Monday, June 6, 2016

राष्ट्रिय एकताबाट मात्रै देशको समस्या समाधान र विकास सम्भव ः पूर्व राष्ट्रपति यादव


दाङ, २४ जेठ । पूर्वराष्ट्रपति डा रामवरण यादवले संविधानप्रति असन्तुष्टि जनाएकाहरुको मागलाई लोकतान्त्रिक विधिमार्फत पूरा गर्नुपर्ने बताउनुभएको छ । 

त्रिभुवन नगर जेसिज र दाङ महिला जेसिजले आज घोराहीमा आयोजना गरेको युवा र गणतान्त्रिक संस्कृति विषयक कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति डा यादवले संविधान संशोधनको बाटो खुल्ला रहेको भन्दै विधिमार्फत असन्तुष्टहरुको माग पूरा गर्नुपर्ने बताउनुभएको हो । 

मधेसी, थारु र जनजातिहरुको मागलाई मुख्य दलहरुले गम्भीर रुपमा लिँदै लोकतान्त्रिक विधिमार्फत पूरा गर्न संविधान संशोधनको बाटो खुल्ला रहेको डा यादवको भनाइ छ । 


नयाँ संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको भन्दै उहाँले विधि र संस्कारलाई पालना गर्दै अघि बढ्नु नै संविधानको मर्म हुने धारणा राख्नुभयो । 

राष्ट्रिय एकताबाट मात्रै देशको समस्या समाधान र विकास सम्भव हुने उहाँको भनाइ छ । संविधानले दिएको अधिकारलाई प्रयोग गर्दै लोकतान्त्रिक संस्कारको विकास गर्नुपर्ने आजको आवश्यकता भएको डा यादवले बताउनुभयो । रासस 

0 comments:

Post a Comment