Monday, August 17, 2015

ओमान जाने भन्दै ढाँटेर कुवेत जान्छन् युवती


१ भदौ, काठमाडौं । गलत कागजात र विवरण देखाई कुबेत र सिंगापुर हिँडेका चार युवती आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। विमानस्थल प्रहरीले वैदेशिक रोजगारीमा ओमान जाने भन्दै ढाँटेर कुवेत जान लागेकी एक युवतीलाई पक्राउ गरेको हो भने सिंगापुर अध्यामगनले फर्काएका तीन युवतीलाई विमानस्थल अध्यागमन कार्यालयले पक्राउ गरेको हो।त्रिभुवन विमानस्थलस्थित अध्यागमन डेस्कमा ओमान जाने कागजपत्र देखाएकी कास्कीकी गीता दमाईंको साथबाट कुवेतको पेपर भिसा भेटेपछि प्रहरीले पक्राउ गरेको हो। सिंगापुर अध्यागमनले फर्काएका पाल्पाकी गंगा पोख्रेल, पोखराकी शान्ति गुरुङ र बुटवलकी विनिता कुँवर पनि पक्राउ परेका हुन्।पर्यटक भिसामा सिंगापुर उडेका यी युवतीको फर्कने टिकटलगायतका कागजपत्रमा शंका लागेपछि सिंगापुर अध्यागमनले फर्काएको छ ।
सिल्क एयरबाट सिंगापुर उडेका उनीहरूको फर्कने टिकट थाई एयरको पाएपछि सिंगापुर अध्यामगनले शंकास्पद भन्दै फिर्ता गरेको थियो। सिंगापुरबाट नेपाल फर्कन थाई एयरको सीधा उडान छैन।स्रोतका अनुसार उनीहरूसँग थाई एयरको टिकटसमेत नक्कली थियो।

बुटवलकी विनिताले भनिन्, ‘सिंगापुरबाट थाई एयरको उडान छ भनेर टिकट काटेका हौं तर रहेनछ। त्यसमै शंका गरेर सिंगापुर अध्यामगनले हामी तीनैजनालाई फर्काइदियो।’
अध्यागमनका एक उच्च कर्मचारीले भने, ‘भिजिट भिसामा उनीहरू कसरी सजिलै गए म आश्चर्यमा परेको छु। प्रहरी र अध्यागमनकै सेटिङमा उनीहरूलाई पठाइएको हुनुपर्छ।’ ती कर्मचारीले प्रहरी, सम्बन्धित एयरलाइन्सका कर्मचारी र प्रहरीको सेटिङबेगर भिजिट भिसामा कुनै पनि हालतमा जान नसक्ने दाबी गरे। अध्यामगन विभागले तीनैजना युवतीलाई धरौटीमा छाडेको छ। कुबेतको पेपर भिसासहित पक्राउ परेकी दमाईंलाई प्रहरीले थप अनुसन्धानका लागि महानगरीय अपराध महाशाखा टेकुमा पठाएको छ। विमानस्थलका वरिष्ठ प्रहरी उपरीक्षक भूपाल भण्डारीले ओमान जान लागेकी दमाईंको साथबाट कुवेतको पेपर भिसा पाइएपछि पक्राउ गरिएको बताए। अाजकाे अन्नपूर्ण पोस्टमा खबर ।

0 comments:

Post a Comment