Thursday, August 6, 2015

ठमेलका मसाज र स्पा सेन्टर व्यवस्थित र मर्यादित हुन थाले


 काठमाडौंका ठमेलमा रहेका मसाज पार्लर तथा स्पामा विदेशी मात्र होइन नेपाली ग्राहकहरुको पनि आजकाल घुइँचो लाग्न थालेको छ। उपत्यकामा रहेका मसाज तथा स्पा हाउस व्यावसायिक बन्दै गएका कारण नेपालीहरु पनि आउन थालेको व्यवसायीहरुले बताएका छन् ।

द्वन्दकालमा ह्वात्तै बढेका मसाज पार्लर तथा स्पाहरुको संख्या अहिले केहि घटेको छ। साथै अहिले  विभिन्न क्षेत्रमा व्यवस्थित मसाज पार्लर तथा स्पा समेत खुल्न थालेका छन्।  द्वन्दकालमा ठमेल क्षेत्रमा मात्रै २ सय ५० भन्दा बढी मसाज पार्लर तथा स्पाहरु खुलेका थिए । तर अहिले भने ठमेलमा ७५ वटा मात्रै मसाज पार्लर सञ्चालनमा रहेको नेपाल मसाज तथा स्पा संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

७५ वटा मसाज मध्ये ८० प्रतिशत मात्रै व्यवस्थित र मर्यादित ढङ्गले चलेको उनको भनाई छ। ठमेल पर्यटन विकास परिषद र मसाज व्यवसायीहरुले २०६८ सालमा यो क्षेत्रलाई व्यवस्थित गर्नको एक आचारसंहिता बनाएका थिए ।

आचारसंहिता लागु भएको नभएको बारेमा  नेपाल मसाज तथा स्पा संघले बेलाबेलामा अनुगमन गर्ने गरेको छ। प्रहरीले समेत यसमा  अनुगमन  गरिरहेको छ । नेपाल मसाज तथा स्पा संघ र अन्य नियमनकारी निकायको अनुगमन बढेपछि यो क्षेत्र व्यवस्थित बन्दै गएको अध्यक्ष श्रेष्ठको भनाई छ।

तर ठमेल पर्यटन विकास परिषदका अध्यक्ष रामशरण थपलियाले भने ठमेलका मसाज पार्लर तथा स्पाहरुमध्ये एक दर्जन मात्रै व्यवस्थित र मर्यादित भएको बताउँछन्। मसाज पार्लर अझैपनि यौनधन्दाको अखडाबाट मुक्त हुन नसेककोे उनको दाबी छ। कम लगानीमा खुलेका ठमेलका केहि मसाज पार्लरहरु अझै व्यवस्थित हुन नसकेको थपलियाले जानकारी दिए ।
त्यस्तै ठमेल पर्यटन विकास परिषदका सदस्य तथा रियल थेरापी  एण्ड ब्युटि प्वान्टका सञ्चालक भावी शर्माले भने उपत्यकामा सञ्चालित आठवटा स्पाहरु मात्रै व्यवस्थित रहेको बताए।
उनले रियल थेरापी  एण्ड ब्युटि प्वान्टका सञ्चालन गरेको १४ वर्ष पुगेको छ।
१४ वर्ष अघि काठमाडौंमा मसाज पार्लर चल्न नसक्ने देखेपछि उनले जोमसोममा मसाज पार्लर खोलेका थिए। सन् २००१ मा उनले जोमसोममा रियल थेरापी  एण्ड ब्युटि प्वान्ट खोलेका हुन्। एक वर्ष सम्म जोमसोममा सञ्चालन गरेपछि सन् २००२ मा भने उनले यसलाई काठमाडौंमा स्थानान्तरण गरेका थिए।

सुरुका दिनमा शत प्रतिशत विदेशी ग्राहकले मात्रै आफ्नो सेवा लिएको उनको भनाई छ। तर अहिले भने उनका कुल ग्राहक मध्ये ४० प्रतिशत भने नेपाली हुन्छन् । हेडेक, ज्वाइन पेन तथा ब्याक पेन भएका नेपाली ग्राहकहरु आफ्नोमा धेरैजसो आउने शर्माको भनाई छ।
सेतो पाटि बाट

0 comments:

Post a Comment