Thursday, July 23, 2015

बर्दियाको सीमा नजिक भारतीय प्रहरीद्वारा एक नेपालीको कुटीकुटी हत्या


नेपाल र भारतको सीमामा भारतीय प्रहरीले एक नेपालीलाई कुटीकुटी हत्या गरेको छ । कालिकोटको चिल्खाया घर भएका खडकबहादुर शाहीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बर्दियाको जमुनी नाका नजिकैको सीमा क्षेत्रमा हत्या गरेको हो । भारतीय एसएसबीले एक जनाको हत्या गर्नुका साथै उनका अन्य ४ जना साथीहरुलाई पनि नियन्त्रणमा लिएर राखेको छ । भारतीय प्रहरीले पक्राउ गरेर नियन्त्रणमा राखेकाहरुमा कालिकोटको चिलखायका लोकबहादुर शाही, टेकबहादुर शाही, तीर्थबहादुर शाही र अनिल शाही रहेका छन् । उनीहरुलाई भारतीय प्रहरीले भारतको मोतीपुर थानामा राखेको बताइएको छ । उनीहरुसँगै रहेका एक जना युवा भने भागेर बच्न सफल भएका छन् । एसएसबीले खड्कबहादुरलाई बिभत्स रुपमा कुट्न लाग्दा सर्खुेतका राजेश शाही भाग्न सफल भएका हुन् । एसएसबीले ती सबै युवालाई भारत बहराइचको मृगिया मजगाउँबाट पक्राउ गरेको थियो । ती युवाहरुले भारतीय प्रहरीसँग आफूहरुले नेपालबाट मुर्ती लिएर भारतमा बेच्न जान लागेको बताएको बर्दियाका प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले जानकारी दिएका छन् । प्रजिअ कुँवरलाई भारतीय एसएसबीले उनीहरु पक्राउ परेको बारेमा जानकारी गराएका थिए । एसएसबीले मजगाउँबाट उनीहरुलाई पक्राउ गरेको र पक्राउ गरिएका मध्ये एक जना भाग्ने क्रममा नालीमा परेर मरेको जानकारी गराएको थियो ।एसएबीले बर्दियाका प्रजिअलाई त्यस्तो जानकारी दिए पनि प्रत्यक्षदर्शी नेपालीहरुले भने एसएसबीले ती युवालाई नियन्त्रणमा लिएपछि नराम्ररी कुटपिट गरेको र एक जना कुट्दा कुट्दै मरेको बताएका छन् । सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले ती युवालाई कुटीकुटी मारेको देखेको जनाएका छन् । यसैबीच बर्दियाबाट प्रहरीको एक टोली ती युवाहरुको अवस्थाबारे बुझ्न भारत गएको छ । प्रहरी उपरीक्षक गोविन्दराम परियारको नेतृत्वमा एक एक टोली भारतको बहराइच गएको प्रजिअ कुँवरले जानकारी दिएका छन् ।

0 comments:

Post a Comment