Thursday, August 6, 2015

प्रहरी घेरामा हिन्दू प्रतिनिधिले डोमको हातबाट पानी पिए


सिरहा , साउन २१– विश्व हिन्दू महासंघका प्रतिनिधिहरुले सिरहा जिल्लाको नैनपुर गाविसमा बस्ने डोम परिवारका हातबाट पानी पिएका छन् । हिन्दु संस्कृतिमा ‘दलित’का हातको पानी चलाउनु पापकर्म होइन भन्ने सन्देश दिँदै हिन्दु महासंघका प्रतिनिधिले सार्वजनिक इनारबाट पानी उभाउन लगाएर पिएका हुन् । इलाका प्रहरी कार्यालय लहानका डीएसपी उमाप्रसाद चतुर्वेदीसहितको टोली दिउँसो १ बजे नैनपुर पुगेको थियो । नैनपुर गाउँका पीडित डोम परिवारले प्रहरीको रोहबरमा बुधबार सार्वजनिक इनारबाट पानी झिकेका थिए । मानवअधिकार आयोगसमेतको उपस्थितिमा गाउँलेहरुसित भएको छलफलमा पानी झिक्न दिने मौखिक सहमति भएको स्थानीय दलित अगुवा रामचन्द्र मलिकले बताए । सहमतिपछि पुलकितकी श्रीमतीले इनारबाट पानी झिकेकी थिइन् । विश्वहिन्दू महासंघका प्रतिनिधिहरु गएर रामचन्द्रले झिकेको पानी सबैका सामु पिएका थिए । इनारको पानी प्रयोग गर्न दिने सहमति भए पनि सम्भावित तनावलाई मध्यनजर गर्दै अहिले ५ जना प्रहरीले इनारमा पहरा दिइरहेका छन् । यद्यपि प्रहरी फर्केपछि फेरि पुरानै स्थिति दोहोरिने र डोम परिवार झन् असुरक्षित हुने चिन्ता मलिकले व्यक्त गरे । ‘उनीहरुले प्रहरी गएपछि हेरौं भनेर हामीलाई धम्क्याइरहेका छन’, उनले भने । आफूले हाट बजारको दिन बजार सरसफाइ गरेर गुजारा गर्दै आएकोमा गाउँलेहरुले अब आइन्दा काम गर्न नदिने चेतावनीसमेत दिएको उनको गुनासो छ । बर्षौ देखि भइरहेको जातीय छुवाछुत बारे मंगलबार विभिन्न सरोकारवाला पक्षले अनुगमन गरेका थिए ।

जातीय विभेदका कारण स्थानीयले मल्लिक(डोम) दुइ घर परिवारलाई छेऊमै रहेको इनारबाट पानी खान नदिएको बारे संचारमाध्यममा सामाचार प्रकाशित भएपछि विभिन्न सरोकारबालाले घटनास्थल अनुगमन गरेका हुन् । राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहा, स्थानीय अधिकारकर्मी र संचारकर्मीहरुले घटनाको अनुगमन गरेका थिए । राष्ट्रिय मानवअधिकार आयोगका जनकपुर कार्यालय प्रमुख सुर्वण कर्मचार्य नेतृत्वको टोलीले घटनाबारे स्थलगत अध्ययन गरेका थिए । आयोगले मंगलबार अपरान्ह घटना स्थल पुगि दिपक मल्लिक परिवार र स्थानीयहरुसंग घटनाबारे जानकारी लिएका थिए । यस्तै, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक रामकृपाल साहले घटनास्थल अनुगमन गरेका छन । प्रहरी उपरीक्षक साहले आफूले घटनाबारे मंगलबार टेलिभिजनबाट थाहा पाएको बताए । उनले भने –‘टेलिभिजन हेर्दै थिए । संसदमा कुरा उठ्यो । अनि मात्रै थाहा पाए । थाहा पाएपछि घटनाबारे बुझ्न आइपुगे । पीडित र स्थानीयहरुसंग कुरा बुझेपछि उपरिक्षक साहले कसैलाई पनि जातीय विभेद नगर्न आग्रह गरे । अनुगमन गरेका टोलीलाई स्थानीयले आफूहरुले जातीय विभेद नगरेको बताएका छन् । उनीहरुले उक्त इनारमा दलित समुदायकै मुसहर र राम(चमार) ले पानी खाइरहेकाले जातीय छुवाछुत कसरी भयो भनेर दावी गरे । डुम परिवारलाई पानी खान नदिन एकमत देखिएका स्थानीय दलित समुदाय (मुसहर र चमार) ले डुम परिवार फोहोरी भएको र स्थानीय संग झै–झगडा गरिरहने भएकाले इनारमा आफैले पानी भर्न नदिएको बताउछन् । उनीहरु भन्छन् –‘उनीहरुलाई खानलाई हामीले इनारबाट पानी भरेर दिएकै छौ । तर फोहोर भाडा वर्तन र आफू पनि फोहोरी भएकाले उनीहरुलाई आफै इनारमा पानी भर्न नदिएका हौं ।’

0 comments:

Post a Comment