Thursday, July 9, 2015

म्यानपावर व्यवसायी भन्छन्- पासपोर्ट नबुझाउनोस्, अन्तरवार्ता नदिनोस् भारत हुँदै विदेश लैजाने आश्वासनमा नपर्न अपील


.२४ असार, काठमाडौ । वैदेशिक रोजगार ब्यवसायीहरुले विदेश जान अनिश्चित कालका लागि रोक लगाइएको हुनाले कुनै पनि दलाललाई पासपोर्ट नबुझाउन र अन्तरवार्ता नदिन नागरिक समक्ष अपील गरेका छन् ।

वैदेशिक रोजगार ब्यवसायीहरुले सरकारी निर्णयको विरोधमा म्यानपावर नै बन्द गरेका बेला युवाहरु ठगिन सक्ने भन्दै चासो ब्यक्त गरेका हुन् ।

शून्य लागतका वैदेशिक रोजगारमा पठाउने सरकारी निर्णयको विरोधमा म्यानपावर कार्यालयहरु नै बन्द गरी आन्दोलनमा उत्रिएका ब्यवसायीले विभिन्न माध्यमबाट विदेश जान प्रलोभनमा नपर्न विहीबार सार्वजनिक अपील गरेका छन् ।

ब्यवसायीहरुको तर्फबाट नेपाल वैदेशिक रोजगार ब्यवसायी संघले सूचना जारी गर्दै भनेको छ- ‘वैदेशिक रोजगारीमा जान चाहने युवाहरुलाई अर्को सूचना नभएसम्म वैदेशिक रोजगारीको निम्ति विभिन्न क्षेत्रमा रहेका शाखा/सम्पर्क कार्यालय र गलत ब्यक्तिको भरोसामा राहदानी दिने, अन्तरवार्ता दिने, मित्रराष्ट्र हुँदै विदेश जाने/पठाउने प्रलोभनमा नपर्न अनुरोध गरिन्छ ।’

सरकारले मलेसिया, कतार, बहराइन, साउदी अरब, यूएई, ओमन र कुबेतमा असार २१ गतेदेखि फ्री भिसा र फ्री टिकटमा मात्रै कामदार लैजाने निर्णय गरेपछि ब्यवसायीहरु काम ठप्प पारी आन्दोलनमा उत्रिएका छन् ।

संघको अगुवाइमा ब्यवसायीहरुले विहीबार पनि ताहाचलस्थित श्रम कार्यालय घेराउको कार्यक्रम तय गरेको संघका महासचिव रोहन गुरुङले बताए । सरकारको गरेको फ्री भिसा र टिकटको निर्णय फिर्ता गर्न माग गर्दै म्यानपावर व्यवसायीले बुधबार पनि श्रम कार्यालय घेेराउ गरेका थिए ।

सरकारले रोजगारदाता मुलुक तथा कम्पनीसँग श्रम सम्झौता नै नगराई राज्यमन्त्री स्तरीय बैठकबाट फ्री भिसा र फ्री टिकटबाट मात्रै कामदार पठाउन भनी गरेको निर्णयले रोजगारदाता मुलुकले नेपाललाई स्रोत मुलुकबाटै हटाउने निर्णय गर्न लागेको संघको दाबी छ ।

0 comments:

Post a Comment