Tuesday, June 7, 2016

पेट-सिटी स्क्यान मेसिन नेपाल भित्रियो, क्यान्सर परिक्षण सहज हुने


२५ जेठ, काठमाडौं । लामो प्रतिक्षा पछि क्यान्सर परिक्षणका लागि आवश्यक पर्ने पेट-सिटी स्क्यान (पोजिट्रोन इमिसन टोमोग्राफी) मेसिन नेपाल भित्रिएको छ । भारतको चेन्नईमा अवस्थित सुरिया हस्पिटलको सहकार्यमा सुरिया डाइगनोस्टिक सेन्टरले नेपालमै पहिलो पटक यो मेसिन भित्र्याएको हो ।

करिब १२ करोड रुपैयाँ लगानीमा सेन्टरले उक्त मेसिन नेपाल भित्र्याएको हो । यसको जाँचको लागि प्रति व्यक्तिलेे सत्तरी हजार रुपैया खर्च गर्नु पर्नेछ । नेपालमा दक्ष जनशक्ति हुदाँहुँदै पनि मेसिन अभावमा अधिकांश नेपाली थप उपचारका लागि भारत, बैंकक, सिंगापुर लगायतका देश जान बाध्य थिए । मेसिन अभावमै गत वर्ष पूर्व राष्ट्रपति रामवरण यादव पनि क्यान्सर परिक्षणका लागि जापान पुगेका थिए ।
करिब एक महिना पहिले जडान गरिएको यस मेसिनद्वारा सेन्टरले हालसम्म सात जना क्यान्सर रोगीको पेट-स्क्यान गरिसकेको छ । सेन्टरका अनुसार यो मेसिनद्धारा क्यान्सररोगको पहिचान गर्न, विरामीको अवस्थाबारे जानकारी लिन मद्दत पुग्छ ।
त्यसैगरी यस रोगमा प्रयोग भएको औषधी शरीरमा प्रभावकारी भए नभएको तथा शरीरमा क्यान्सरको कण भए नभएको पत्ता लगाउने, तथा मुटु रोग तथा विभिन्न खाले दिमागको रोगको अवस्था जान्न पनि सघाउ पुर्‍याउने प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सेन्टरका अनुसार क्यान्सर पीडित व्यक्तिमा कुन तहको क्यान्सर भएको छ र त्यो कुन अवस्थामा छ भनेर जाँच गर्न यस मेसिनको प्रयोग गरिन्छ । त्यसको लागि विरामीका शरीरमा इन्जेक्सन मार्फत औषधी हालिन्छ ।
‘केही समयपछि शरीरमा भएका कोषिकाले औषधी सोसेको आधारमा उक्त ठाउँमा क्यान्सर भए/नभएको तथा कुन अवस्थामा भएको पत्ता लगाइन्छ’, सेन्टरकी प्रमुख कार्यकारी अधिकृत तथा रेडियोलोजिष्ट डा. कृताञ्जली कोइरालाले  भनिन् ।

0 comments:

Post a Comment