Wednesday, August 5, 2015

‘ड्रिम्स हेरेर मात्र अर्को खेल्छु’


काठमाडौं, श्रावण २१ - ‘होस्टेल’ बाट लाइमलाइटमा आएका अनमोल केसीलाई अब अभिनेता भुवन केसीको छोराको ट्याग भिराइरहनुपर्ने आवश्यकता छैन । डेब्यु फिल्मबाटै चर्चा कमाएका उनको दोस्रो फिल्म ‘जेरी’ पनि गतवर्ष राम्रो व्यापार गर्ने मुख्य तीन फिल्मको सूचीमा परेको थियो । कोरियन लुक्स, चकलेटी अनुहार, अग्लो कद, गोरो वर्णमा हसिलो मुस्कान पाएका अनमोल खासगरी टिन एजर्स युवतीका लागि डाइहार्ट फ्यान हुन् । तिनै डाइहार्ट फ्यानले अनमोललाई अब ‘ड्रिम्स’ भन्दा अघि देख्न पाउने छैनन् । बाबु भुवनकै डेब्यु निर्देशन रहेको उक्त फिल्ममा अनमोलले एकै व्यक्तिका तीन चरित्र निर्वाह गरेको बताए ।


‘फिल्ममा मैले लभरब्वाईदेखि विजनेसम्यान र जंकी फाइटरको तीन भिन्नाभिन्नै रूपमा देखिने प्रयास गरेको छु,’ अनमोलले भने । त्यसो त उनी यसअघिका दुवै फिल्ममा लभरब्वाईकै रूपमा रुचाइएका थिए भने यसपटक केही फरक गर्ने प्रयास गरेको पनि बताए । फिल्ममा आफू मात्रै निर्देशनमा नयाँ नभई कलाकार सबै नयाँ लिएका भुवनले अनमोलको परफर्मेन्सलाई उच्च तहको भनी प्रतिक्रिया दिए । उनले थपे, ‘फिल्ममा मैले केवल अनमोलमा मात्रै फोकस नभई हरेक कलाकारबाट उत्कृष्ट काम लिन खोजेको छु । त्यसमा अनमोलले पनि अहिलेसम्मको बेस्ट काम दिएको छ । फिल्म हेर्ने दर्शकले कसैको काममा पनि कम्प्लेन गर्दैनन् भन्नेमा म ढुक्क छु ।’

फिल्मका लागि माग उच्च भए पनि अनमोल भने धिमा गतिमा अघि बढिरहेका छन् । भन्छन्, ‘म एउटा फिल्म रिलिज भइसकेपछि त्यसमा दर्शकले दिने प्रतिक्रिया सुनेर मात्रै अर्कोमा काम गर्छु । अब पनि म ‘ड्रिम्स’ अघि कुनै फिल्ममा साइन गर्ने मनस्थितिमा छैन ।’ उनले फ्यानले धेरैभन्दा धेरै फिल्म खेलोस् भन्ने चाहना भए पनि अनावश्यक फिल्ममा देखिएर दर्शकको चाहनामा ठेस पुर्‍याउनुभन्दा बरु कम नै फिल्म खेलेको उचित ठान्छन् रे ।

0 comments:

Post a Comment