Wednesday, June 8, 2016

भारत-अमेरिका संयुक्त वक्तव्यमा नेपालको ‘शब्दै’ परेन


काठमाडौं, २७ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्विट्जरल्यान्ड हुँदै अमेरिका पुगेपछि नेपाली राजनीतिज्ञ तथा कूटनीतिज्ञहरूको एउटै मुख्य चासो थियो– मोदीले बेलायत, ब्रसेल्समा जस्तै नेपालबारे अमेरिकासँग मिलेर टिप्पणी गर्ने हुन् कि ? तर, यस पटक त्यस्तो हुन पाएन । मोदी भ्रमणलाई नियाल्दै आएका नेपाली सबैलाई दुई मुलुकबीच जारी ५० बुँदे संयुक्त वक्तव्य पढेपछि अलि ढुक्क अनुभूति भएको छ ।
औपचारिक भ्रमणका क्रममा वासिङटन रहेका मोदीले अमेरिकी राष्ट्रपति बाराक ओबामासँगको वार्तापछि जारी गरेको वक्तव्यमा नेपालको कुनै सन्दर्भमात्र होइन ‘शब्द’ नै परेन । यसबाट नेपाली राजनीतिज्ञ तथा कूटनीतिज्ञहरूले सहजता अनुभव गरेका छन् । परराष्ट्र मन्त्रालयका अधिकारीले कूटनीति ‘लबिङ’ तीव्र पारिएको र नेपालको मनसाय अमेरिकाले बुझिदिएकोमा खुसी व्यक्त गरे ।

भारतले पछिल्लो समय नेपालको संविधान अपूर्ण भन्दै आफ्नो कूटनीतिक लबिङ तीव्र पारेको थियो । उक्त कार्यले नेपाल र भारतको सम्बन्धमा चिसोपना आएको थियो । अमेरिका भ्रमणमा पनि भारतले त्यही प्रकारको सहकार्य गर्न सक्ने आशंका सबैमा थियो ।
भारतले त्यस्तो प्रयास गरेको कूटनीतिक स्रोतले बतायो । तर अमेरिकाले छिमेकीलाई साथमा लिएर आतंकवाद नियन्त्रण र विकास कार्य अघि बढाउनुपर्नेमा जोड दियो । कुनै पनि मुलुकको आन्तरिक मामिलामा तेस्रो पक्ष सहकार्यमा अमेरिका नरहेको सन्देश यसअघि नै दिएकाले संयुक्त वक्तव्यमा नेपाल शब्द नपरेको वासिङटनस्थित नेपाली नियोगका अधिकारीहरूको दाबी छ ।
अमेरिकी राजदूत अलाइना बी. टेप्लिजले दुई साताअघि त्रिभुवन विश्वविद्यालयमा दिएको एक प्रवचनमा नै त्यस्तो संकेत दिँदै भनेकी थिइन्, ‘हाम्रो हरेक मुलुकसँग आफ्नै प्रकारको सम्बन्ध हुन्छ । हामी परराष्ट्र मामिलामा कहिल्यै ‘आवटसोर्सिङ’ गर्दैनौं । नत्र किन नेपालमा हाम्रो दूतावास छ, यो बुझ्न जरुरी छ । नेपाल हाम्रो दक्षिण एसियाको पुरानो मित्र मुलुक हो । नेपाललाई हामी भारतीय आँखाबाट कहिल्यै हेर्दैनौं र हेरिएको पनि छैन ।’
आफू नेपाल आएदेखि यस्तै जिज्ञासा आउने गरेको बताउँदै आफ्नो धारणा राख्नुअघि नै बताएकी थिइन् । कान्तिपुर दैनिकमा चन्द्रशेखर अधिकारीले खबर लेखेका छन् ।

0 comments:

Post a Comment