Wednesday, September 2, 2015

नेवार, तामाङ, मधेसी मिलेपछि उठ्यो धरहरा


काठमाडाैं, भदौ १७  - भूकम्पले गल्र्यामगुर्लुम ढलेको धरहरा उठाउन कसैले चासो दिएको छैन । सबै आआफ्नै कामधन्दा र स्वार्थमा लागेका छन् । छेउमै मःम पसल थापेर बसेका नेवारलाई लडेको धरहरा उठाउने मन त छ, तर एक्लैले केही नसकिने भन्दै उनी पन्छिन खोज्छन् । नजिकै मधेसी समुदायका हजाम र तामाङ समुदायका भरिया पनि छन् । तर उनीहरु पनि लडेको धरहरा उठाउन वास्ता गर्दैनन् ।  आफुले बनाएको धरहरा लडेको देखेर बृद्ध भीमसेन थापा निराश छन् । उनी सबैसँग धरहरा उठाउनको लागि बल गर्न आग्रह गर्छन् । तर कसैले टेर्दैन । त्यही बाटो हिँड्ने युवा युवती लडेको धरहरा नजिक उभिएर सेल्फी खिच्न मात्र मग्न हुन्छन् । मधेसी हजाम र तामाङ भरिया आफ्नै प्रदेशमा गएर मात्र धरहरा उठाउने अड्डी लिन्छन् । तर अन्त्यमा उनीहरु सबैको मन फेरिन्छ । अनि पहिले देश बनाउनुपर्छ, अनि प्रदेश भन्दै उनीहरु सबै मिलेर लडेको धरहरा उठाउँछन् । नेवार, तामाङ, मधेसी लगायत सबै जात, धर्म र समुदायका मान्छे मिलेपछि जे कुरा पनि संभव हुने देखेपछि सबै खुशी हुँदै ताली बजाउँछन् । काठमाडौंको प्रज्ञा भवन कमलादीमा भैरहेको गाईजात्रा महोत्सवको एउटा दृश्य हो यो ।  तीतोसत्य समूहका दीपकराज गिरी, दीपाश्री निरौला, सुरवीर पण्डित, पूर्ण थापा, रवि डंगोल लगायतका कलाकारले मन छुने अभिनय मार्फत आआफ्नो प्रदेशको मात्रै मोह छोडेर सिंगो देश बनाउन सन्देश दिएका छन् ।

अरु प्रहसनमा पनि देशको वर्तमान अवस्थाप्रति चिन्ता प्रकट गर्दै राष्ट्रिय एकता र सामाजिक सद्भाव बढाउन आग्रह गरिएको छ । जिरे खुर्सानी समूहले भूकम्पपछि पालभित्रको बसाईलाई रमाइलो र व्यंग्यात्मक पारामा देखाउन खोजिएको छ । पालभित्र बस्न आएकाहरु सबै आआफ्नो भाग मात्रै खोज्ने तर भत्कन लागेको पाल बनाउन नखोज्ने प्रवृत्तिलाई सिंगो देशको अवस्था र सीमांकनमा भैरहेको विवादसँग तुलना गरिएको छ । अनि सिंगो नेपाल जोगाउन सके मात्रै सबैको भलो हुन्छ भनेर कलाकारहरुले प्रहसनमार्फत सन्देश दिएका छन् ।  मेरी बास्सै समूहको प्रहसनमा पनि यसैगरी राष्ट्रियताको भाव दर्साउन खोजिएको छ । अर्का हाँस्यव्यंग्य कलाकार मनोज गजुरेल यसवर्ष मन्त्री लालबाबु पण्डितको भूमिकामा देखिनुभएको छ । मन्त्री पण्डितको अभियानपछि डिभी, पिआर लिने कर्मचारीभित्र देखिएको हल्लीखल्लीसँगै उहाँले आन्दोलन जबर्जजस्ती उकास्न खोज्नेहरुलाई पनि व्यंग्य गर्नुभएको छ । गजुरेलले आफ्नो प्रहसनमा भन्नुहुन्छ, ‘तपाईंलाई कसैले पचास लाखको आश्वासन दिएर शहीद बन्न हौस्याउनेलाई भनि दिनुहोला( भैया, आज नगद , कल उधार , याद राख्नोस्, तपाईंको अमूल्य जीवन कसैको मुख्यमन्त्री बन्ने सनकको सिकार नबनोस् ।’  अर्का कलाकार राजा राजेन्द्र पोखरेलले जोशिलो उद्घोषणसँगै गीत, कवितामार्फत दर्शकलाई हँसाउनुहुन्छ ।
प्रज्ञा भवनमा मात्र भएको यसवर्षको गाईजात्रा भूकम्पको प्रभाव र त्यसपछिको अवस्था, संघीयता र सीमांकनको विवाद र राजनीतिक अस्थिरतामा केन्द्रित छ ।

0 comments:

Post a Comment