Monday, August 17, 2015

सुनिल थापालाई अन्तराष्ट्रिय अवार्ड


काठमाडौ, भाद्र १ - बलिउडबाटै सुरु भएको उनको फिल्मी करिअर पछिल्लो समय ‘मेरी कोम’ मार्फत बलिउडसँगै जोडिएको थियो। नेपाली फिल्म करिअरको सुरुआती समय ‘राते काइँला’ को नामबाट चर्चित बनेका उनै सुनील थापालाई अन्तर्राष्ट्रिय उपलब्धि हासिल भएको छ। अमेरिकाको क्यालिफोर्नियामा सम्पन्न ‘फेस्टिभल अफ ग्लोब : सिलिकन भ्याली’ मा उनलाई हलिउड/बलिउड कलाकारसँगै लाइफ टाइम अचिभमेन्ट अवार्ड मिलेको हो। दुई दशकदेखि हुँदै आएको फेस्टिभलमा सुनीलसँगै हलिउड कलाकार ज्याकी च्यान र मार्टिन सिन, बलिउड संगीतकर्मी बप्पी लहरी, भियतनामी अभिनेत्री किउ चिनलाई यो अवार्ड मिलेको छ क्यालिफोर्नियाको सन–फ्रान्सिस्को सहरमा फेडरेसन अफ इन्डो अमेरिकन संस्थाले २३ वर्षदेखि गर्दै आएको यो फेस्टिभलमा पहिलोपटक नेपाली कलाकार र फिल्मले पनि सहसभागिता जनाएका थिए। विश्वभरका १ सय ५० फिल्म छानिएको फेस्टिभलमा नेपालबाट विष्णु पाण्डे निर्देशित ‘साँघुरो’, शंकर घिमिरेको ‘तुलसी’, उदय सिजापतीको ‘टाटा बाईबाई’, फूलमान वलको छोटो फिल्म ‘सेलफोन’ र जसकुमार राईको छोटो फिल्म ‘स्याक्रिफाइस नेभर डाई’ प्रदर्शन गरिएको थियो।

यसबाहेक नेपालका तर्फबाट फेस्टिभलमा विभिन्न गीत फ्युजन गरिएको नृत्य प्रस्तुत गरिएको थियो। सुनीलकै उत्कृष्ट फिल्ममध्ये एक ‘चिनो’ को ‘मोहनी लाग्ला है...’ देखि ‘जहाँ छन् बुद्धका आँखा...’, ‘रेशम फिरिरी...’ लगायतको धुन फ्युजन गरिएको प्रस्तुतिमा अभिनेत्री नन्दिता केसी, केकी अधिकारी, नृत्य निर्देशक शंकर बीसी लगायतले दौरा सुरुवाल र गुन्यूचोलीमा नृत्य प्रस्तुत गरेका थिए। ‘संसारका चर्चित कलाकारसँगै अन्तर्राष्ट्रिय अवार्ड थाप्न पाउँदा खुसी छु,’ सुनीलले फेसबुक च्याटमा भने, ‘मुलुककै लागि पनि यो गर्वको विषय हो।’ यस वर्षदेखि फेस्टिभलको ग्लोबल डाइरेक्टरमा नेपाली मूलका प्रकाश थापा चुनिएका थिए। फेस्टिभलको सहभागिता नेपाली फिल्म उद्योगकै लागि लोभलाग्दो रहेको उनले बताए।

0 comments:

Post a Comment