Tuesday, September 15, 2015

हेडसरकै योजनामा स्कूललाई जलाएर खरानी बनाइयो,




तनहुँ , भदौ ३० ।  कहिलेकाहीं समाजमा यस्ता घट्ना घट्छन, जसलाई सजिलै पत्याउनै गाह्रो पर्छ। अघिल्लो साताको शुक्रबार लमजुङको पुरानो सदरमुकाम कुन्छा स्थित मध्यरातमा जलाईएको शान्ति उमाबिको घटना अनुसन्धानको क्रममा अनौठो रहस्य खुलेको छ। विद्यार्थीलाई नैतिकताको पाठ सिकाउँदै अनुशासन, सभ्य र सुसंस्कृत बन्‍न सिकाउने शिक्षकले नै आफ्नै विद्यालय जलाउन लगाए, भन्दा तपाईलाई पत्याउन गाह्रो पर्ला तर, लमजुङको कुन्छास्थित शान्ति उमावि प्रचार्यकै योजनामा मध्यरातमा बिद्यालय जलाईएको रहस्य खुलेको छ।

आगलागीहुंदा बिद्यालयमै रहेका चौकीदार पदम मिश्रलाई प्रहरीले अनुसन्धानका लागि गिरफ्तार गरी घटना बारे बुझ्दा उनले प्राचार्यकै निर्देशनमा आफैंले बिद्यालयमा आगजानी गरेको स्वीकार गरेकाहुन्। ‘विद्यालयका चौकीदार पदम मिश्रले प्राचार्य नारायण गिरीको आदेशमा आफुले विद्यालयमा आगो लगाएको बयान दिए, प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले भने,‘ चौकीदारले पटक पटक सोही बयान दिएपनि प्राचार्यले घटनाबारे अझै अस्विकार गरेकाले घटनाको छानवीनमै छौं।’ चौकीदारले झण्डै एक हप्ताको योजनामा विद्यालयमा सुत्‍न जाने क्रममा आफुले आगो लगाएको बयान दिएको प्रहरी निरीक्षक अधिकारीले बताए।

चौकीदारले उक्त बयान दिएपछि प्राचार्य गिरीलाई प्रहरीले हिरासतमा लिएको छ। अनुन्धानका लागि दुबै जनालाई जिल्ला अदालतले सात दिनका लागि म्याद थपेको छ। प्राचार्य गिरीले भने चौकीदार मिश्रको बयान झुटो रहेको र घटनामा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्। योजनाबद्ध रुपमा विद्यालयका सामाग्री एवं कागजात जलेर नष्ट भएको देखाउन आगलागी गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

अनुसन्धानमा आगलागीबाट विद्यालयमा जलेका भनिएका २० थान कम्प्युटरमध्ये १० थानको मात्र भग्नावशेष भेटिएको अनुसन्धानमा संलग्न ईलाका प्रहरी कार्यालय भोटेवडारका प्रहरी निरीक्षक हेमन्त थापाले जानकारी दिए। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

0 comments:

Post a Comment