बर्दिया, साउन ९ – भारततर्फको सीमावर्ती क्षेत्र बहराइच जिल्लामा एक नेपालीको मृत्यु भएको घटनाको सत्यतथ्य अझै बाहिर आउन सकेको छैन । गत साउन ६ गते चारजना नेपाली दुईवटा ढुङ्गाका मूर्तिसहित पक्राउ परेका थिए भने अर्का एकजनाको रहस्यमय मृत्यु भएको थियो ।
बर्दियासँग सीमा जोडिएको भारतको बहराइच जिल्ला अन्गर्तत फुटाह पोष्ट नजिकै एक युवकको शव फेला परेको भारतीय सिमा सुरक्षावलले जानकारी गराएपछि घटना बाहिर आएको थियो ।
मुत्यु हुनेमा कालीकोट जिल्ला चिलखाय गाविसका २७ वर्षीय खड्कबहादुर शाही रहेका छन् । सोही स्थानका लोकबहादुर शाही, टेकबहादुर शाही, तीर्थबहादुर शाही र अनिल शाहीलाई भारतीय सीमा सशस्त्र प्रहरी बल (एसएसबी) ले पक्राउ गरेको थियो । उनीहरुसँग अर्का एक व्यक्ति पनि रहेको तर उनी फरार भएको र हाल बेपत्ता रहेका छन् । पक्राउ परेका चार जनालाई हाल कारागार चलान गरिएको छ ।
घटनाको जानकारी पाएपछि बर्दियाका प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले प्रहरी उपरीक्षक गोविन्दराम परियारको नेतृत्वमा एक टोलीलाई भारत पठाएका थिए । भारत पुगेर उक्त टोलीले त्यहाँको सुरक्षा निकाय र कारागरमा रहेका नेपालीहरुसँग कुराकानी गरेका थिए । कुराकानीका क्रममा भारतीय सुरक्षा निकाय र कारागारमा रहेका नेपालीहरुको बयान फरक–फरक आएको छ ।
नेपालीहरुका अनुसार कालिकोटवाट बर्दियाको जमुनी फुटाह नाका हुदै भारत तर्फ जाँदै गरेका ६ जनाको समुहलाई भारतीय सीमा सुरक्षा बल फुटाह पोष्टका प्रहरीले नियन्त्रणमा लिन खोजेका थिए । त्यहाँबाट भाग्न खोजेपछि उनीहरुलाई पक्राउ गरी कुटपिट गरी शाहीको हत्या गरेको बयान दिएको प्रजिअ कुँवरले जानकारी दिए । गत असार २७ गते कालीकोट जिल्लाको पाखा गाविस वडा नं ८ र ९ को सिमानामा पर्ने कालिकादेवी मन्दिरबाट तीनवटा ढुङ्गाका मूर्ति चोरेर आफूहरू भागेको बयान समेत उनीहरूले दिएका थिए । ‘पैसा पाउने लोभमा हामीले मुर्ति ल्याएका थियौं । लोभ गर्दा फँस्यौं,’ कारागारमा रहेका नेपालीको बयान उद्धृत गर्दै कुँवरले बताए ।
उता, भारतीय सुरक्षाबलले भने उनी भाग्न खोज्दा नालीमा खसेर मृत्यु भएको बताएको छ । ‘भारतीय सुरक्षाकर्मीका अनुसार मृत्यु भएका शाहीको शव डुबिरहेको अवस्थामा फेला परेको थियो,’ कुँवर भन्छन्, ‘यहाँ दुवै पक्षको बयान बाझिएकोले हामीले पोस्टमार्टम रिर्पोट तत्काल माग गरेका छौं । पोस्टमार्टम रिर्पोट आउन अझ केही समय लाग्ने भएकाले केही दिन पर्खन भारतीय पक्षले आग्रह गरेको उनले बताए । त्यसअघि आधिकारिक रुपमा केही बोल्न नमिल्ने समेत उनले बताए ।
चार जना पक्राउ पर्नु र एक जनाको भने डुबेर मृत्यु हुने कुरा शंकास्पद रहेको स्वयं त्यहाँका एक प्रहरी अधिकृत बताउँछन् । यद्यपि पोस्टमार्टमको रिपोर्ट नआएसम्म कुनै टिप्पणी गरिहाल्ने अवस्था नरहेकोले केही दिन पर्खन उनले आग्रह गरे । ‘घटना शंकास्पद त छ तर आधिकारिक रिपोर्ट बिना केही बोल्न सक्दैनौं,’ ती अधिकृतले भने ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment