Monday, June 6, 2016

आयातीत वस्तु सिधै भन्सारमै चेकजाँच गर्न सुझाव


जेठ २५ काठमाडौं–तेस्रो मुलुकबाट आयातीत वस्तु सिधै नेपालको सुक्खा बन्दरगाह वा भन्सार कार्यालयमै चेकजाँचको व्यवस्था गर्न सरोकारवालाले सुझाव दिएका छन् । तेस्रो मुलुकबाट आयातीत सामान भारतका विभिन्न स्थानमा चेकजाँच गर्दा ढुवानी लागत बढी लाग्ने भएकाले सिधै नेपालको सुक्खा बन्दरगाहमा चेकजाँचको व्यवस्था गर्न उनीहरूले जोड दिएका हुन् ।

साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भाइरोमेन्ट (साउती)का अध्यक्ष पोषराज पाण्डेले वैदेशिक व्यापारमा वस्तुका लागत घटाउन तेस्रो मुुलुकबाट आयात हुने वस्तु सिधै नेपालका सुक्खा बन्दरगाहमा मात्र चेकजाँचको व्यवस्था मिलाउनुपर्ने बताए ।
“तेस्रो मुलुकबाट आयात हुने वस्तु भारतको कोलकाता बन्दरगाहसम्म आउँछ,” सोमबार राजधानीमा गरिएको नेपाल–भारत व्यापार अन्तक्र्रियामा उनले भने, “सीआईएफ नेपालको सुक्खा बन्दरगाह भए कोलकातामा कुनै कागजी प्रक्रिया गर्नुपर्दैन । ढुवानी छिटो भई लागत घट्छ ।”
सीआईएफ नेपाल गर्न अन्तरराष्ट्रिय रूपमा नेपालको सुक्खा बन्दरगाहमा म्यापिङ गर्नुपर्छ भने भारतसँग पनि सम्झौता गर्नुपर्ने हुन्छ । नेपालसम्म ढुवानी र बिमाको खर्च उत्पादक कम्पनीले नै बेहोर्छ । आजको कारोबार दैनिकमा खबर छ ।

0 comments:

Post a Comment