Thursday, September 3, 2015

एउटा देश जहाँ सारा जनतालाई निःशुल्क उपचार गरिन्छ


नेपालमा सर्वसाधारणको खर्चले धान्न नसक्ने विषय मानिन्छ, चिकित्सा विज्ञान । लाखौँ खर्च गरेर धनी बाबुका छोराछोरी त, छात्रवृत्ति कोटामा केही सामान्य परिवारका छोराछोरी डाक्टर बन्छन् । डाक्टर बनेपछि अधिकांशको उद्देश्य पैसा कमाउनुमै केन्द्रित हुने गरेको छ ।

धनाढ्य वर्गले मात्रै थेग्न सक्ने गरी काठमाडौंमै केन्द्रित रहेर महँगा अस्पतालको संख्या बढ्दो छ । काठमाडौंमै चिकित्सा विज्ञान पढाएर पर्याप्त आम्दानी गर्ने उद्देश्यसहित शिक्षण संस्था खोल्न व्यवसायी लालायित देखिन्छन् । देशका कुनाकाप्चामा रहेका स्वास्थ्य केन्द्रमा योग्य जनशक्ति नपुग्दा अहेब र पिउनले नै शल्यक्रिया गरेका कैयन् उदाहरण छन् ।

औषधि नपाएर हैजाका कारण वर्षेनी थुप्रैले ज्यान गुमाउने देशमा सरकार नै पूर्वाधार नहेरी शिक्षण संस्था खोल्ने अनुमति दिन्छ, यस्तोमा राजनीतिक दलको आड र आर्थिक चलखेल हुने गरेको पनि देखिन्छ ।

विकृतिको अन्त्य गर्न डाक्टर गोविन्द केसीसहित चिकित्सा क्षेत्रमा कार्यरत केही विशिष्ट व्यक्ति आन्दोलनमा छन् । नेपालको स्वास्थ्य क्षेत्रमा एकपछि अर्को विकृति मौलाइरहेका बेला क्युबाले स्वास्थ्य क्षेत्रमा गरेको प्रगति उदाहरणीय हुन सक्छ । यसबारे एजेन्सीको सहयोगमा रातोपाटीका लागि अन्वेषण अधिकारी लेख्छन् :

कम्युनिस्ट नेता चे ग्वेभाराले लामो शासन गरेको मुलुक हो, क्युबा । सन् १९६७ मा बोलिभियाका सैनिक मारियो टेरान, जसले चे ग्वेभारालाई गोली ठोकेका थिए । ४० वर्षपछि क्युबाकै डाक्टरले मारियोको आँखाको ज्योति फर्काइदिए । क्युबामा स्वास्थ्य क्षेत्रको विकास गर्ने ग्वेभाराको सपना थियो भनिन्छ ।

विश्व इतिहासमा क्युबाको परिचय बेग्लै छ । क्युबा बक्सिङका लागि प्रख्यात छ । अहिलेसम्म क्युबाले बक्सिङमा २७ वटा ओलम्पिक स्वर्ण जितिसकेको छ । क्युबामाथि अमेरिकाले ५६ वर्षसम्म प्रतिबन्ध लगाएको थियो । यति लामो प्रतिबन्ध झेलेको कम्युनिस्ट राष्ट्र क्युबाले पछिल्लो समय भने स्वास्थ्य र पयर्टनमा विशेष विकास गरेको छ । अहिले विभिन्न मुलुकबाट पर्यटक क्युबा जान्छन् र त्यहाँको मौलिक संगीत, नृत्य, स्वास्थ्य क्षेत्रमा गरेको प्रगतिबारे अध्ययन गरेर फर्कन्छन् ।

गणतन्त्र क्युबा क्यारेबियन क्षेत्रको प्रमुख टापु हो । यसको राजधानी हभाना हो । क्युबाबाट एक सय ५० किलोमिटर उत्तरमा अमेरिका छ । यसबाहेक बाघामास, टर्कस् एन्ड साइकोस आइल्यान्ड, मेक्सिको, साइमन आइल्यान्ड, जमैका र हैटी क्युबासँग जोडिएका अन्य देश हुन् । सन् १८९८ सम्म क्युबा स्पेनको अधिनमा थियो । सन् १९५९ मा फिडेल क्यास्ट्रो नेतृत्वमा आएपछि क्युबा समाजवादी दिशामा अघि बढ्यो । अहिले यहाँको जनसंख्या एक करोड १० लाख छ । शीतयुद्धका बेला क्युबा सोभियत संघसँग नजिक थियो । अहिले क्युबा मानवीय विकासका लागि निकै अघि छ । शिक्षा र स्वास्थ्यमा क्युबा अग्रणी मानिन्छ । सन् २०१५ मा क्युबाले आमाबाट शिशुमा एचआईभी तथा साईफिल्स नसर्ने प्रणाली विकास ग¥यो । विश्व स्वास्थ्य संगठनले यसलाई ‘सामुदायिक स्वास्थ्यमा एउटा महान् कोसेढुंगा’ भनेर व्याख्या गरेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार क्युबाको स्वास्थ्य स्थिति संसारका अन्य देशका लागि उदाहरणीय छ । संसारभर आफ्नो चुस्त तथा प्रभावकारी सेवाका कारण क्युबाको स्वास्थ्य क्षेत्र प्रसिद्ध छ । अमेरिकाले झन्डै आधा शताब्दीभन्दा लामो समय नाकाबन्दी लगाउँदा क्युबा कमजोर आर्थिक स्थितिमा पुगेको थियो । तर, सीमित स्रोत–साधन र विषम परिस्थितिका बाबजुद पनि जनताको स्वास्थ्यप्रति क्युबाले कुनै लापरबाही गरेन । स्वास्थ्य क्षेत्रमा गरेको क्युबाको प्रगति अहिले संसारमै राम्रो र प्रभावकारी मानिन्छ ।

गत वर्षको जुलाईमा विश्व स्वास्थ्य संगठनकी निर्देशक जनरल मार्गरेट चानले भनेकी थिइन्, ‘क्युबा मात्रै एउटा यस्तो देश हो, जहाँको स्वास्थ्य प्रणाली अनुसन्धान र विकाससँग प्रत्यक्ष जोडिएको छ । यही स्थितिबाट अघि जानुपर्छ, किनकि अनुसन्धानमार्फत नै मानिसको स्वास्थ्यमा सुधार ल्याउन सकिन्छ । क्युबाले देश विकासका लागि नागरिकको स्वास्थ्यलाई मेरुदण्ड मानेको छ ।’

क्युबाको स्वास्थ्य प्रणाली कुनै रोगको उपचारमा मात्रै केन्द्रित छैन, रोगलाई उन्मूलन गर्नमा पनि केन्द्रित रहन्छ । यहाँ उपचार गर्न मात्रै नभएर, नागरिकलाई सम्भावित रोगको संक्रमण हुन नदिनतर्फ पर्याप्त अनुसन्धान हुन्छ । हंगो चिकित्सकीय प्रणाली अपनाइरहेका देशहरूले क्युबाबाट सिक्नुपर्ने धेरै छ ।

विश्व स्वास्थ्य संगठनले क्युबाको उदाहरण दिँदै भनेको छ, ‘सीमित स्रोतका कारण नागरिकको स्वास्थ्य उपचारमा बाधा देखिने होइन । यो त राजनीतिक इच्छाशक्तिको कमीका कारण देखिने समस्या हो । आफ्नो देशका नागरिकको सुरक्षाप्रति नेताहरू संवेदनशील नहुँदा देखिने समस्या हो ।’

विकसित देश अमेरिका र क्यानेडामा भन्दा क्युबामा बालमृत्युदर निकै कम छ । प्रत्येक एक हजार जन्मदरमा क्युबाका ४.२ जनाले मात्रै ज्यान गुमाउने गरेको तथ्यांक छ । यही तथ्यांक क्यानेडामा ५.५ र अमेरिकामा ८.२६ छ ।

गत वर्ष आफ्नो स्वास्थ्य संगठनको प्रभावकै कारण क्युबाले विश्व स्वास्थ्य सभाको अध्यक्षता गर्ने मौका पाएको थियो ।

क्यारेबियन आइल्यान्ड क्युबा विश्वका ठूला देशको स्वास्थ्य प्रणालीका लागि चुनौती तथा साना देशका लागि उदाहरण बनेको छ । बालबालिका तथा गर्भवती महिलाका लागि क्युबामा राम्रोभन्दा राम्रो स्वास्थ्य सेवा उपलब्ध छ । क्युबाका जनता औसत ७८ वर्षसम्म बाँच्छन्, जुन अमेरिकी महाद्विपकै सर्वाधिक तथा विश्वको तेस्रो ठूलो औसत आयु हो । छिमेकी हैटीका जनताको तुलनामा क्युबाका जनता ३० वर्ष बढी बाँच्छन् । ल्याटिन अमेरिकामा ६० वर्षमाथिका सबैभन्दा धेरै प्रतिशत जनता क्युबामै छन् ।

तेस्रो विश्वलाई सहयोग गर्ने स्वास्थ्य प्रणाली

क्युबा अन्य गरिब देशलाई आपत पर्दा सहयोग गर्न सधैँ अग्रसर रहँदै आएको छ । सन् १९६३ यता क्युबाले तेस्रो मुलुकमा डाक्टर पठाउन थालेको थियो । अहिले ३० हजार क्युबाका मेडिकल स्टाफहरू विश्वका ६० भन्दा बढी देशमा क्रियाशील छन् । फिडेल क्यास्ट्रो र हुगो चाभेजले सन् २००४ मा अपरेसन मिराकलका नाममा एउटा अभियान चलाए, जसको उद्देश्य थियो– धर्तीका गरिबसँग एकता गर्ने । यही मानवीय अभियानअन्तर्गत पहिलो चरणमा ल्याटिन अमेरिकाका गरिबहरूलाई आखाँको उपचार निःशुल्क उपलब्ध गराइयो । क्युबाको यस अभियानअन्तर्गत एक दशकभित्र झन्डै ३५ लाख जनताले आफ्नो आँखाको ज्योति पाइसकेका छन् ।

सुरुवातमा भेनेजुयलाका लागि तयार पारिएको यस कार्यक्रम पछि झन्डै ६० लाख जनतालाई लक्षित गर्ने उद्देश्यका साथ अमेरिकी महाद्विपभरि सञ्चालनमा ल्याइयो । यस अभियानअन्तर्गत पीडितहरूलाई निःशुल्क रुपमा आवश्यक चस्मा समेत उपलब्ध गराइएको छ । क्युबाका झन्डै एक सय ६५ स्वास्थ्य संस्था अपरेसन मिराकलमा सहभागी छन् । यसले १४ देशका ८२ सर्जिकल युनिट तथा ४९ वटा अफथलमोलोगिकल सेन्टर (नेत्रविज्ञान केन्द्र) सँग समन्वय राख्ने गरेको छ । ल्याटिन अमेरिकाका बोलिभिया, कोस्टारिका, इक्वेडर, ग्वाटेमाला, गुयाना, हैटी, होन्डुरस, ग्रेनाडा, निकारागुआ, पानामा, पाराग्वे, सेन्ट भिसेन्ट, भेनेजुयला र उरुग्वे यसमा सहभागी छन् ।

क्युबाले आफ्नो मेडिकल ऐक्यबद्धता अफ्रिकामा समेत विस्तार गरेको छ । मलेरियाविरुद्ध गत वर्ष क्युबाले पश्चिम अफ्रिकाका झन्डै १५ देशमा चिकित्सकीय अभियान चलाएको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार झन्डै ६ लाख ३० हजारले मलेरियाका कारण ज्यान गुमाउने गरेका छन् । यसमध्ये पाँच वर्षमुनिका बालबालिका सबैभन्दा धेरै सिकार हुन्छन्, यसमा पनि अफ्रिकाका बालबालिका पर्छन् । मलेरियाका कारण प्रत्येक दिन एक हजार बालबालिकाले ज्यान गुमाउने गरेका छन् । यसैगरी क्युबाले विश्वभर युवा चिकित्सकहरूलाई तालिम उपलब्ध गराउँदै आएको छ– ल्याटिन अमेरिकी स्कुल अफ मेडिसन अर्थात इएलएएममार्फत । सन् १९९८ देखि यो अभियान सुरु गरेको क्युबाले अहिलेसम्म विश्वका एक सय २३ देशमा २० हजारभन्दा बढी डाक्टर उत्पादन गरेको छ । अहिले एक सय २० भन्दा बढी मुलुकका ११ हजार युवा डाक्टर इएलएएममा आफ्नो भविष्य खोज्दै छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनका अनुसार इएलएएम विश्वकै सबैभन्दा अत्याधुनिक मेडिकल स्कुल हो । उनले हैटीमा क्युबेली डाक्टरहरूले देखाएको कार्यको समेत प्रशंसा गरेका छन् । उनी भन्छन्, ‘उनीहरू सधैँ सबैभन्दा पहिला आउँछन् र सबैभन्दा ढिला हिडँछन् । उनीहरू संकटको अन्त्य नभएसम्म बसिरहन्छन् । क्युबाले आफ्नो स्वास्थ्य प्रणालीमा गर्व गर्नुपर्ने धेरै ठाउँ छ ।’

क्युबाको प्रशंसा गर्दै विश्व स्वास्थ्य संगठनले तेस्रो मुलुकका राष्ट्रले पनि सीमित स्रोत र साधनकै बलमा प्रभावकारी स्वास्थ्य उपलब्ध गराउन सक्ने बताएको छ ।

गल्लीगल्लीमा डाक्टर बस्छन्

क्युबाका प्रत्येक गल्लीमा डाक्टरहरू बस्छन् । सानो दुईतले घर, त्यसमा माथि डाक्टर बस्ने क्वार्टर र तल बिरामी जाँच्ने ठाँउ । प्रत्येक डाक्टरले गर्भवती महिलाको नियमित रगत तथा अन्य स्वास्थ्य जाँच गर्छन् । बच्चा जन्मिएपछि लामो समय आमा र बच्चा दुवैको जाँच गर्छन् । डाक्टरले बिरामीलाई लेखेको औषधि स्वास्थ्य क्लिनिकले उपलब्ध गराउँछन् । यस्ता फार्मेसी सरकारले मात्रै सञ्चालनमा ल्याएको बताइएको छ । यहाँ ५ देखि ६ सय व्यक्तिका लागि एक कन्सलटोरियोको व्यवस्था छ, यसलाई स्वास्थ्य सेवाको पहिलो चरणका रूपमा लिइन्छ । यहाँ जाने बिरामीलाई शुल्क लाग्दैन । एक सय ५० देखि एक सय ६० परिवारका लागि एक डाक्टरसहित एक नर्स खटिन्छन् । वर्षमा एकपटक डाक्टर र नर्स हरेक घरमा पुग्छन् ।

बिरामी भएपछि उपचार गर्नेभन्दा पनि रोग लाग्न नदिनेमा क्युबेली स्वास्थ्य विज्ञानको ध्यान केन्द्रित रहन्छ ।

कन्सलटोरियोमा उपचार गर्दा निको नभएका व्यक्तिलाई विशेषज्ञसँग भेट्न पठाइन्छ । पोलिक्लिनिकमा सबै विशेषज्ञ सुविधा उपलब्ध हुन्छ । ४० देखि ४० कन्सलटोरियोमाथि एक पोलिक्लिनिक छ । कन्सलटोरियोजस्तै पोलिक्लिनिकमा पनि सबै उपचार निःशुल्क हुन्छ । क्युबामा पाँच सय पोलिक्लिनिक छन् ।

निःशुल्क स्वास्थ्यको सुरुआत

सन् १९५९ मा फिडेल क्यास्ट्रोले सत्ता हासिल गरेका थिए, यो क्रान्तिसँगै क्युबामा निःशुल्क स्वास्थ्य सुरु भयो । फिडेल क्यास्ट्रोले सत्ता हत्याउनुअघि मेडिकल सुविधा सहरमा मात्रै केन्द्रित थियो । उनले सत्ता समालेपछि झन्डै आधाभन्दा बढी डाक्टरहरू दुर्गम गाउँ जानुपर्ने भयले देश छाडेर अन्यत्रै गए । युर्निभर्सिटी अफ हबाना मेडिकल स्कुलका एक सय ६१ प्रोफेसरमध्ये २३ मात्र बाँकी रहे । सन् १९६० मा सरकारले मेडिकल सेवा आफ्नो जिम्मामा लियो र निजी सेवा तथा अस्पताल बन्द गराइयो । क्रान्तिबाट उत्साही डाक्टरहरू गाउँगाउँ गएर सेवा गर्न थाले । डाक्टरले झुपडीमा बसेर जनताको सेवा गर्न थालेपछि बिस्तारै क्युबाको स्वास्थ्य स्थिति बलियो बन्दै गयो ।

सन् १९७६ सम्म क्युबाले आफ्ना नागरिकका लागि नयाँ अधिकारका रूपमा ‘राइट टु हेल्थ’ उपलब्ध गराउने घोषणा ग¥यो । अहिले क्युबामा १३ युनिभर्सिटी र २५ मेडिकल कलेज छन्, जहाँ नयाँ डाक्टर उत्पादन हुन्छन् ।

जुन राज्यको विद्यार्थी हो, उसले त्यही राज्यमा पढ्नुपर्छ र जहाँ पढेको हो, त्यही जागिर खानुपर्छ– क्युबाको शिक्षा सैद्धान्तिभन्दा बढी व्यावहारिक छ । यहाँ दुई वर्ष कलेजमा पढेपछि विद्यार्थीहरू मेडिकल र पोलिक्लिनिकमा प्राक्टिकल गर्नका लागि जान्छन् । आजको दिनसम्म आइपुग्दा हरेक राज्यमा उपचारको समानता छ । कुनै सहरको उपहारका लागि अन्यत्र देश त के अर्को सहरमा समेत जानुपर्दैन । क्युबामा डाक्टरी पढ्नका लागि समेत पैसा लाग्दैन ।

क्युबामा स्वास्थ्यसम्बन्धी तीन तथ्य

क्युबामा प्रत्येक एक सय ८५ व्यक्तिका लागि एक डाक्टरको व्यवस्था छ ।

क्युबामा स्वास्थ्य र शिक्षा निःशुल्क छ । पढ्न चाहने जनताले रोजेको विषय निःशुल्क पढ्छन्, बिरामी जनताले उपचार निःशुल्क पाउँछन् ।

गत वर्ष क्युबाले डाक्टरहरूको मासिक तलब वृद्धि गर्दै ६७ डलर कायम राख्यो । यसअघि त्यसको झन्डै आधा रकममा डाक्टरहरूले काम गर्थे । ६७ डलरको झन्डै ६ हजार ७ सय नेपाली रुपैँया हुन आउँछ ।

सोभियत संघको पतनपछि कमजोर स्वास्थ्य भएका थुप्रै व्यक्तिलाई क्युबाले बोलाएको थियो । अहिले पनि उपचारपछि थुप्रै रसियनहरू क्युबामै छन् ।

क्युबालाई आरोप

पश्चिमा मिडियाले क्युबाको स्वास्थ्य क्षेत्रमा रहेका कमजोरीलाई बेलाबेला उजागर गर्ने गरेका छन् । उनीहरूको आरोप छ, ‘फार्मेसीमा सित्तैमा उपलब्ध हुने भनिएका औषधि ब्ल्याकमा बेचिन्छन् ।’ डाक्टर, नर्स र सफा गर्ने कर्मचारीले अस्पतालबाट औषधि चोरेर त्यसलाई बेच्ने गरेको पश्चिमा विश्वको दाबी छ । विशेषगरी सोभियत संघसँग सम्बन्ध मजबुत भएका बेला क्युबाको स्वास्थ्य राम्रै थियो । तर सोभियत संघको पतनपछि क्युबाले सहयोग गुमाउन थाल्यो । अर्थतन्त्र ओरालो लाग्दै गयो र देश गरिब भयो । राज्य लाचार भएपछि डाक्टरहरूले पनि त्यसको पर्याप्त फाइदा उठाए । स्थापना गरिएका स्वास्थ्य क्लिनिकहरू निकै फोहोर थिए । कतिपय ठाउँमा पानी समेत आउँदैनथ्यो । भिआइपीबाहेक बाँकीका लागि आकस्मिक उपचार निकै कठीन थियो । तर सन् २००७ पछि फेरि क्युबाले आफ्नो कठीन दिनमा सुधार ल्यायो ।

क्युबामा औषधि बेच्नु अपराध हो । यदि कसैलाई अझै राम्रो उपचार आवश्यक परेमा विशेषज्ञकोमा पठाइन्छ । सामुदायिक अस्पताल तथा क्लिनिकमा त्यस्ता विशेषज्ञ भेटिन्छन् । सहज उपचार पाउन डाक्टरलाई घुस दिनुपर्ने वा डाक्टरको चाकडी गर्नुपर्ने समस्या क्युबामा नरहेको होइन । धेरैले क्युबामा लाइन लाग्नुभन्दा डाक्टरलाई खाना खुवाएर वा गिफ्ट दिएर काम चाँडो गराउन चाहन्छन् । सरकारले स्रोत–साधनको कमीका बाबजुद फेरि अस्पताल र स्वास्थ्य चौकीमा प्रभावकारी सेवा सुरु गर्ने प्रयत्न थाल्यो । सित्तैमा उपलब्ध हुने सेवा भए पनि त्यो प्रभावकारी थिएन । कारण थियो, विशेषज्ञ डाक्टरहरूलाई दिइने सस्तो तलब ।

हजारौँ क्युबेली डाक्टर भेनेजुयलामा प्रारम्भिक स्वास्थ्य प्रदान गर्न जान्छन् । उनीहरूको ड्युटी दुई वर्षको हुन्छ र उनीहरूलाई ५० डलर मासिक तलब दिइन्छ, जसमा भत्ता पनि हुन्छ । त्यसको बदलामा भेनेजुयलाका राष्ट्रपतिले क्युबालाई पेट्रोल दिन्छन् । हेल्थ टुरिजमका लागि समेत क्युबा प्रख्यात छ । तर क्युबाका विशेषज्ञहरू बेलाबेला विदेश जान नपाएको, सेमिनारमा भाग लिन नपाएको र पर्याप्त अध्ययन गर्न नपाएको गुनासो गर्ने गरेका छन् । क्युबामा धेरै अस्पताल आईएसओ मान्यताप्राप्त छन् । स्वास्थ्य, काममा सुरक्षाको ग्यारैन्टी र स्वच्छ वातावरण अस्पतालको ठूलो कुरा हो । विकसित देशका समेत धेरै अस्पताल यस्तो मापदण्डमा छैनन् ।

इबोलाविरुद्ध क्युबेली मेडिकल टिमको बहादुरी

गत वर्ष इबोलाको महामारीले पश्चिम अफ्रिकालाई पिरोल्नु पिरोल्यो । संकटकाल घोषणा गरियो । यस महामारीविरुद्ध लड्ने क्रममा क्युबाले आफ्नो दक्ष मेडिकल टिम पठाउँदै आफ्नो स्वास्थ्य क्षेत्रप्रति औँला उठाउनेलाई गतिलो जवाफ दियो । अमेरिका र बेलायतले ठूलो संख्यामा सैनिक पठाए, उनीहरूसँगै अन्य देश पनि सहभागी थिए । तर विश्व स्वास्थ्य संगठनले जनाएअनुसार त्यहाँ स्वास्थ्य कर्मचारी आवश्यक थिए ।

त्यतिबेला क्युबाले धेरैभन्दा धेरै डाक्टर तथा नर्सको टिम पठायो । महामारीको त्रासपछि अमेरिका र बेलायतका थुप्रै स्वास्थ्यसेवक फर्किए । तर, क्युबाका स्वास्थ्यकर्मी अन्त्यसम्म बसे । अन्ततः क्युबाका पहिलो डाक्टर जसलाई बेलायतीले उपचार गरे, उनीहरू अमेरिकासँग इबोलाविरुद्ध लड्न हातेमालो गर्न तयार भए । हैटीमा भूकम्प जाँदा क्युबाले झन्डै ४० प्रतिशतको उपचार गरेको थियो । सन् २००५ मा कास्मिरमा भूकम्प जाँदा क्युबाले २४ सयको मेडिकल टिम पठायो र उनीहरूले झन्डै ७० प्रतिशत प्रभावितको उपचार गरे । उनीहरूले छात्रवृत्तिको व्यवस्था समेत पाकिस्तानीहरूलाई गरे । नेपालमा भूकम्प आउँदा ४९ जनाको क्युबेली टोली नेपाल आएको थियो ।

0 comments:

Post a Comment