ररुपमा खोजी गरिरहेको सूचना आफूहरुसँग रहेको उनले बताए । 
 
उनका अनुसार आइएसले इराकको मोसुल सहरमा कब्जा गरेपछि त्यहाँ रहेको युरेनियममाथि पनि कब्जा जमाएको थियो । 
 
बेल्जियमको राजधानी ब्रसेल्सको विमानस्थदल र एक मेट्रो स्टेशनमा यसै साल मार्च २२ मा आइएसले विस्फोट गराइ आक्रमण गरेको थियो । यो घटनामा कम्तिमा ३५ जनाले ज्यान गुमाएका थिए भने २ सयजना भन्दा बढी घाइते भएका थिए । 
 
यो आक्रमणपछि पुरै युरोपभरी सुरक्षाव्यवस्था अत्यन्तै कडा पारिएको थियो । यस हमलाले युरोपका सबै देशलाई आइएसविरुद्ध एकजुट बनाएको थियो । 

0 comments:

Post a Comment