Monday, June 6, 2016

क्षयरोगविरुद्ध कडा नयाँ औषधि


जेष्ठ २५, काठमाडौं: सरकारले हाल दिइरहेको औषधिले काम गर्न छोडेपछि क्षयरोगका बिरामीलाई चिकित्सकै प्रत्यक्ष निगरानीमा कडाखाले नयाँ औषधि दिइने भएको छ । सामान्य औषधिले काम नगर्ने (बहुऔषधि प्रतिरोधी­) क्षयरोगका बिरामीलाई निःशुल्क रूपमा कडाखाले औषधि खुवाउने निर्णयमा सरकार पुगेको हो ।
 
स्वास्थ्य सेवा विभाग राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. विकास लामिछानेका अनुसार विश्व स्वास्थ्य संगठनको सिफारिसमा ‘बेडाक्युलिन' नामको औषधि दिने निर्णय गरिएको छ । आगामी साउनदेखि क्षयरोगका बिरामीलाई दिने तयारी गरिएको अत्यन्तै संवेदनशील उक्त औषधि खाएपछि छोटो समयमा रोग निको हुने सम्भावना प्रबल हुन्छ । तर प्रतिअसर (साइड इफेक्ट) धेरै हुने भएकाले चिकित्सकको प्रत्यक्ष निगरानीमा मात्र उक्त औषधि खानुपर्छ ।

 
‘हाल दिइरहेको सामान्य औषधिले कतिपय बिरामीमा रहेको क्षयरोगको कीटाणु मार्न सकेन । त्यसले गर्दा अरूमा सर्ने जोखिम पनि बढ्यो । त्यस्ता बिरामीलाई हामीले नयाँ औषधि दिने तयारी गरेका हौं', लामिछानेले सोमबार अन्नपूर्णसँग भने, ‘तयारी पनि अन्तिम चरणमा पुगिसकेको छ । यो औषधि साउनसम्ममा बिरामीलाई दिनेगरी हामीले गृहकार्य थालेका छौं ।'
 
लामिछानेका अनुसार औषधि कडा भएकाले मुटुसम्बन्धी प्रतिअसर देखिनसक्ने भएकाले मुटुरोग विशेषज्ञको समन्वय र सम्बन्धित प्राविधिक सल्लाहकार समितिले सिफारिस गरेका बिरामीलाई मात्रै खुवाउनुपर्छ । त्यसका लागि तत्काललाई अस्पतालको नजिक रहेका बिरामीलाई औषधि दिने तयारी भएको लामिछानेले बताए । अन्तर्राष्ट्रिय मुलुकहरूमा लामो समयदेखि प्रयोगमा आइरहेको ‘बेडाक्युलिन' नेपालमा पनि प्रभाकावरी हुने संगठनको विश्वास छ ।
 
चिकित्सकका अनुसार क्षयरोग पत्ता लागे पनि समयमै नियमित रूपमा औषधि नखाने, खान थाले पनि बीचमै औषधि छोड्ने, जथाभाबी औषधि खाने, उपचारका क्रममा चिकित्सकले लापरबाही गर्ने, अस्वस्थकर जीवनशैली अपनाउनेजस्ता कारणले ‘बहुऔषधि प्रतिरोधी­' क्षयरोगको समस्या देखिएको हो । ‘बहुऔषधि प्रतिरोधी­' क्षयरोगीबाट अन्य सामान्य मानिसमा क्षयरोग सबैभन्दा छिटो सर्ने जोखिमसमेत रहन्छ । नेपालमा कुल क्षयरोगीको दुई दशमलव दुई प्रतिशत क्षयरोगीमा ‘बहुऔषधि प्रतिरोधी­' क्षयरोग भएकाहरूबाट सरेको तथ्यांक छ ।
 
नेपालमा तीन सयभन्दा बढी ‘बहुऔषधि प्रतिरोधी­' क्षयरोगका बिरामी भएको अनुमान गरिएको छ । तत्काललाई करिब एक सयजना बिरामीलाई ‘बेडाक्युलिन' दिने तयारी भएको हो । बिस्तारै मुलुकका अन्य जिल्लामा पनि यो सेवा विस्तार गर्ने सरकारको योजना छ । सरकारले हाल क्षयरोगको एउटा बिरामीलाई निको पार्न २० लाख रुपैयाँसम्मको औषधि दिने गरेको छ । त्यति धेरै रकम खर्चेर औषधि खुवाए पनि क्षयरोगका बिरामी बाँच्ने सम्भावना ७० प्रतिशतमात्र रहने लामिछानेले बताए ।
 
श्वासप्रश्वासको माध्यमबाट एकअर्कामा सर्ने क्षयरोगबाट ग्रसित मानिसको एकिन तथ्यांक सरकारसँग छैन । केन्द्रका अनुसार ३५ हजार चार सय ३८ मानिस सरकारको सम्पर्कमा आएका छन् । करिब १० हजार क्षयरोगका बिरामी सम्पर्कमा आउन नसकेको र उनीहरूको खोजी भइरहेको सरकारी अधिकारीले बताउँदै आएका छन् । हराएका बिरामीले रोग सार्ने जोखिम निकै भएकाले उनीहरूको खोजी गर्न जरुरी भएको लामिछानेले बताए । नियमित रूपमा औषधि सेवन गर्ने र स्वस्थ जीवनशैली अपनाउने हो भने क्षयरोग निको हुने गर्छ । तर जनचेतनाको कमी, ढिलो उपचार, नियमित औषधि सेवन नगर्नु, जथाभाबी औषधि खानुजस्ता कारणले क्षयरोगी रोग फैलाउने माध्यमसमेत बनेका छन् ।
 
नेपालमा सर्ने खालका क्षयरोग भएका बिरामी मात्रै एक हजार पाँच सय ९९ जना छन् । नेपालमा क्षयरोग नियन्त्रण गर्न सन् १९९६ मा पहिलोपटक नमुनाका रूपमा सुरु भएको डट्स विधि हाल पनि जारी छ । विश्व स्वास्थ्य संगठनका अनुसार धूमपानका कारण मात्रै २० प्रतिशत क्षयरोग हुने सम्भावना रहन्छ । लगातार खोकी लाग्नु, छाती दुख्नु, श्वासप्रश्वासमा समस्या आउनु, खानामा अरुचि हुनुजस्ता लक्षण क्षयरोग हुँदा देखिन्छ ।

0 comments:

Post a Comment