काठमाडौं, ९ साउन – काठमाडौस्थित अमेरिकी राजदुताबासले नेपालीहरुलाई सावधान हुन भन्दै एक सूचना जारी गरेको छ । अमेरिकामा बस्नेगरी भिसा मिलाइदिने भन्दै कतिपय ब्यक्तिहरुले ठगी गरिरहेको खुलासा भएपछि दुताबासले यस्तो सूचना निकालेको हो । अमेरिका जानका लागि रहेका प्रावधानबारे जानकारी दिइएको यो सूचनामा ठग्नेहरुले दिएका आश्वासनबाट सचेत रहन भनिएको छ । झुट्टा आश्वासन विरुद्ध अमेरिकी दूतावासको नेपालीहरूलाई सावधानी नेपालीहरूलाई आफूले संयुक्त राज्य अमेरिका प्रवेश गर्न तथा टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टिपिएस) हासिल गर्न सघाउन सक्ने भनी केही व्यक्तिहरूले दाबी गरेका भनी हालै आमसञ्चारमाध्यममा आएका खबरहरूप्रति अमेरिकी दूतावास चिन्तित छ । यस्ता दाबीहरू झुट्टा हुन् र तिनलाई बेवास्ता गर्नु पर्दछ । २०७२ असार ९ गते वा सोअघि निरन्तर तथा शारीरिक रूपमा संयुक्त राज्य अमेरिकामा उपस्थित रहँदै आएका तथा त्यसपछि पनि संयुक्त राज्य अमेरिकामा नै निरन्तर रूपमा शारीरिक रूपमा उपस्थित रहेका व्यक्तिहरू मात्रै टिपिएसका निम्ति योग्य हुन्छन् । २०७२ वैशाख १२ गतेको भूकम्पपछि असार ९ गते संयुक्त राज्य अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपाललाई टिपिएसको सूचीमा राखिएको घोषणा गर्यो । संयुक्त राज्य अमेरिकामा पुगी बसोबास गरिसकेका योग्य नेपाली नागरिक (र यसअघि नेपालमा बसोबास गर्दै आएका नागरिकताविहीन व्यक्ति) हरूले टिपिएसका लागि आवेदन दिन सक्नेछन् । यस्तो योग्यता पुग्ने नेपालीहरूका लागि दर्ता अवधि २०७२ असार ९ देखि पुस ६ गतेसम्म रहेको छ । टिपिएस एक अस्थायी सुविधा हो र यसले वैध स्थायी बासिन्दासम्बन्धी सुविधा वा अन्य कुनै अध्यागमन सुविधा प्रदान गर्दैन । उल्लेख्य रूपमा झुट्टा आश्वासनहरू बढ्दै गएको सम्बन्धमा अमेरिकी दूतावास सर्वसाधारणलाई सचेत रहन सल्लाह दिन चाहन्छ । वास्तवमा टिपिएस के हो र यस प्रक्रियाले कसरी काम गर्दछ भन्ने कुरा बुझ्नु महत्त्वपूर्ण छ । टिपिएससम्बन्धी विस्तृत जानकारी http://www.uscis.gov/humanitarian/temporary-protected-status-deferred-enforced-departure/temporary-protected-status-designated-country-nepal मा प्रदान गरिएको छ । यो वेबसाइट मात्र नेपालीहरूका लागि टिपिएससम्बन्धी आधिकारिक सूचनाको स्रोत हो ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment