काठमाडौँ : बर्दिवास र प्युठानमा भएका छुट्टाछुट्टै दुई यात्रुवाहक बस दुर्घटनामा कम्तिमा १७ जनाको मृत्यु भएको छ। सिन्धुलीकाे लंगुर खाेलबाट बर्दिबास गइरहेको ज१ख ४४९ नम्बरको बस बर्दिबास नगरपालिका-५ मा भोगटे पुलमा सडकबाट खोल्सामा खस्दा ८ जनाको मृत्यु भएको छ। घटनास्थलमा छ जनाकाे र उपचारका लागि लैजाँदै गर्दा थप दुई नाको मृत्यु भएको प्रहरीले बताएको छ। मृतकको सनाखत यो समाचार तयार पार्दासम्म हुन सकेको छैन। बसमा बोलबम तीर्थयात्रुहरु रहेको प्रहरीले बताएको छ। त्यस्तै प्युठानको सदरमुकाम खलंगा नजिकै बस दुर्घटनामा परी ज्यान जानेको संख्या ९ पुगेको छ। सदरमुकाम खलंगाबाट सौतामारी जाँदै गरेको ना ३ ख ८३८३ नम्बरको बस धरमपानी भन्ने स्थानमा सडकबाट २ सय मिटर तल भीरमा खसेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ। दुर्घटनामा परि मृत्यु हुनेमा प्युठानका सन्देश सुनार, माया केसी, नरेन्द्र जिसी र हस्तबहादुर बस्नेत रहेका छन्। त्यस्तै दाङका सिता पण्डित र कपिलवस्तुका लोकबहादुर रावलको पनि दुर्घटनामा ज्यान गएको छ। मृत्यु भएका अन्य तीन जनाको भने सनाखत हुन बाँकी रहेको छ। मृतक मध्ये बस्नेतको उपचारका लागि भैरहवा लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ। प्युठानका प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले ११ जनालाई उपचारका लागि भैरहवा रिफर गरिएको र अन्यको प्युठान जिल्ला अस्पतालमा उपचार भइरहेको जानकारी दिए।

यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment