Friday, July 24, 2015

नयाँ संविधान '२२ दिनभित्रै'


काठमाडौं- सोह्रबुँदे सहमतिकर्ता संविधानसभाका प्रमुख राजनीतिक दलबीच २२ दिनभित्रै नयाँ संविधान जारी गर्ने सैद्धान्तिक सहमति जुटेको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शुक्रबार बसेको अनौपचारिक बैठकले साउनभित्रै नयाँ लोकतान्त्रिक संविधान जारी गर्ने सैद्धान्तिक सहमति जुटाएको हो। सोही मितिलाई केन्द्रबिन्दुमा राखेर संविधान लेखनका बाँकी कामलाई पूर्णता दिन संविधानसभाले नयाँ कार्यतालिका बनाउनेछ। एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले साउन २५ भित्रै नयाँ संविधान जारी गर्ने प्र्रमुख दलबीच सैद्धान्तिक सहमति जुटेको जानकारी दिए। 'साउन १५ मै नयाँ संविधान दिनुपर्छ भन्ने थियो तर त्यो सम्भव हुन सकेन, अव त्यसमा केही दिन थपिने देखिएको छ,' श्रेष्ठले भने, 'चाँडोभन्दा चाँडो अर्थात् साउन २५ भित्रै संविधान ल्याउने तयारीमा छौं।' मुस्लिम समुदायको इद पर्व र सुझाव संकलनका लागि छुट्ट्याइएका थप दुई दिनलगायत कारण साउन १५ मा संविधान घोषणा गर्ने १६ बुँदे सहमतिका हस्ताक्षरकर्ता दलको लक्ष्य पूरा हुन नसकेको उनले जानकारी दिए। प्रमुख चार दलले कुनै पनि बहानामा संविधान जारी गर्न ढिलाइ नगर्नेमा पनि पुनः प्रतिबद्धता जनाएका छन्। बैठकले नयाँ संविधानको प्रारम्भिक मस्यौदामा सुझाव दिने र आफ्नो राय व्यक्त गर्ने सबैलाई धन्यवाद ज्ञापन पनि गरेको छ। 'जनताबाट आएका सुझावलाई पनि मध्यनजर गर्दै दलहरुबीच सहमति पनि खोज्दै जाने र संविधान लेखनका प्रक्रियाका काम पनि अघि बढाउँदै लैजानेमा सहमत छौं,' फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देवले नागरिकसँग भने, 'भोलि (शनिबार) सभाध्यक्षसँग छलफल गरेर साउन मसान्तभित्रै संविधान जारी गर्ने गरी संविधान लेखनको कार्यतालिका बनाउनेछौं।' उनका अनुसार प्रमुख दलका शीर्ष नेता र सचेतकले सभाध्यक्ष सुवासचन्द्र नेम्वाङसँग भेटेर नयाँ कार्यतालिका बनाउनेछन्। कांग्रेस सचेतक चिनकाजी श्रेष्ठका अनुसार साउन ११ देखि जनताबाट आएका सुझावमा संविधानसभाको पूर्ण बैठकमा छलफल चलाउने लक्ष्यसमेत राखिएको छ। 'जनताबाट आएका सुझावलाई १० गतेभित्र निर्क्याेल गरिसक्ने र त्यसलाई संविधानसभाको ११–१२ गतेका पूर्ण बैठकमा छलफल गर्ने तयारीमा लाग्नुपर्छ,' श्रेष्ठले नागरिकसँग भने, 'त्यहाँ छलफल भएका उचित सुझाव र सभासदको सुझावसमेत संवैधानिक–राजनीतिक संवाद समितिमा पठाउने, त्यहाँ छलफल गरेर टुंगाएपछि उक्त प्रतिवेदन मस्यौदा समितिमा जाने प्रक्रिया छ।' उनका अनुसार मस्यौदा समितिले संविधानको परिमार्जित मस्यौदा तयार पारेर संविधानसभाको पूर्ण बैठकमा लैजानेछ। 'त्यहाँ पनि संशोधनका प्रस्ताव आउन सक्छन्, फरक मत पनि दर्ज हुन सक्छन् तर संविधान पारित गर्दा नियमावलीअनुसार दुई तिहाइ बहुमतका आधारमा गरिनेछ,' श्रेष्ठले भने। बैठकले धर्मनिरपेक्षता, प्रत्यक्ष निर्वाचित कार्यकारीलगायत विषयमा पुनर्विचार गर्ने संकेत पनि गरेको छ। एमालेले भने चाँडोभन्दा चाँडो संविधान जारी गर्न जोड गरेको बैठकमा उपस्थित नेताहरुले जनाएका छन्। जनमत संकलन सम्पन्न भएपछि प्रमुख दलबीचको पहिलो बैठक यही हो। सभाध्यक्ष नेम्वाङसँग कार्यतालिकाबारे छलफल सम्पन्न गरिसकेपछि प्रमुख दलबीच जनमतले सबैभन्दा बढी चाहेको मुद्दा र विषयमा प्रमुख दलबीच छलफल हुने देवले जानकारी दिए। बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकका शीर्ष नेतृत्वको उपस्थिति थियो।

0 comments:

Post a Comment