Sunday, August 9, 2015

दुबइमा नेपालीको चक्कु प्रहारबाट अर्का नेपालीको मृत्यु


यूएइ(दुबइ) , साउन २५ - संयुत्त अरब एमिरेट्स यूएइको दुबइमा एक नेपालीको चक्कु प्रहारबाट अर्का नेपालीको ज्यान गएको छ । चक्कु प्रहारबाट देबचुली १ नवलपरासीका रामबाहादुर लामाको गएको शुक्रबार राती ज्यान गएको हो ।  दुबइमा रहेको अल ओबेत क्युविसी कम्पनीमा ४ बर्ष पहिलेदेखि कार्यरत लामाको सोही कम्पनीमा सँगै काम गर्ने झापाका महेश उप्रेती (नाम परिवर्तन)ले चक्कु प्रहार गरेर हत्या गरेका हुन् । शुक्रबार यूएइको सार्वजनिक छुट्टीमा कम्पनीकै मजदुर क्याम्पमा जाँडरक्सी खाएपछि भएको सामान्य झगडाले उग्र रुप लिंदा नेपालीले चलाएको छुरी लागेर अर्का नेपालीको ज्यान गएको कम्पनीमा सगैं कार्यरत ओम लामाले उज्यालोलाई जानकारी दिनुभयो ।  घटनामा संलग्न भएको आरोपमा सोही कम्पनीमा कार्यरत अन्य ६ जना नेपालीलाई प्रहरीले शुक्रबार राती नै अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । साथीहरुबीच सामान्य बिषयमा विवाद भएको तथा आफ्नो कुरामा सहमत नभएको भन्दै उप्रेतीले आवेशमा चक्कु प्रहार गर्दा लामाको पेट र शरीरका अन्य भागमा लागेको थियो ।  मृतक लामा र उनको हत्यामा आरोपित उप्रेती ४ वर्ष यता दुबइमा रहेको कम्पनीको मजदुर क्याम्पमा एउटै कोठामा बस्दै आएका थिए । कम्पनीमा ड्राइभर पेशामा कार्यरत मृतक लामा र हत्या आरोपित उप्रेती पहिले निकै मिलनसार भएकाले आफ्नै सहकर्मीले यसरी हत्या समेत गर्न सक्ला भन्ने कल्पना पनि नगरेको सोही कम्पनीमा कार्यरत अन्य नेपालीहरु बताउँछन ।
अधिकारिक जानकारी आएको छैन : दुतावास  यूएइको आबुधाबी स्थित नेपाली दुतावासले नेपालीको ज्यान गुमेको खबर संचारकर्मीमार्फत पाए पनि अधिकारिक जानकारी दुतावासलाई प्राप्त नभएको बताएको छ । आपराधिक घटनामा गहिरो छानविनपछि मात्र दुतावासलाई अधिकारिक जानकारी गरिने बताउँदै त्यसो गर्न एक सातादेखि ६ महिनासम्म समय लाग्न सक्ने दुतावासका द्वितिय सचिव कृष्ण अर्यालले बताउनुभयो ।
यूएइमा रहेका नेपालीको इतिहासमा नेपालीले नै नेपालीलाई हत्या गरेको आरोप लागेको उस्तै प्रकृतिको यो घटना तेस्रो हो । नेपाली बीचको झगडाले उग्र रुप लिंदा अर्का नेपालीको ज्यान गएको यस् घटनाले नेपालीको इज्जतमाथि दाग लगाउने काम भएको यूएईमा कार्यरत नेपालीहरुको भनाइ छ ।
अब के हुन्छ  ?यूएइको कानुनले ज्यान जाने सम्मको घटनामा संलग्नलाई मृत्युदन्डको सजाय दिने गर्छ । त्यसका लागि हत्या गरेको प्रमाणित हुनु पर्नेछ । मृत्युदण्डको सजाय सुनाइएको मुद्दालाई पुनरावेदन गर्न पाउने अवसर पाइयो र उच्चस्तरीय पहल भए मात्र ब्लडमनिको बिषयले प्रवेश पाउने छ । यस बिषयमा मृतक र हत्यामा संलग्नको पारिवारबीच सहमती भए मात्र आरोपितलाई सजाय मिनाहा हुन सक्ने कानुनी व्यवस्था छ । यूएइमा मदिरा प्रयोगमा रोक लगाइएको छ । घटनामा संलग्नले जाँडरक्सी सेवन गरेकोले समस्या झन जटिल बन्न सक्ने छ । घटनाको यथार्थ जानकारी प्रशासनबाट अधिकारिक प्राप्त भएपछि रिपोर्टकै आधारमा दुतावासले अन्य प्रक्रिया सुरु गर्छ । मुद्दा अदालतमा पुग्यौ भने दुतावासले पनि खासै केही गर्न नसक्ने जानकारहरु बताउँछन ।

0 comments:

Post a Comment