पाखापानी (रोल्पा), भाद्र १ - १२ वर्ष जेल जीवन बिताएका रोल्पा पाखापानीका ५० वर्षका सुन्दर वलीलाई फर्केर हेर्दा यस्तो लाग्छ, ‘राजनीतिमा जेलनेल र बलिदान मात्र सबै कुरा रहेनछ।’ राजनीतिमा सफल हुन जेलनेल, बलिदानको गणना हुन्छ तर, जेलनेल भोग्ने धेरैले परिवर्तनका फल चाख्न पाउँदैनन्। १२ वर्ष जेलजीवन बिताएबापत उनले ‘कम्युनिस्ट’ प्रतिको आस्था बलियो बनाए, अरू केही पाएनन्। अहिले पनि उनी गाउँको भीरपाखामा घाँसदाउरा गरिरहेका भेटिन्छन्। ‘बाँकी समयलाई सामान्य कार्यकर्ताकै रूपमा व्यतीत गर्न चाहन्छु,’ उनी भन्छन्।
२०५२ सालमा माओवादीले युद्ध सुरु गर्नु तीन वर्षअघि नै पक्राउ परेका सुन्दरले युद्धमा प्रत्यक्ष सहभागी हुन भने पाएनन्। एकैपटक पक्राउ परेका ५ जनामध्ये अरू केही वर्षपछि मुक्त भए। सुन्दरले १२ वर्ष जेल गुजारे। के थियो जेल जानुपर्ने कारण? उनी भन्छन्, ‘माओवादीले युद्ध सुरु गर्ने भित्री योजना बनाइसकेपछि त्यसैको तयारीमा हामीलाई खटाइयो।’
सुन्दरलाई नजिकबाट चिनेका एमाओवादीका जिल्ला अध्यक्ष सुरेन्द्र घर्ती भन्छन्, ‘युद्धका लागि उनको योगदान अतुलनीय छ। हामीले युद्ध लड्यौं, उहाँले त्यही कारणले जेल गुजार्नुभयो।’ २०६३ मंसिर ५ गते माओवादी र तत्कालीन सरकारबीच शान्ति सहमति भयो। सुन्दरचाहिँ त्यसको करिब दुई वर्षअघि जेलमुक्त भए, तत्कालीन राजाले ‘राम्रो आनबानी’ भएको भन्दै सिफारिस गरेपछि उनी जेलमुक्त भएका थिए। जेलमुक्तपछि पनि उनी निरन्तर माओवादी आन्दोलनमै लागे। जेल बस्दा पाएको यातनाले पटकपटक बिरामी हुने उनलाई रोल्पा, दाङ, नेपालगन्ज र काठमाडांै सारियो। अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो।
बढी जेलनेल खाएकाको मूल्यांकन माओवादीले गरेको भए सुन्दर वली पार्टीको माथिल्लो वा ‘आकर्षक सुविधा’ युक्त पदमा पुगिसक्थे होला। त्यसो नगरकाले सुन्दरजस्ता लामो जेलजीवन बिताउनेहरू गाउँमै छुटे। सहर छिरेकाहरू सुकिलामुकिला भइसके। तैपनि, सुन्दर वली र उनीजस्तै थुप्रैले पार्टी राजनीतिदेखि भने हरेस खाएका छैनन्। अझै पनि कैयौं माओवादी कार्यकर्ता युद्ध सुरु गर्दा बुझेको ‘मुलुक बनाउने’ नारा भुलेका छैनन्। रातदिन नभनीकन निरन्तर खटिइरहेको, रोल्पाका दुर्गम गरिब बस्तीमा भेला र कार्यक्रम गरेको र ‘सर्वहाराको सत्ता’ ल्याउने योजना बुनेको समय सुन्दर र अरूले पनि भुलेका छैनन्। तर नेताहरू सहर पसेका छन्। ‘सायद नेता त्यतै भुलेका छन्,’ उनी भन्छन्।
‘सबैभन्दा बढी समय जेल बसेको भनेर सम्बोधन गर्दा गर्व त हुन्छ तर राजनीतिक रूपमा पछाडि पारिदिएको जस्तो लाग्छ,’ सुन्दर तीतो यथार्थ पोख्छन्, ‘जेल बसेको जानकारी पाएर पनि पार्टीले मेरोबारेमा सही मूल्यांकन गरेन।’ महरालाई रोल्पाली कम्युनिस्टहरूले ‘अगुवा’ का रूपमा लिने गरे पनि उनले जिल्ला र कार्यकर्ताका लागि खासै ध्यान नपुर्याएको उनको आरोप छ। सुन्दरका सहोदर भाइसमेत युद्धमै मारिएका थिए। ‘सहिद परिवार, घाइते परिवार र युद्ध लडा जेलनेल खाएकालाई पार्टीले पूर्ण रूपमा बेवास्ता गरेको’ सुन्दरको ठहर छ, ‘युद्ध सफल बनाउन सबै हिसाबले योगदान गर्यौं। तर पार्टीले हाम्रो इतिहास राखिदिएन। यसकारण मन दुख्छ,’ उनको दुखेसो छ। माउ पार्टी एमाओवादीले बेवास्ता गरेपछि उनी नेत्रविक्रम चन्दको माओवादीमा लागेका छन्।
समय निकै फेरिए पनि अझै कैयौं नेताले गुलिया र उत्तेजित भाषण सुनाउन नछाडेकामा उनी चिन्तित छन्। ‘सोझासिधालाई फेरि हुने युद्धले सिध्याउने रहेछ,’ उनी भन्छन्, ‘मुलुक बनाउन हिंडेका हामीलाई नेताले बीचैमा अल्मल्याए। आफू सुविधा र मोजमस्तीमा भुल्दै जनताका छोराछोरीलाई भने युद्धको आगोमा धकेलेर उनै नेता चोखिए।’ प्रगति’ बारे चासो र तर्क गर्न तम्सने सुन्दर अझै ‘सुन्दर भविष्य’ देख्छन्। सकारात्मक सोचाइ राखेर अघि बढे समाजलाई थप खल्बलिनबाट जोगाउन सकिने उनको तर्क छ। समानताको संघर्ष अझै बाँकी रहेको बताउने उनी भन्छन्, ‘सचेत लडाइँबाट समानतामा आधारित नयाँ, समृद्ध र शान्त नेपाल निर्माण सम्भव छ।
- इकान्तिपुर बाट







0 comments:
Post a Comment