Tuesday, September 15, 2015

छिमेकी दर खाँदै, हरिमाया श्रीमानको शव पर्खदै


नवलपरासी देवचुली–७ भीमसेन स्कूलको छेउमा तीजको दर खाने कार्यक्रममा चल्दैछ । टोलका महिला छमछम नाचेर रमाईलो गरिरहेका छन । तर यो रमाइलोले हरिमाया तामाङलाइ छोएको छैन । उहाँको घर भीमसेन स्कूलबाट दुई चार घर पर छ ।
तर त्यहाँ यो रौनकले छुन सकेको थिएन् । तीज गीत घन्किरहे पनि हिरामाया घरको पहिलो तलाको कोठामा भक्कानी रहनु भएको थियो । श्रीमानको दीर्घायुको कामना गर्दै व्रत बस्ने बेलामा उहाँ श्रीमानको शव पर्खिरहनु भएको छ । 
झण्डै डेढ महिनाअघि उहाँको खुसी लुटियो । एक वर्षअघि काम खोज्दै दुवई पुगेका रामबहादुर लामाको हत्या भयो । राती एक्कासी एकजना नेपालीले मलाई बचाउनुस् दाइ भन्दै गुहार मागेपछि रामबहादुरले बचाउन खोज्नु भयो । तर उहाँलाई बचाउने कोहि भएनन् । नेपाली युवकले नै हत्या गरे । अघिल्लो बेलुकी श्रीमानसँग कुरा गरेकी हरिमायालाई भोलिपल्ट विहानै आएको पतिको मृत्युको खबर पत्याई नसक्नु भयो । बालख दुई छोरीलाई त अझै सम्म पनि बाबा बितेको पत्तो छैन् । 
‘पहिला फोनमा छोरीहरुलाई सोध्नु भएको थियो, के ल्याईदिउँ ? दुबै छोरीले झोला भनेका थिए । उनीहरु अहिले पनि बाबा आउँदा स्कुल जाने ब्याग पनि आउँदै छ भन्नेमा ढुक्क छन्’ हरिमायाले भक्कानिदै भन्नुभयो, ‘अब बाबाको लास देख्दा के भन्लान ? म कसरी सम्झाउन सक्छु ।’ 
रामबहादुर गाडि चलाउनुहुन्थ्यो । कमाई पनि राम्रै थियो । परदेशको कमाईले घरको तला थपेर केहि जग्गा जमिन पनि जोडेको यो परिवारमा खुसी थपिंदै थियो । तर उहाँले आफ्नो पौरख सुनेपनि देख्न पाउनु भएन । हत्या भएको ६ हप्तासम्म पनि शव नेपाल आउन सकेको छैन् । हत्याको घटना भएकोले शव आउन केहि ढिला भएको नवलपरासीको सूचना तथा परामर्श केन्द्रले जनाएको छ । 
‘मैले दशैंमा आउनु भनेको थिएँ । तर ६ महिना पछि नजाने गरि आउँछु भन्नुभयो ।’ पतिको शव पर्खि बसेकी हरिमायाले भन्नुभयो ‘आउन त नजाने गरिनै आउनुहुने भयो तर बाकसमा मा प्याक भएर ।’

0 comments:

Post a Comment