Friday, July 24, 2015

बाँकेमा ४ वटा गाडीमा आगजनी, नेपाल–भारत सीमा ठप्प !!


नेपाल बन्द आव्हान गरेका नेकपा माओवादीका कार्यकर्ताले बाँकेमा ४ वटा गाडीमा आगजनी गरेका छन् । बन्द आव्हन गरेका कारण बसपार्कमा राखिएको भे १ ख ८५८ र भे १ ख ८०९ नम्बरको बसमा आगजनी गरेका हुन् । आगजनीबाट बस पूर्णत क्षतिग्रस्त भएको छ । त्यसअघि एकाविहानै कुसुममा ट्रक जलाएका नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले ८ साउन बिहानै बाँकेमा २ वटा गाडीमा आगजनी गरे । बन्दको अवज्ञा गरेको भन्दै नेपालगञ्जमा भारतीय नम्बर प्लेटको युपी ४० टियु ७६३ नम्बरको भारतीय स्कुल भ्यानमा आगो लगाएको छ । भारतको रुपैडिहाबाट विद्यार्थी लिन नेपालगञ्ज आउँदै गरेको भ्यान माओवादीले जलाएको हो । नेपालगञ्जबाट भारतीय सीमा क्षेत्र रुपैडिहाका स्कुल–कलेजमा प्रशस्तै नेपाली विद्यार्थीहरु पढ्छन् । त्यसैगरी बाँकेकै खासकुस्मा– ४ सौरीखोलाको जंगलमा एक ट्रकमा माओवादी कार्यकर्ताले आगो लगाएका छन् । नारायणगढबाट सामान बोकेर दार्चुला जाँदै गरेको ना ५ ख ५०१४ नम्बरको ट्रकमा माओवादी कार्यकर्ताले आगजानी गरेको बाँके प्रहरीले जनाएको छ । माओवादीको बन्दका कारण बाँकेको जनजीवन प्रभावित भएको छ । यहाँबाट छुट्ने साना तथा ठूला सवारीसाधनहरु सञ्चालनमा आउन सकेका छैनन् । माओवादीले भारत र चिनबीच भएको लिपुलेक सम्झौताको खारेजी गर्नुपर्ने माग गर्दै बन्दको आह्वान गरेको हो । यसैबीच, भारतीय विद्यार्थी जीपमा आगो लगाएको विरोधमा आक्रोशित स्थानीयले नेपाल भारत रुपैडिया नाका घटना लगत्तेदेखि ठप्प पारेका छन् । नेपालगन्ज न्युज डट कम बाट साभार

0 comments:

Post a Comment