Thursday, August 6, 2015

आत्मघाती आक्रमणमा आठको मृत्यु


काबुल (अफगानिस्तान), २१ साउन । अफगानिस्तानको पूर्वी भागमा पर्ने प्रान्तीय सरकारको कार्यालयको बाहिरी इलाकामा बिहीबार भएको एक आत्मघाती बम विस्फोटमा परी कम्तिमा आठ व्यक्तिको मृत्यु भएको समाचार छ । सो विस्फोटमा परी अन्य १२ जना घाइते भएका जनाइएको छ । अफगानिस्तानको राजधानी काबुल नजिकै बिहीबार भएको यस विस्फोटमा परी तीन प्रहरी अधिकारी र पाँच सर्वसाधारणको मृत्यु भएको लोगार प्रान्तको गभर्नरका प्रवक्ता दिन मोहमाद दार्वीसले बताउनुभएको छ ।सो विस्फोटमा परी घाइते भएकामध्ये पाँचजना प्रहरी अधिकारी रहेका पनि दार्वीसले बताउनुभएको छ । यस आक्रमणको तालिवान आतङ्ककारी समूहले जिम्मा लिएका छन् । पछिल्लो समयमा तालिवानका नेता मुल्लाह मोहमाद ओमारको निधनको पुष्टि भएपछि तालिवानले बदलास्वरुप आक्रमणहरु सुरु गरेका छन् । अफगान अधिकारीहरुले ओमारको दुई वर्ष अगाडि नै पाकिस्तानको एक अस्पतालमा मृत्यु भएको पुष्टि केही दिन अगाडि गरेका थिए ।


अफगानिस्तानमा सन् २०१५ को पहिलो छ महिनाभित्रमा भएका सशस्त्र द्वन्द्व र युद्धमा परी एक हजार ५९२ सर्वसाधारणको ज्यान गएको अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घीय मिसनले बुधबार प्रकाशन गरेको प्रतिवेदनमा जनाएको थियो । ‘प्रोटेक्सन अफ सिभिलेन्स इन आर्मड् कन्फ्लिक्ट इन अफगानिस्तान फर २०१५’ नामको सो प्रतिवेदन मानवअधिकारवादी एक समूह युनाइटेड नेसन्स् असिस्टेन्स इन अफगानिस्तान (युएनएएमए) ले तयार पारेका थिए । सो नागरिक हताहतको प्रमुख कारण तालिावन र अन्य सरकार विरोधी तत्वहरु भएका युएनएएमएले दाबी गरेको छ । सो प्रतिवेदन गत जनवरी १ बाट ३० जुनसम्मको भएको जनाइएको छ । उक्त अवधिभर घाइते र मृतक सर्वसाधारण गरी चार हजार ९२१ रहेको जनाइएको छ । तीमध्ये एक हजार ५९२ जना मारिएका र तीन हजार ३२९ जना घाइते भएका सो प्रतिवेदनमा बताइएको थियो ।

0 comments:

Post a Comment