Thursday, August 6, 2015

पैसा र मोबाइल लुट्न थाङ्पालधापका एक युवकको हत्या


मेलम्ची, २१ साउन । सिन्धुपाल्चोक जिल्लाको थाङ्पालधाप गाविस वडा नं ३ का एक युवकलाई कुटपिट गरी हत्यापश्चात् स्थानीय गुठेभिरबाट दुई सय मिटर तल फालिएको अवस्थामा बुधवार शव फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीले बताएको छ । गत मङ्गलबार मध्यराति थाङ्पालकोट गाविस–२, भिरखर्कको स्थानीय एक होटल नजिक ३६ वर्षीय भुपेन्द्र चापागार्इंलाई हत्या गरी गुठेभिरबाट फालिएको अवस्थामा स्थानीय गोठालाले शव देखेपछि गाउँलेलाई खबर गरेका थिए । गाउँलेले प्रहरीमा खबर गरेपश्चात् इप्रका मेलम्चीबाट खटिएको टोली तत्काल घटनास्थलमा पुगेको थियो । हत्यामा संलग्न चारैजनाको पहिचान भइसकेको र निजहरु फरार रहेकाले तीव्ररुपमा खोजी भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक चन्द्र थापाले बताउनुभयो । प्रारम्भिक अनुसन्धानअनुसार मृतकसँग रहेको मोबाइल र पैसा लुट्ने उद्देश्यले हत्या भएको हुनसक्ने थापाले जानकारी दिनुभयो । इप्रका मेलम्चीमा कारबाहीका लागि मृतकका छोरा प्रज्वल चापागाईंले जाहेरी दिएका छन् । जाहेरवाला प्रज्वलकी जन्मदिने आमाले गत वैशाखको भूकम्पमा परी ज्यान गुमाएकी थिइन् । हाल मृतकका दुई छोरामात्र रहेका छन् । घटना लुकाउन प्रयास गर्ने होटल सञ्चालिका मोतिमाया तामाङ र शर्मिला दोङलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले बताएको छ । मेलम्चीस्थित क्षेत्रीय अस्पतालमा शव परीक्षण गरी आज आफन्तलाई बुझाइएको छ ।


0 comments:

Post a Comment