Saturday, July 25, 2015

धर्म निरपेक्षताको प्रष्ट व्याख्या गर्न एमालेमा दबाव पोलिटव्यूरो बैठकमा के-के कुरा उठाए सदस्यले ?


९ साउन,काठमाडौं । नेकपा एमालेभित्र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा दहि्रलो अडान राख्न नेतृत्वमाथि दबाव परेको छ । शनिबार बसेको पोलिटव्यूरो बैठकमा अधिकांश सदस्यहरुले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा बलियो ढंगले उभिन नेतृत्वलाई आग्रह गरेका हुन् ।

जनताले संविधानको प्रारम्भीक मस्यौदामाथि राय दिने क्रममा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा ठूलो जनमत देखिएकाले नेतृत्वले जनमतको बलमा एकपटक पुनः प्रयास गर्नुपर्ने सुझाव आएको पोलिटव्यूरो सदस्य प्रकाश ज्वालाले अनलाइनखबरलाई बताए ।

बैठकमा अध्यक्ष केपी ओलीले एमालेकै पहलमा संविधानको प्रारम्भीक मस्यौदा आएको र साउन मसान्तभित्र संविधान जारी हुने वातावरण बनेको प्रतिवेदन प्रस्तुत गरेका छन् ।

सचिव योगेश भट्टराईका अनुसार सदस्यहरुले धर्म निरपेक्षताको सही ब्याख्या नहुँदा अन्यौलता सिर्जना भएको भन्दै यसमा प्रष्ट हुनुपर्ने सुझाव दिएका छन् ।

त्यस्तै निर्वाचन प्रणालीमा थ्रेसहोल्ड नराख्ने हो भने समानुपातिकका कारण ठूलो विकृति हुने भन्दै सदस्यहरुले कम्तिमा ३ देखि ५ प्रतिशत थ्रेस होल्ड संविधानमै राख्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

बैठकले आइतबारदेखि शुरु हुने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्नेछ । बैठकमा ओलीले ६ पेज लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

0 comments:

Post a Comment